काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको महाधिवेशनमा नेता मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफू लामो समयदेखि राजनीतिमा रहेको विभिन्न पदमा बसेर काम गरिसकेकाले अब महामन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताए।

देउवा समूहले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा समानान्तर महाधिवेशन गर्दैछ।

विद्युत् खपत बढाउन वितरण केन्द्र प्रमुखलाई ऊर्जामन्त्रीको निर्देशन

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि गर्न तथा गुणस्तरीय विद्युत् सेवा सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्न वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिएका छन्।

नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने भन्दै उपभोक्ताले गुणस्तरीय, सुरक्षित र अविच्छिन्न विद्युत् सेवा पाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।

उनले विद्युत् महसुल संकलन र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक भए पनि विद्युत् चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा प्रवाहमा थप सुधार गर्न आवश्यक रहेको उल्लेख गरे। चुहावट नियन्त्रण, पूर्वाधार स्तरोन्नति तथा विपद् प्रतिरोधी वितरण प्रणाली निर्माणमा प्राधिकरणका सबै तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा उनले जोड दिए।

प्राधिकरणले गण्डकी प्रदेशका ११ जिल्लामा पाँच लाख ३५ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा प्रदान गर्दै आएको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चार महिनामा एक अर्ब ५८ करोड ११ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल संकलन भएको छ। यो लक्ष्यको ९९.१ प्रतिशत हो।

त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा ट्रान्सफर्मर जल्ने घटनामा ७२.५ प्रतिशतभन्दा बढी कमी आएको छ। आर्थिक वर्ष २०८२÷८३ मा ३१३ वटा ट्रान्सफर्मर जलेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ८६ वटा मात्रै जलेका छन्। मन्त्री श्रेष्ठले यसलाई वितरण प्रणालीमा आएको सुधारको सकारात्मक संकेतका रूपमा व्याख्या गरे।

गण्डकी प्रदेशमा १३ वटा वितरण केन्द्र, चार हजार ७९६ वितरण ट्रान्सफर्मर र २८ वटा ३३÷११ केभी सबस्टेसनमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ। तर, प्रदेशमा विद्युत् चुहावट ६.७८ प्रतिशत रहेको छ, जुन चालु आर्थिक वर्षका लागि निर्धारित ६.६५ प्रतिशतको लक्ष्यभन्दा बढी हो। चुहावटलाई निर्धारित सीमाभित्र ल्याउन प्रभावकारी कदम चाल्न मन्त्री श्रेष्ठले निर्देशन दिए।

प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशमा विद्युत् वितरण संरचनामा करिब ११ करोड १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।

बाढीपहिरोका कारण ६८ किलोमिटर ३३ केभी लाइन, ७९ किलोमिटर ११ केभी लाइन, ६३ किलोमिटर एलटी लाइन, ७३१ वटा पोल र ५७ वटा ट्रान्सफर्मरमा क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।

रास्वपाले झोला त्यागेर फाइल र डायरी प्रयोग गर्छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीको विकासलाई पार्टीले प्राथमिकतामा राख्ने बताएका छन् ।

शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कर्णालीले रास्वपाका उम्मेदवारलाई जिताए वा नजिताए पनि प्रदेशको विकासमा पार्टीले ध्यान दिने बताए । 

उनले कर्णालीसँग विकासका नाममा कुनै राजनीतिक सौदाबाजी नगर्ने स्पष्ट पारे। रास्वपाका उम्मेदवारलाई जिताए मात्रै विकास गर्ने र मत नदिए विकास नगर्ने भन्ने सोच पार्टीको नरहेको उनको भनाइ थियो । 

उनले भने, ‘हाम्रा उम्मेदवारलाई विजयी गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ, चाहे जीवनभर हारौँ। रास्वपा सरकारमा रहुन्जेलसम्म कर्णालीले एक जना मात्र पनि नपठाओस्, एक भोट पनि नदियोस्, कर्णाली रास्वपाको प्राथमिकता रहनेछ।’

उनले कर्णालीमा रास्वपाको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व अन्य प्रदेशको तुलनामा कमजोर रहेको स्वीकार गरे। पार्टीको आवाज कर्णालीका दूरदराजसम्म पु¥याउन नसकिएको उल्लेख गर्दै उनले आगामी दिनमा कर्णालीका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए।

लामिछानेले रास्वपाको स्थापना शान्तिपूर्ण विद्रोहको उद्देश्यसहित भएको बताए। मुलुकले विगतका विद्रोहको भार धान्न सक्ने अवस्था नरहेको भन्दै उनले रगतको एक थोपा पनि नचुहाई तथा कुनै परिवारलाई पीडामा नपारी परिवर्तनका लागि विद्रोह गर्ने उद्देश्यले पार्टी स्थापना गरिएको उल्लेख गरे।

उनले भने, ‘यही विद्रोह शब्दलाई रातो होइन, निलोमा परिणत गर्ने उद्देश्य बोकेर रास्वपाको जन्म गरायौँ, रगतको एउटा थोपो पनि नचुहाईकन, कुनै आमाको कोख नरित्याईकन, कुनै दिदीबहिनीको सिउँदो नउजाडीकन, कुनै बालबालिकालाई टुहुराटुहुरी नबनाईकन पनि एउटा विद्रोह गर्नु थिया, गर्यौं ।’

उनका अनुसार परम्परागत राजनीतिक दलबाट अपेक्षित परिणाम प्राप्त हुन नसकेको भन्दै विभिन्न दलमा लामो समय बिताएका नेता तथा कार्यकर्तासमेत रास्वपामा जोडिएका छन्। जनताको चुलो र जनजीविकासँग जोडिने परिणाममुखी राजनीति आवश्यक रहेको उनले बताए ।

रास्वपाले स्थापनाको चार वर्षमै ठूलो राजनीतिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले अब जनताले अपेक्षा गरेअनुसार परिणाम दिने जिम्मेवारी पार्टीको काँधमा रहेको बताए । उनले पार्टीको यात्रा सुरुवात मात्रै भएको भन्दै आगामी दिनमा कामबाट परिणाम देखाउनुपर्ने धारणा राखे।

उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङ्टन नेसनल विमानस्थलमा उडानका लागि तयारी अवस्थामा रहेका अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा एकआपसमा ठोक्किएका छन् । शुक्रबार साँझ भएको उक्त घटनामा कुनै यात्रु वा चालक दलका सदस्य घाइते नभएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार नोभेम्बर २७ मा स्थानीय समयअनुसार साँझ ५ बजेपछि अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ ले फ्लाइट २१५२ को पखेटामा ठक्कर दिएको थियो । दुवै विमान उडानका लागि विमानस्थलको ट्याक्सीवेमा अघि बढिरहेका बेला घटना भएको हो ।

घटनापछि दुवै विमानलाई आआफ्नो पार्किङ गेटमा फर्काइएको थियो । अमेरिकन एयरलाइन्सले दुवै विमानलाई प्राविधिक निरीक्षणका लागि सेवाबाट हटाइएको जनाएको छ ।

सीबीएस न्युजलाई दिएको वक्तव्यमा एयरलाइन्सले भनेको छ, ‘दुवै विमानलाई आआफ्नो गेटमा फर्काइएको छ र हाम्रो मर्मतसम्भार टोलीबाट निरीक्षण गर्न सेवाबाट हटाइएको छ ।’

एफएए र अमेरिकन एयरलाइन्सले घटनामा कसैलाई चोटपटक नलागेको पुष्टि गरेका छन् । मेट्रोपोलिटन वासिङ्टन एयरपोट्र्स अथोरिटीका अनुसार विमान एकआपसमा ठोक्किएपछि अग्नि नियन्त्रण तथा उद्धार टोली घटनास्थल पुगेको थियो । तर, उक्त घटनाले विमानस्थलका अन्य उडान सञ्चालनमा कुनै अवरोध सिर्जना नगरेको प्राधिकरणले जनाएको छ ।

फ्लाइट ६३८ टेक्सासको डलास र फ्लाइट २१५२ सिकागोका लागि उडान भर्ने तयारीमा थिए । घटनापछि दुवै उडानका यात्रुलाई अर्को विमानमार्फत गन्तव्यमा पु¥याउने व्यवस्था गरिएको एयरलाइन्सले जनाएको छ ।

न्युयोर्क पोस्टका अनुसार घटनाबारे अमेरिकी संघीय उड्डयन प्रशासनले अनुसन्धान गर्नेछ । अमेरिकामा थ्याङ्क्सगिभिङ बिदाका कारण हवाई यात्रुको चाप बढिरहेका बेला विमानस्थलहरूमा उडानसम्बन्धी अवरोधका घटना भइरहेका छन् । यसअघि नोभेम्बर २६ मा मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा फेडएक्सको कार्गो विमान धावनमार्गबाट बाहिरिएको थियो ।

मेम्फिसबाट उडेको म्याकडोनल डगलस एमडी–११ विमान (फ्लाइट ९१०) अवतरणका क्रममा रनवे २६आरबाट बाहिरिएपछि विमानस्थलका केही धावनमार्ग बन्द गर्नुपरेको थियो । घटनापछि मियामी–डेड अग्नि तथा उद्धार टोली परिचालन गरिएको थियो । उक्त घटनामा पनि कसैलाई चोटपटक लागेको थिएन ।

यसै वर्ष रुपाताल संरक्षण परियोजना सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् । परियोजनाको समग्र भौतिक तथा वित्तीय प्रगति ६५ प्रतिशतभन्दा बढी पुगेपछि मन्त्री श्रेष्ठले बाँकी कामलाई तीव्रता दिन कर्मचारी र निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् ।

परियोजनाको अनुगमनका क्रममा आयोजना पक्षले चालू आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण अघि बढिरहेको जानकारी गराएको थियो । त्यस क्रममा मन्त्री श्रेष्ठले रुपाताल संरक्षण तथा पर्यापर्यटनका दृष्टिले महत्वपूर्ण परियोजना भएकाले निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताए ।

उनले रुपातालमा अपनाइएको विकासको मोडल सफल भए अन्य तालमा पनि यस्तै प्रकृतिका परियोजना सञ्चालन गर्न सकिने बताए । निर्माणमा देखिएका समस्या समाधान गर्दै कामलाई तीव्रता दिन सम्बन्धित कर्मचारी तथा निर्माण व्यवसायीलाई उनले निर्देशन दिएका छन् ।

कुल ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा हालसम्म २ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ । यो कुल अनुमानित लागतको ६५.४८ प्रतिशत हो ।

आर्थिक वर्ष २०७३÷७४ मा स्थापना भएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०७४ साउनमा स्वीकृत भएको थियो । पोखरा महानगरपालिकाका वडा नम्बर ३१ र ३२ तथा रुपा गाउँपालिकालाई समेटेर सञ्चालन गरिएको परियोजनाको मुख्य उद्देश्य रुपाताल संरक्षण, जलाधार व्यवस्थापन, बाढी तथा भूक्षय नियन्त्रण र पर्यापर्यटन प्रवद्र्धन गर्नु हो ।

परियोजनाअन्तर्गत ६३५ मिटर लामो बाँध, स्पिलवे तथा पुल, तालमा थुप्रिएको माटो व्यवस्थापन, सडक, पदमार्ग, पर्यापर्यटन बगैँचा, कृत्रिम टापु र मन्दिरलगायत संरचना निर्माण गर्ने योजना छ ।

हाल बाँध तथा स्पिलवेको निर्माण अघि बढिरहेको छ । २८ करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त काममा हालसम्म १६ करोड ४७ लाख रुपैयाँ खर्च भएको छ । स्पिलवे कम ब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ भने मुख्य बाँध र कार्यालय भवन निर्माण पनि जारी रहेको आयोजनाले जनाएको छ ।

तालको बायाँ किनारमा ७.९ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ । त्यस्तै, तालमा थुप्रिएको माटो व्यवस्थापन तथा ड्रेजिङको काम ७५ प्रतिशत सम्पन्न भएको छ । ३९ करोड ६७ लाख रुपैयाँ लागतको उक्त कामअन्तर्गत हालसम्म ५ लाख २ हजार ४४० घनमिटरभन्दा बढी माटो व्यवस्थापन गरिएको छ ।

१०औँ राष्ट्रिय खेलकुद : आज नौ खेलमा प्रतिस्पर्धा हुँदै 

सुर्खेत । जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) विभिन्न नौ खेल विधामा प्रतिस्पर्धा हुँदैछ ।

खेल तालिकाअनुसार महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट, फुलकन्ट्याक्ट कराँते र शारीरिक सुगठनका खेल सञ्चालन हुनेछन् ।

महिला क्रिकेट वीरेन्द्रनगर रंगशाला तथा पुरुष क्रिकेट कालुञ्चोक मैदानमा हुनेछ । त्यस्तै, पुरुष फुटबल मुख्य रंगशालामा र महिला बास्केटबल वीरेन्द्रनगर रंगशालामा सञ्चालन हुनेछ ।

यसैगरी, टेनिस बर्दियामा, कबड्डी मुख्य कबड्डी हलमा र जिम्न्यास्टिक मिनी कबड्डी हल सुर्खेतमा आयोजना हुनेछ । फुलकन्ट्याक्ट कराँते ब्याडमिन्टन कभर्डहल सुर्खेतमा सञ्चालन हुँदा शारीरिक सुगठनका प्रतिस्पर्धा रुकुम पश्चिमको चौरजहारीमा हुनेछन् ।

खेल तालिकाअनुसार शारीरिक सुगठनका प्रतिस्पर्धा बिहान ८ बजेदेखि सुरु हुनेछन् । टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट र फुलकन्ट्याक्ट कराँते बिहान ९ बजेदेखि सञ्चालन हुनेछन् । त्यस्तै, महिला क्रिकेट, पुरुष फुटबल र महिला बास्केटबलका खेल पनि बिहान ९ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभिन्न खेल विधाका प्रतिस्पर्धा कर्णाली प्रदेशसहित बाँके, बर्दियालगायतका जिल्लामा सञ्चालन भइरहेका छन् ।

यातायात श्रमिक र रोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन विभागको आग्रह

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायात क्षेत्रमा कार्यरत सवारी चालक, सहचालकसहित सम्पूर्ण श्रमिक तथा रोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह गरेको छ ।

सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा शुक्रबार विज्ञप्ति जारी गर्दै विभागले यातायात क्षेत्रको जोखिमपूर्ण कार्यप्रकृतिलाई ध्यानमा राखेर कोषबाट उपलब्ध हुने सामाजिक सुरक्षाका सुविधाको लाभ लिन अनुरोध गरेको हो ।

विभागका अनुसार कोषमा आबद्ध श्रमिकले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतका सुविधा प्राप्त गर्न सक्नेछन् ।

कार्यस्थल वा सवारी दुर्घटनामा परे उपचार खर्च तथा अंगभंग भई अशक्त भए आजीवन पेन्सनको व्यवस्था छ । योगदानकर्ताको मृत्यु भएमा आश्रित पति वा पत्नीलाई आजीवन पेन्सन, सन्ततिलाई शैक्षिक वृत्ति तथा अन्तिम संस्कार खर्च उपलब्ध हुने व्यवस्था रहेको विभागले जनाएको छ ।

त्यस्तै बिरामी पर्दा तथा सुत्केरी अवस्थामा उपचार खर्च र अवकाशपछि जीवनयापनका लागि पेन्सन तथा अवकाश सुविधा प्राप्त गर्न सकिनेछ ।

विभागका निर्देशक लोकनाथ भुसालद्वारा जारी विज्ञप्तिमा नजिकको सामाजिक सुरक्षा कोषको कार्यालय, सम्बन्धित यातायात व्यवसायी महासंघ वा समिति तथा अनलाइन प्रणालीमार्फत सूचीकृत हुन सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरिएको छ ।

एनएफएललाई शुभकामना, सरकारले गर्ने लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सुरु हुन्छ : मन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल फुटबल लिग (एनएफएल) मा सहभागी हुने १० वटै क्लबको टुंगो लाग्नु नेपाली फुटबलका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । 

शुक्रबार सामाजिक सञ्जालमार्फत एनएफएललाई शुभकामना व्यक्त गर्दै मन्त्री पोखरेलले सरकारले सञ्चालन गर्ने सहिद स्मारक लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सुरु गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

निजी क्षेत्रको सहकार्यमा सञ्चालन हुन लागेको एनएफएलले नेपाली फुटबललाई व्यावसायिक, प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको विश्वास छ।

एनपीएलको सफलतापछि दशौँ राष्ट्रिय खेलकुदको रौनक बढिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली खेलकुदमा देखिएको उत्साह फुटबलमा पनि विस्तार गर्नुपर्ने बताएका छन् । 

उनका अनुसार केही दिनअघि थाइल्यान्डमा फिफा र एएफसीका नेतृत्वसँग नेपाली फुटबलको भविष्य, संरचनागत सुधार तथा विकासका विषयमा सकारात्मक छलफल भएको थियो। साथै, अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध पनि छिट्टै हट्ने विश्वास उनले व्यक्त गरेका छन् ।

निजी क्षेत्रको सहकार्यमा एनएफएल अघि बढिरहँदा सरकारले सञ्चालन गर्ने सहिद स्मारक लिगलाई पनि नयाँ स्वरूपमा अघि बढाउने सरकारको योजना छ। आगामी वर्षदेखि देशका विभिन्न स्थानमा मल्टिभेन्यू अवधारणाअन्तर्गत लिग सञ्चालन गर्ने तयारी गरिएको मन्त्री पोखरेलले बताएका छन् । 

यस अवधारणाले फुटबललाई काठमाडौंमा मात्र सीमित नराखी देशभर विस्तार गर्न तथा स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

मन्त्री पोखरेलले सरकारको उद्देश्य प्रतियोगिता आयोजना गर्नुमा मात्र सीमित नरहेको स्पष्ट पार्दै खेलाडीको भविष्य सुरक्षित गर्ने, क्लबहरूलाई सबल बनाउने र समग्र फुटबल संरचनाको विकास गर्ने लक्ष्य रहेको बताएका छन् ।

नेपाली फुटबलमा रहेको प्रतिभा, सम्भावना र समर्थकको मायालाई एकीकृत गर्दै फुटबललाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् । 

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

चितवन । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ-मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले बताए।

तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले काम अघि बढाएको छ । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि पहिरो रोकथामका लागि विभिन्न प्रविधि अपनाउन लागिएको हो ।

ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ । त्यससँगै भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक प्रविधि) प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय अवलम्बन गरिने र पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताए ।

गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुन:अघि बढाउन लागिएको हो । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइनखोलामा काम गरिएको बताउँदै उनले कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा पनि बाटो सहज बनाउन काम रोकिएको बताए ।

शर्माका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने अवस्था छ ।

जेनजी आन्दोलनका क्रममा महोत्तरी कारागारबाट फरार लागुऔषध मुद्दाका एक बन्दी सिरहामा पक्राउ

सिरहा । जेनजी आन्दोलनका क्रममा महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक बन्दीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–७ निवासी करिब २२ वर्षीय दुर्गेश यादवलाई पक्राउ गरिएको हो । उनी लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका बेला आन्दोलनका क्रममा फरार भएका थिए ।

प्रहरीका अनुसार मंसिर ११ गते दिउँसो ३ः२५ बजे इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–१७ माडरस्थित क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।