काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

सोलुखुम्बुको गुडलक होटलमा आगलागी, दुई भवन पूर्णरूपमा जले

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको गुडलक होटलमा आगलागी हुँदा होटलका दुईवटा भवन पूर्णरूपमा जलेका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मैसम तामाङका अनुसार होटलमा आगलागी भएको सूचना बिहान करिब ११ः५० बजे प्राप्त भएको थियो । सूचना प्राप्त भएपछि अस्थायी प्रहरी चौकी दिङबुतेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

उनका अनुसार होटल सञ्चालक कुलबहादुर तामाङ रहेका छन् । आगलागीबाट होटलका दुईवटा भवन पूर्णरूपमा जलेको छ ।

प्रहरी निरीक्षक तामाङका अनुसार अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

आगलागीबाट भएको भौतिक तथा आर्थिक क्षतिको विवरण आउन बाकी रहेको उनले जानकारी दिए । क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको उनले बताए । 

एनपीएलमा आज ब्रेक

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शुक्रबार कुनै पनि खेल राखिएको छैन।

भोलि शनिबार भने दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ।

दोस्रो खेलमा साँझ ५ बजेसुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्स भिड्दैछन्।

एकमा हार र एकमा जित निकाले सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुबै खेलमा पराजित भएको थियो । 

हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शिर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ ।

चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालका विभिन्न भागमा देखिन थालेको छ। हिजोदेखि नै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो देशका अधिकांश स्थानमा बादल लाग्ने पूर्वानुमान गरेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।

त्यस्तै, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्न सक्ने महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्ने तथा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुने अनुमान गरिएको छ। केही स्थानमा भारी वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाले सम्भावित वर्षालाई मध्यनजर गर्दै आज र भोलि धानबाली भित्र्याउनेलगायत कृषि कार्य नगर्न अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ। त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरिएको छ।

मेरो नाम जोडेर प्रकाशित समाचार आधारहीन कपोलकल्पित छ ः प्रधानन्यायाधीश शर्मा

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुससम्बन्धी विषयमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै उनले ‘दियो पोस्ट’ लगायतका सञ्चारमाध्यममा आफ्नो नामसमेत जोडेर प्रकाशित समाचारप्रति आश्चर्यचकित र स्तब्ध भएको बताएका हुन्।

प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा ‘घुस’ फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण लगायतका शीर्षकमा प्रकाशित समाचारमा उल्लेखित व्यक्ति र प्रसङ्गमा आफ्नो कुनै संलग्नता नरहेको उनले स्पष्ट पारेका छन्।

उनले सम्बन्धित व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष रूपमा चिनजान तथा सम्पर्क नरहेको र आफूले कहिल्यै नभेटेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘यसरी आधारहीन, झुठ्ठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दुषित उद्देश्यबाट प्रसारित समाचारको म भत्र्सना गर्दछु।’

प्रधानन्यायाधीश शर्माले समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाका घटनाक्रममा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको अवस्था रहेको बताएका छन्।

उनले आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसलाई अनुरोधसमेत गरेका छन्।

एनपीएलः जनकपुरले काठमाडौंलाई हरायो

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ ।

जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो । जितका लागि पाएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे ।

जसमा मोइन अलीले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनायो । मोइन प्रतियोगितामा अर्धशतक हिर्काउने तेस्रो खेलाडी समेत बने । यस्तै शैफ हसनले नटआउट ४० रनको योगदान गरे। यी दुबै ब्याटरबीच ७९ रनको साझेदारी समेत भयो ।

काठमाडौंका रिपोन मोन्डलले १ विकेट हात पारे । यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमा अलआउट भयो ।

जसमा भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । जनकपुरका राहुल यादबले ४ विकेट झारे ।

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवाती आँधीको प्रभावले नेपालका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा, मेघगर्जनसहित चट्याङ, तीव्र हावाहुरी तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाइएको छ ।

प्राधिकरणका अनुसार आँधीको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हवाई गतिविधि प्रभावित हुन सक्नेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ ।

कात्तिक १२ देखि १४ गतेसम्म मौसमको प्रभाव बढी पर्न सक्ने

प्राधिकरणले २०८३ साल कात्तिक १२ गते बिहीबारदेखि कात्तिक १४ गते शनिबारसम्म मौसमको प्रभाव बढी पर्न सक्ने जनाएको छ । प्रतिकूल मौसमका कारण हवाई उडान तथा विमानस्थल सञ्चालनमा चुनौती उत्पन्न हुन सक्ने भएकाले सम्बन्धित निकायलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्भावित जोखिम न्यूनीकरण गरी हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक तयारी गर्न तथा उडान सुरक्षालाई उच्च प्राथमिकतामा राख्न प्राधिकरणले सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ ।

त्यस्तै, चक्रवाती आँधीका कारण उडान समयतालिकामा परिवर्तन वा ढिलाइ हुन सक्ने भएकाले यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनी तथा विमानस्थलसँग सम्पर्क गरी जानकारी लिन पनि प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले हवाई यातायातलाई सुरक्षित, नियमित, प्रभावकारी र विश्वसनीय बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।

‘आरोपकै आधारमा कसैलाई दोषी करार गर्दैनौँ’ : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अभियोग लागेकै आधारमा कसैलाई पनि दोषी करार गर्न नमिल्ने बताएका छन् ।

सार्वजनिक लेखा समिति अन्तर्गतको निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिका संयोजक समेत रहेका उनले उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।

उनले उपसमितिले पोसाक खरिद प्रक्रियाको गहिरो अध्ययन गरी आवश्यक सुझाव मात्रै दिने बताए ।

उपसमितिले अध्ययनका क्रममा कसैलाई दोषी ठहर गर्ने वा कुनै अधिकारीमाथि कारबाहीको निष्कर्ष निकाल्ने काम तत्काल नगर्ने स्पष्ट पारे ।

अध्ययन र अनुसन्धानअघि नै कुनै व्यक्तिले गल्ती गरेको निष्कर्ष निकाल्नु पूर्वाग्रही सोच हुने उनको भनाई छ ।

उपसमितिको काम अध्ययन गरी निष्कर्ष र सिफारिससहित प्रतिवेदन तयार गर्नु रहेको उल्लेख गर्दै उनले निर्णय गर्ने अधिकार भने पूर्ण समितिमा रहने बताए ।

संसदीय उपसमितिमाथि हस्तक्षेप गरेर सरकारले आईजीपी नहटाउने खुश्बु ओलीको विश्वास

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले तत्काल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट नहटाउने विश्वास व्यक्त गरेकी छन् ।

सार्वजनिक लेखा समिति अन्तर्गतको निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएकी हुन् ।

अध्ययन उपसमितिको प्रतिवेदन आउनु अगाडी नै सरकारले हस्तक्षेप गर्न नमिल्ने र सरकारले नगर्नेमा आफू विश्वस्त रहेको उनले बताइन् ।

उनले सञ्चारमाध्यममा आएका समाचार र उपसमितिको बैठकबीच कुनै सम्बन्ध नरहेको पनि दाबी गरिन्। सरकारले आफैँ गठन गरेको अध्ययन समितिको काममा हस्तक्षेप गरेर निर्णय लिने आफूलाई नलागेको उनको भनाई छ ।

उनले भनिन्, ‘नेपालमा एकदमै धेरै सुरुमै मिडिया ट्रायल गर्ने एउटा प्रवृत्ति नै छ । तर त्यो समाचार र यो हाम्रो बैठकको कुनै सरोकार छैन । यो एउटा पूर्वनिर्धारित बैठक थियो । संयोगले यही समाचारहरू प्रकाशित भइरहेको समयमा पर्‍यो तर यसको र त्यसको केही पनि सरोकार छैन । मलाई जहाँसम्म लाग्छ, सरकारले त्यसरी हस्तक्षेप गर्ने गरी कुनै पनि निर्णय गर्छ जस्तो मलाई लाग्दैन । किनभने सरकारले नै हामीलाई एउटा अध्ययन गर्ने जिम्मेवारी दिएर यता अध्ययन समिति गठन गरेर आफै फेरी हस्तक्षेप गरेर निर्णय गर्छ जस्तो मलाई लाग्दैन । आधिकारिक रूपमा नआएको कारणले गर्दा मैले यसमा विशेष टिप्पणी गर्न चाहिन ।’

उनले अध्ययन अनुसन्धानअघि नै निष्कर्षमा पुग्नु न्यायसंगत नहुने बताइन् । उपसमितिले निर्वाचन पोसाकसम्बन्धी अध्ययनका क्रममा कुनै पनि व्यक्ति वा पक्षलाई दोषी ठहर गर्ने वा उन्मुक्ति दिने पूर्वधारणाबाट मुक्त भएर निष्पक्ष अध्ययन गर्ने पनि बताइन् । अध्ययनबाट प्राप्त तथ्य र प्रमाणका आधारमा प्रतिवेदन तयार गर्ने उनको भनाई छ । अध्ययनको प्रारम्भिक चरणमै रहेकाले दसैँका कारण बीचमा लामो समय बित्दा अपेक्षित प्रगति हुन नसकेको उनले बताइन् । यद्यपि, सदस्यहरूले व्यक्तिगत रूपमा अध्ययन जारी राखेको उनको भनाइ छ ।

आईजीपी कार्कीले बोलाए पीसीसी बैठक, सातै प्रदेशका डीआईजी काठमाडौँमा

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बस्ने बैठकका लागि सातै प्रदेशका प्रहरी प्रमुख काठमाडौँ आइपुगेका छन्।

आईजीपी कार्कीको अध्यक्षतामा बस्ने बैठकमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) र त्यसभन्दा माथिल्लो दर्जाका अधिकारी सहभागी हुनेछन्। प्रहरी संगठनका नीतिगत विषयमा छलफल तथा निर्णय गर्ने समितिको बैठकका औपचारिक एजेन्डा भने सार्वजनिक भएका छैनन्।

यसअघि बुधबार आईजीपी कार्कीले देशभरका प्रहरी कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक गरेका थिए। बैठकमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, सातै प्रदेशका प्रहरी कार्यालय, ७७ वटै जिल्ला प्रहरी कार्यालय, प्रहरी तालिम केन्द्र तथा राजमार्ग र ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयका प्रमुख सहभागी थिए।

उक्त बैठकमा कार्कीले प्रहरी संगठनभित्र बढ्दो अनुशासनहीनताप्रति असन्तुष्टि जनाउँदै केही प्रहरी अधिकारीहरूको नामसमेत उल्लेख गरेका थिए। उनले प्रहरी अधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर हुन निर्देशन दिएका थिए।

यसैबीच, आईजीपी कार्की र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको नाम बिचौलिया भनिएका इनाम सापकोटासँगको कथित सम्पर्कका विषयमा जोडिएको छ। यस विषयलाई प्रधानमन्त्री वालेन्द्र शाहले गम्भीर रूपमा लिएको दाबीसमेत सार्वजनिक भएको छ। यद्यपि, कथित सम्पर्कको प्रकृति र त्यससँग सम्बन्धित आरोपको स्वतन्त्र पुष्टि भएको छैन।

बुधबार प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बुढानीलकण्ठमा भएको भनिएको भेटवार्तामा प्रहरी नेतृत्व र रास्वपा सांसद खगेन्द्र सुनारका विषयमा छलफल भएको दाबी गरिएको छ। उक्त भेटमा आईजीपी कार्कीलाई हटाउने र सांसद सुनारलाई राजीनामा गराउने विषय उठेको भनिए पनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन।

प्रहरी नेतृत्वसँग सम्बन्धित विभिन्न विषय सार्वजनिक चर्चामा रहेका बेला पीसीसी बैठक बोलाइएको हो।

यसैबीच, बिहीबार मन्त्रिपरिषद्को बैठकसमेत बस्ने बताइएको छ। प्रहरी नेतृत्वका विषयमा भइरहेका चर्चाबीच मन्त्रिपरिषद्ले गर्ने निर्णयलाई पनि चासोका साथ हेरिएको छ।

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को सिजन ३ अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्स खेलीरहेका छन्। खेलमा काठमान्डुले टस जितेर ब्याटिङ गरिरहेको छ।

काठमान्डुका कप्तान करण केसीले अहिलेको कन्डिसनमा चेज गर्नभन्दा राम्रो टार्गेट दिन सहज हुने विश्वासमा ब्याटिङ रोजेको बताए। काठमान्डु आज सिजनको पहिलो खेल खेलिरहेको छ भने जनकपुर पहिलो जितको खोजीमा छ। यसअघिको खेलमा जनकपुर पराजित भइसकेको छ।

जनकपुरको कप्तानी हर्मित सिंहले गरेका छन्। आजको खेलमा जनकपुरले जिमी निसमलाई बेन्चमा राखेको छ।