काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

‘टेलिफोन सुविधाको पहुँचबाट वञ्चित हुने अवस्था अन्त्य हुन्छ’ : मन्त्री डा. तिमिल्सिना

ENN Earth News Nepal बुधबार,०२ मंसिर २०८३
‘टेलिफोन सुविधाको पहुँचबाट वञ्चित हुने अवस्था अन्त्य हुन्छ’ : मन्त्री डा. तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले देशका कुनै पनि नागरिकलाई टेलिफोन तथा इन्टरनेट सेवाको पहुँचबाट वञ्चित हुन नदिने सरकारको प्रतिबद्धता रहेको बताएका छन् । 

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका बस्ती तथा जुगल हिमाल र आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको माग गर्दै मन्त्रालयमा पुगेका जनप्रतिनिधि तथा स्थानीयसँगको छलफलमा उनले मानव बस्ती भएका सबै स्थानमा दूरसञ्चार सेवा पुर्‍याउन सरकारले काम गरिरहेको बताएका हुन्।

छलफलमा काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधि सभा सदस्य प्रदीप विष्ट, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा जुगलका स्थानीय युवाको सहभागिता थियो । 

सोक्रममा सांसद विष्टले काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर प्रभावकारी नभएको गुनासो आइरहेको उल्लेख गर्दै दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न आग्रह गरे ।

जवाफमा सञ्चार मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको बताउँदै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोगसँगै नयाँ पूर्वाधार निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनले ग्रामीण दूरसञ्चार विकास कोषको रकमसमेत परिचालन गरी देशभर सञ्चार सेवा विस्तारको काम भइरहेको बताए ।

उनका अनुसार आगामी डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप एक हजार ६०० टेलिफोन टावर निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ । करिब रु. १२ अर्ब बराबरको ठेक्का प्रक्रिया अघि बढिसकेको र निर्धारित समयभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

सञ्चार मन्त्री डा. तिमिल्सिनाले टावर निर्माणमा बजेट अभावभन्दा पनि प्रक्रियागत जटिलता र निर्धारित समयमा काम सम्पन्न गर्न नसक्ने समस्या चुनौतीका रूपमा रहेको उल्लेख गरे । साथै, नागरिकका गुनासो सम्बोधनलाई प्राथमिकतामा राख्न पनि मन्त्रालय र मातहतका निकायलाई उनले निर्देशन दिए। 

विषय: News

सम्बन्धित समाचार

News सबै

ताजा समाचार

गृहपृष्ठ