काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

यसै वर्ष रुपाताल संरक्षण परियोजना सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

ENN Earth News Nepal शनिबार,१२ मंसिर २०८३
यसै वर्ष रुपाताल संरक्षण परियोजना सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् । परियोजनाको समग्र भौतिक तथा वित्तीय प्रगति ६५ प्रतिशतभन्दा बढी पुगेपछि मन्त्री श्रेष्ठले बाँकी कामलाई तीव्रता दिन कर्मचारी र निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् ।

परियोजनाको अनुगमनका क्रममा आयोजना पक्षले चालू आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण अघि बढिरहेको जानकारी गराएको थियो । त्यस क्रममा मन्त्री श्रेष्ठले रुपाताल संरक्षण तथा पर्यापर्यटनका दृष्टिले महत्वपूर्ण परियोजना भएकाले निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताए ।

उनले रुपातालमा अपनाइएको विकासको मोडल सफल भए अन्य तालमा पनि यस्तै प्रकृतिका परियोजना सञ्चालन गर्न सकिने बताए । निर्माणमा देखिएका समस्या समाधान गर्दै कामलाई तीव्रता दिन सम्बन्धित कर्मचारी तथा निर्माण व्यवसायीलाई उनले निर्देशन दिएका छन् ।

कुल ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा हालसम्म २ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ । यो कुल अनुमानित लागतको ६५.४८ प्रतिशत हो ।

आर्थिक वर्ष २०७३÷७४ मा स्थापना भएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०७४ साउनमा स्वीकृत भएको थियो । पोखरा महानगरपालिकाका वडा नम्बर ३१ र ३२ तथा रुपा गाउँपालिकालाई समेटेर सञ्चालन गरिएको परियोजनाको मुख्य उद्देश्य रुपाताल संरक्षण, जलाधार व्यवस्थापन, बाढी तथा भूक्षय नियन्त्रण र पर्यापर्यटन प्रवद्र्धन गर्नु हो ।

परियोजनाअन्तर्गत ६३५ मिटर लामो बाँध, स्पिलवे तथा पुल, तालमा थुप्रिएको माटो व्यवस्थापन, सडक, पदमार्ग, पर्यापर्यटन बगैँचा, कृत्रिम टापु र मन्दिरलगायत संरचना निर्माण गर्ने योजना छ ।

हाल बाँध तथा स्पिलवेको निर्माण अघि बढिरहेको छ । २८ करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त काममा हालसम्म १६ करोड ४७ लाख रुपैयाँ खर्च भएको छ । स्पिलवे कम ब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ भने मुख्य बाँध र कार्यालय भवन निर्माण पनि जारी रहेको आयोजनाले जनाएको छ ।

तालको बायाँ किनारमा ७.९ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ । त्यस्तै, तालमा थुप्रिएको माटो व्यवस्थापन तथा ड्रेजिङको काम ७५ प्रतिशत सम्पन्न भएको छ । ३९ करोड ६७ लाख रुपैयाँ लागतको उक्त कामअन्तर्गत हालसम्म ५ लाख २ हजार ४४० घनमिटरभन्दा बढी माटो व्यवस्थापन गरिएको छ ।

विषय: News

सम्बन्धित समाचार

News सबै

ताजा समाचार

गृहपृष्ठ