काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

जलजलेको ग्यास तथा पेट्रोलियम उत्खनन सरकारको उच्च प्राथमिकतामा छ : सभापति लामिछाने

दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका-१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् ।

सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुगेका सभापति लामिछानेले खानीको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए । 

अवलोकनका क्रममा उनले दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ पूरा गरिए पनि एक वर्षयता परीक्षणको काम रोकिँदा करोडौँ मूल्य बराबरका संवेदनशील उपकरणमा खिया लाग्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले भने, “पहिलो पटक यहाँ आएर यसको अवस्था हेरेँ । उत्पादनको आवश्यकता छँदैछ, तत्काल महँगा उपकरणको संरक्षणको पनि उत्तिकै खाँचो देखियो । प्राविधिक काम कहाँ र किन अड्किएको हो, त्यसबारे थप बुझ्नुपर्छ ।”

सभापति लामिछानेले लामो समयदेखि अड्किएको ‘वेल टेस्ट’ तथा व्यावसायिक उत्पादनको प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता जनाए । उनले प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घन मिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएकाले देशको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने हुँदा यो कर्णालीको मुहार फेर्ने राष्ट्रिय गौरवको आयोजना रहेको उल्लेख गरे । 

नेपाल र चीनबीचको समझदारीअनुरूप विसं २०७६ फागुनमा विस्तृत अन्वेषण सम्झौतामार्फत ४५ रोपनी जग्गा अधिग्रहण गरी यो परियोजना अघि बढाइएको हो । “हामीले आम नागरिकसँग गरेको बाचा र चाहेको समृद्धिका आधार यिनै गौरवका आयोजना हुन्,” सभापति लामिछानेले भने, “यसको उत्खननलाई पूर्णता दिन निरन्तर पहल रहनेछ । विस्तृत अध्ययन गरी ठोस कदम चालिनेछ, सिङ्गो कर्णालीवासीले छिट्टै सकारात्मक सन्देश पाउनुहुनेछ ।”

यसअघि उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।  

सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल

पाल्पा । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्। उनले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न सरकारले केही कानुन संशोधनको प्रक्रिया अघि बढाएको जानकारी दिए।

पाल्पाको दमकडामा शनिबार आयोजित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले सरकारका कामकारबाहीका विषयमा विभिन्न कोणबाट प्रश्न उठ्नु स्वाभाविक भए पनि निर्णय गर्दा कानुनी प्रक्रिया पालना हुने गरेको बताए।

कानुन निर्माण गर्दा नेपालको भौगोलिक अवस्था, नागरिकको आवश्यकता, चेतनाको स्तर र प्रविधिको विकासलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो। पुराना कानुनलाई समय र आवश्यकताअनुसार संशोधन गर्ने तथा संविधानले व्यवस्था गरेअनुसार निर्माण हुन बाँकी कानुन बनाउने जिम्मेवारी आफूहरूको रहेको उनले बताए।

कानुन निर्माण गर्ने निकाय तथा त्यसको कार्यान्वयन र न्याय सम्पादन गर्ने निकाय इमानदार र जिम्मेवार भए मुलुकलाई समृद्ध बनाउन लामो समय नलाग्ने सभामुख अर्यालले उल्लेख गरे। कानुन निर्माण र कार्यान्वयन गर्ने निकाय इमानदार भए नेपालजस्तो मुलुकलाई समृद्ध बनाउन १० वर्ष पर्याप्त हुने उनको भनाइ थियो।

सभामुख अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको पनि जानकारी दिए। डिजिटल पार्लियामेन्ट प्रणाली लागू भएपछि नागरिकले आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधि संसद् बैठकमा कति पटक उपस्थित भए भन्ने विवरण मोबाइलबाटै हेर्न सक्ने उनले बताए।

आगामी दिनमा सांसदहरू सदनमा कति बजे प्रवेश गरे र कति बजे बाहिरिए भन्ने विवरणसमेत सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ थियो। यसबाट जनप्रतिनिधिलाई थप जवाफदेही बनाउनुका साथै संसदीय गतिविधिमा नागरिकको पहुँच र निगरानी बढ्ने विश्वास उनले व्यक्त गरे।

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १०३, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा ३६ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ११३, हर्न निषेधमा १६, लेन क्रस ३ जना, एकतर्फि ८, अवस्था ठिक नभएको २५ र अन्यमा ३३६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सर्लाहीमा आगलागीबाट ७१ लाख ५० हजार रुपैयाँ बराबरको क्षति

सर्लाही । सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब ७१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ सखुवापुल नजिक शनिवार राती ८ः३० बजेको समयमा स्थानीय कृष्ण राय यादवले सञ्चालन गर्दै आएको धूप र पुराना कवाडका सामान राख्ने गोदाममा आगलागी भएको थियो ।

चारैतिर जस्तापाताले घेरिएको उक्त गोदाममा लागेको आगो नियन्त्रणका लागि प्रहरी चौकी पर्सा, प्रहरी चौकी त्रिभुवननगर, जिल्ला प्रहरी कार्यालय सर्लाही तथा सशस्त्र प्रहरी बल नेपाल नं. १० गणबाट प्रहरी टोली परिचालन गरिएको थियो । साथै स्थानीयवासी र पाँचकुमारी ब्यारेक नवलपुरसहित महोत्तरीको सम्सी गाउँपालिका र गौशाला नगरपालिकाबाट आएका तीनवटा दमकलको सहयोगमा आगो निभाउने कार्य गरिएको थियो ।

प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा राति १२ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट धूप बनाउन प्रयोग हुने करिब ५६ टन काठ, जसको अनुमानित मूल्य ४५ लाख रुपैयाँ रहेको छ भने फलाम र जस्तापाताले बनेको गोदाम तथा गोदामभित्र रहेका विभिन्न कवाडका सामान गरी थप २५ लाख रुपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । 

त्यसैगरी, शनिवार राती करिब ९ः५० बजे लालबन्दी नगरपालिका–२ चालिसे टोल निवासी अम्बिका पौडेलको घरमा पनि आगलागी क्षति भएको छ । आफ्नो एकतले घरको सुत्ने कोठामा मोबाइल चार्जमा लगाउने क्रममा अचानक विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । 

उक्त आगलागीबाट लत्ताकपडा, अन्न लगायत विभिन्न समानजली करिब एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

आगलागीका दुवै घटनामा करिब ७१ लाख ५० हजारको समान जलेर नष्ट भएको प्रहरीको अनुमान छ ।

‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने

काठमाडौं । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन लागेको छ । 

पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आज बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा अभिमुखीकरण कार्यक्रम हुन लागेको हो । 

देशव्यापी रूपमा हुने अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र खटिने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी तथा कार्यदिशाबारे स्पष्ट पार्न अभिमुखीकरण आयोजना गरिएको महामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् । 

उनका अनुसार काठमाडौं उपत्यकामा उपलब्ध सम्पूर्ण प्रतिनिधिहरूलाई सानेपास्थित केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुनु पर्ने छ भने काठमाडौं उपत्यका बाहिर रहेका प्रतिनिधिहरूका लागि जुम प्रविधिमार्फत सहभागी हुने व्यवस्था मिलाइएको छ । 

पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने र जनताका मुद्दाहरूसँग प्रत्यक्ष जोडिने उद्देश्यका साथ कांग्रेसले ७५३ वटै पालिकामा एकैसाथ यो अभियान परिचालन गर्न लागेको महामन्त्री संग्रौलाले जानकारी दिइन् ।

स्वास्थ्य समस्या देखिएका सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० निवासी १९ वर्षीया सुत्केरी महिला र उनको नवजात शिशुमा स्वास्थ्य समस्या देखिएपछि हवाई उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ ।

सुत्केरी महिलामा स्वास्थ्य समस्या देखिनुका साथै नवजात शिशु जन्मँदा कम तौल भएको र स्वास्थ्यमा जटिलता देखिएपछि दुवैलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत ल्याइएको थियो । सुर्खेतमा नवजात शिशुको थप उपचार सम्भव नभएपछि नियमित हवाई उडानमार्फत काठमाडौंस्थित कान्ति बाल अस्पताल ल्याई उपचार भइरहेको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

दुर्गम क्षेत्रमा स्वास्थ्य जटिलतामा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पु¥याई मातृ तथा नवजात शिशुको जीवन रक्षा गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ ।

सहसंयोजक नेपालको निर्देशन : कमिटीमा नआउने र जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताको रेकर्ड राख्नु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीका कमिटीहरूलाई सक्रिय र प्रभावकारी बनाउन बैठकमा अनुपस्थित हुने तथा जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताको अभिलेख राख्न निर्देशन दिएका छन् ।

शनिबार पार्टीको उपत्यका प्रदेश समितिको बृहत् प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पार्टीका प्रत्येक कमिटीले आफ्ना सदस्यहरूको सक्रियता, उपस्थिति र जिम्मेवारी निर्वाहको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने बताए । कमिटीमा बस्न चाहने तर जिम्मेवारी पाएपछि काम नगर्ने र बैठकमा समेत उपस्थित नहुने प्रवृत्ति पार्टीभित्र देखिएको उनको भनाइ थियो ।

उनले भने, ‘एक–एक व्यक्तिको रेकर्ड राख्नुहोस् । अहिले समस्या के छ भने मलाई फलानो कमिटीमा राखिएन भन्ने तर फलानो कमिटीमा राखेपछि जिम्मेवारी पूरा गर्दैनन्, बैठकमै पनि आउँदैनन् । विशेष कारणले नआउनु बेग्लै कुरा हो । तर बैठकमा आएपछि रचनात्मक र सहयोगात्मक भूमिका निर्वाह गर्नुपर्छ ।’

नेपालले कमिटीका बैठकमा गहन छलफल गरी विषयवस्तुको निष्कर्ष निकाल्ने, त्यसअनुसार सदस्यहरूलाई जिम्मेवारी दिने र जिम्मेवारी पूरा भए–नभएको अनुगमन गर्ने पद्धति विकास गर्नुपर्नेमा जोड दिए । जिम्मेवारी पूरा गर्ने कार्यकर्तालाई प्रोत्साहित गर्नुपर्ने र काम नगर्नेहरूको कमजोरीबारे पनि समीक्षा गर्नुपर्ने उनले बताए ।

उनले पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–५ र विशेष निर्देशन–३ अध्ययन गर्नसमेत कार्यकर्तालाई आग्रह गरे । पार्टीका निर्देशनहरू ह्वाट्सएप समूहमा पठाइए पनि कार्यकर्ताले अध्ययन नगर्ने समस्या रहेको भन्दै उनले सम्बन्धित समितिले निर्देशन पढे–नपढेको विषयमा समेत खोजी गर्नुपर्ने बताए ।

‘अन्तरपार्टी निर्देशनको पाना १ देखि अन्तिम पानासम्म पढ्ने कति जना हुनुहुन्छ भनेर सोध्नुपर्ने आवश्यकता छ । अरू सबै थोक मोबाइलमा गर्न सकिन्छ तर मोबाइलमा भएको ह्वाट्सएप समूहमा आएका पार्टीका निर्देशनहरू पढ्न सकिँदैन,’ उनले भने ।

राष्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिस्ट एकताका लागि राष्ट्रिय जागरण अभियान : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी उपत्यका प्रदेश समितिद्वारा आयोजित बृहत् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दुईमहिने राष्ट्रिय जागरण अभियानलाई पार्टी पुनर्निर्माण, संगठनात्मक सुदृढीकरण र आगामी स्थानीय निर्वाचनको तयारीसँग जोडिएको बताए ।

उनले भने, ‘ राष्ट्रिय स्वाधीनतामाथिका चुनौतीलाई ध्यान दिँदै र जनतासँग पार्टीको सम्बन्धलाई पुनः सुदृढ गर्ने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको हो । यो अभियानका तीनवटा मुख्य उद्देश्य छन् । पार्टी सदस्यता नवीकरण र संगठनात्मक समायोजन सम्पन्न गर्ने, आगामी स्थानीय निर्वाचनको प्रारम्भिक तयारी गर्ने र पार्टीको महाधिवेशनको तयारीलाई अगाडि बढाउने । साथै, आन्दोलन र जनताबीच सम्बन्ध स्थापित गर्ने सेतुका रूपमा पनि यो अभियानलाई अघि बढाइएको छ ।’

साथै, आन्दोलन र जनताबीच सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा पनि अभियानलाई अघि बढाइएको उनले बताए । प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै समाजवादी आन्दोलनको बलियो राजनीतिक केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिए । विभिन्न कम्युनिस्ट घटकसँग एकता, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर अघि बढिरहेको उल्लेख गर्दै उनले अन्य कम्युनिस्ट समूहलाई पनि एउटै राजनीतिक केन्द्रमा ल्याउने प्रयास जारी रहने बताए ।

नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव तथा नेकपा मसालसँग दुईबुँदे प्रस्तावसहित विभिन्न राजनीतिक शक्तिसँग संवाद भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘हामीले कम्युनिस्ट आन्दोलनको एकताको झन्डालाई अझ माथि उठाउने लक्ष्य लिएका छौँ । नेपालका साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने हाम्रो प्रयास जारी छ । एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि बढाएका छौँ । विभिन्न पक्षसँग संवाद र सहकार्य गर्दै विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गरी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने दिशामा हामी अगाडि बढिरहेका छौँ ।’

शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूसँग समेत मोर्चाबन्दीका लागि छलफल भइरहेको उनको भनाइ छ । राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र र समावेशिताका पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याउन पार्टीले पहल गरिरहेको उनले बताए ।

प्रचण्डले शान्ति सम्झौता र संविधान निर्माणपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा समाजवादी शक्तिसँग सम्बन्ध विस्तार गर्न पर्याप्त ध्यान दिन नसकेको स्वीकार गरे ।

अहिले विश्व राजनीतिमा नयाँ ध्रुवीकरण भइरहेको उल्लेख गर्दै उनले एकध्रुवीय विश्व व्यवस्थाबाट बहुध्रुवीय व्यवस्थातर्फ विश्व अघि बढिरहेको बताए । युरोप, अमेरिका र ल्याटिन अमेरिकी मुलुकहरूमा समेत समाजवादी तथा कम्युनिस्ट विचारप्रति आकर्षण बढिरहेको उनको दाबी थियो ।

डा. शर्माद्वारा डोल्पाबाट एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोईराला फाउण्डेसनका सभापति डा. सुनीलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई लक्षित गरी एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका छन् ।

डा.शर्माले डोल्पाबाट एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका विभिन्न ६ वटा विधामा अध्ययन गर्न काठमाडौं मेडिकल कलेज (केएमसी), काठमाडौं र नोबेल मेडिकल कलेज, विराटनगरमार्फत छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका हुन्। 

कर्णालीका दुर्गम बस्तीमा नि:शुल्क स्वास्थ्य सेवा पुर्‍याउने अभियानअन्तर्गत शुक्रवार दुनैमा आयोजित स्वास्थ्य शिविरका क्रममा उनले छात्रवृत्ति घोषणा गरे । स्वास्थ्य सेवासँगै शिक्षामा पनि विपन्न समुदायको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै आएका शर्माले शिविरमा सहभागी हुन नसकेका थप १०० जनाको केएमसीमा नि:शुल्क उपचार गर्ने र पाँच जनाको नि:शुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरे। त्यस्तै, काठमाडौंमा उपचारका लागि आउने बिरामीलाई पाँच लाख रुपैयाँ बराबरको औषधि आफ्नै खर्चमा खरिद गरेर उपलब्ध गराउने प्रतिवद्धता पनि उनले जनाए । 

आर्थिक अवस्था कमजोर भएका र काठमाडौंमा उपचारका क्रममा खानाको व्यवस्था गर्न नसक्ने बिरामीलाई अस्पताल भर्ना भएको दिनदेखि डिस्चार्ज नभएसम्म खानाको व्यवस्था पनि गरिदिने उनले बताए। 

मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको महाधिवेशनमा नेता मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफू लामो समयदेखि राजनीतिमा रहेको विभिन्न पदमा बसेर काम गरिसकेकाले अब महामन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताए।

देउवा समूहले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा समानान्तर महाधिवेशन गर्दैछ।