काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का लस एन्जलससहित आसपासका विभिन्न क्षेत्रमा महसुस गरिएको थियो।
भूकम्पका कारण लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल (एलएएक्स) मा अवतरण हुन लागेका केही विमानलाई बीचबाटै फर्काइएको थियो। विमानस्थलको एउटा टर्मिनलको छतबाट टायल खसेका थिए भने विभिन्न पसलमा सामानहरू झरेका थिए।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प स्थानीय समयअनुसार बिहान करिब ९ः३० बजे म्यानहटन बिचबाट ६ किलोमिटर टाढा समुद्रमा गएको थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १२ किलोमिटर गहिराइमा रहेको थियो।
४५ मिनेटभित्रै पटक–पटक परकम्प
मुख्य भूकम्प गएको ४५ मिनेटभित्रै पटक–पटक परकम्प महसुस गरिएको थियो। तीमध्ये सबैभन्दा शक्तिशाली परकम्प ३.७ म्याग्निच्युडको थियो। भूकम्पको धक्का केन्द्रबाट करिब ४३ किलोमिटर टाढा रहेको पासाडेनासम्म महसुस गरिएको थियो।
लस एन्जलस अग्नि नियन्त्रण विभागले आपत्कालीन प्रतिकार्य प्रणाली सक्रिय पारेको थियो। क्षतिको अवस्था जाँच गर्न सहरका सबै १०६ वटा अग्नि नियन्त्रण केन्द्रका कर्मचारी परिचालन गरिएको थियो।
प्रारम्भिक जाँचमा कोही घाइते भएको वा भवनहरूमा ठूलो क्षति पुगेको खबर प्राप्त नभएको अधिकारीहरूले बताएका छन्।
भूकम्प गएको केही समयपछि लस एन्जलस विमानस्थलनजिकै रहेको शेभ्रोनको एल सेगुन्डो तेल प्रशोधन केन्द्रबाट आगोको लप्का र धुवाँ निस्किएको देखिएको थियो। तर अधिकारीहरूले उक्त आगलागी भूकम्पका कारण नभएको स्पष्ट पारेका छन्।
प्रशोधन केन्द्रमा सुरक्षासम्बन्धी प्रक्रियाअन्तर्गत अतिरिक्त ग्यास जलाइएको थियो। कम्पनीका अनुसार भूकम्पजस्तो अवस्था उत्पन्न हुँदा प्लान्टका उपकरणहरू स्वतः बन्द हुन्छन् र अतिरिक्त ग्यासलाई नियन्त्रित रूपमा जलाइन्छ।
उक्त प्रशोधन केन्द्रबाट दक्षिणी क्यालिफोर्नियाका करिब २० प्रतिशत सवारीसाधनका लागि आवश्यक इन्धन र ४० प्रतिशत हवाई इन्धन आपूर्ति हुने गरेको छ। सन् २०२५ को अक्टोबरमा पनि यहाँ आगलागी भएको थियो।
सुनामीको जोखिम छैन
लस एन्जलसकी मेयर करेन बासले प्रारम्भिक जाँचमा ठूलो क्षति भएको जानकारी नआएको बताएकी छन्। उनले स्थानीय बासिन्दालाई परकम्पप्रति सचेत रहन र भूकम्पका बेला सुरक्षित स्थानमा बस्न आग्रह गरेकी छन्।
अमेरिकी सुनामी चेतावनी केन्द्रले पनि भूकम्पका कारण सुनामीको कुनै जोखिम नरहेको स्पष्ट पारेको छ।
स्थानीय प्रशासनले भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्यांकन सुरु गरेको छ।