भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकामा १४८ जनालाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । गाउँपालिका र नापी कार्यालय, रुपन्देहीको आयोजनामा वडा नम्बर ७ का विभिन्न गाउँब्लकका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो ।
गाउँपालिकाका अमिन हृदयदेश कुमार बनियाका अनुसार गाउँब्लकका कित्ताहरूको लालपुर्जा वितरण गरिएको हो ।
लालपुर्जा वितरण कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले वितरण कार्यमा केही महिना ढिलाइ भए पनि विभिन्न वडामा लालपुर्जा वितरण भइसकेको बताए । गाउँपालिकाका अन्य वडामा पनि प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिए । वर्षौँदेखि जग्गा जोत भोग गर्दै आए पनि लालपुर्जा नहुँदा नागरिकले विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्दै उनले अब त्यस्ता समस्या समाधान हुँदै गएको बताए ।
गाउँपालिकाको उपाध्यक्ष नर्वदा देवी उपाध्यायले लालपुर्जा प्राप्त गर्ने सबैलाई बधाई दिँदै सामूहिक प्रयास र सहकार्यबाट यो काम सम्भव भएको बताए ।
नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत मणि प्रसाद रेग्मीले मायादेवी गाउँपालिकाअन्तर्गतका सम्पूर्ण गाउँब्लकको काम सम्पन्न गर्ने लक्ष्यसहित गाउँपालिकासँग समन्वय र सहकार्य भइरहेको बताए ।
२०२७ सालमा गाउँब्लकका रूपमा छाडिएका जग्गामा नागरिकले लामो समयदेखि भोगचलन गर्दै आए पनि कानुनी स्वामीत्व नहुँदा विभिन्न अधिकारबाट वञ्चित हुनुपरेको उनले बताए । बाँकी गाउँब्लकको काम सम्पन्न गर्न गाउँपालिकाबाट समन्वय र सहयोग आवश्यक रहेको उनले बताए ।
अहिले १४८ जनालाई लालपुर्जा वितरण गरिएको उल्लेख गर्दै उनले संख्या थोरै देखिए पनि प्राप्त गर्ने नागरिकका लागि यो ठूलो उपलब्धि भएको बताए । साथै लालपुर्जा वितरण कार्यलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।