काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी 

काठमाडौँ । सहायक रथी राजेन्द्र श्रेष्ठले नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ताको कार्यभार सम्हालेका छन्।

श्रेष्ठले बिहीबार (मंसिर ३) देखि प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन् । 

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी राजाराम बस्नेतलाई प्रधान सेनापति अशोकराज सिग्देलको सचिवालयमा नियुक्त गरिएको छ। बस्नेतले गत वर्ष असारमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित, राष्ट्रिय सम्पदा र देशको वास्तविकतामा आधारित हुनुपर्ने बताएका छन् । 

काठमाडौंमा आयोजित ‘ग्लोबल करेन्ट्स, लोकल कम्पास :नेपालको आगामी पुस्ताको कूटनीति’ विषयक सेमिनारलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले तीव्र गतिमा परिवर्तन भइरहेको विश्व परिवेशमा नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 

परराष्ट्रमन्त्री खनालले परम्परागत रूपमा सीमित कूटनीतिलाई विस्तार गर्दै नागरिक समाज, निजी क्षेत्र, नवप्रवर्तक तथा विभिन्न विषयका विज्ञ र ज्ञान समुदायलाई समेट्ने सहकार्यमा आधारित कूटनीतिक अभ्यास अवलम्बन गर्नुपर्ने बताए । 

नयाँ पुस्ताका कूटनीतिज्ञलाई प्रविधि र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी ज्ञान तथा सीपले सुसज्जित बनाउनुपर्ने उल्लेख गर्दै उनले एआईको सुशासन, साइबर सुरक्षा र तथ्याङ्कको सार्वभौमिकतालाई राष्ट्रिय सुरक्षाका प्रमुख प्राथमिकताका रूपमा लिनुपर्ने धारणा राखे । 

त्यसैगरी, जलवायु न्याय र स्वच्छ ऊर्जाको प्रवद्र्धन नेपालको कूटनीतिक प्राथमिकतामा रहनुपर्ने उनको भनाइ थियो । हिमालय क्षेत्रलाई विश्वको ‘तेस्रो ध्रुव’ का रूपमा संरक्षण गर्न वैज्ञानिक तथ्य र नैतिक पैरवीलाई एकसाथ अघि बढाउनुपर्ने तथा नेपालको स्वच्छ जलविद्युत् ऊर्जामार्फत क्षेत्रीय कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पु¥याउन सकिने उनले बताए । 

वैदेशिक रोजगारी र मानव आवागमनलाई नेपालको कूटनीतिको अर्को महत्त्वपूर्ण आयामका रूपमा प्रस्तुत गर्दै मन्त्री खनालले विदेशमा रहेका नेपाली श्रमिकको अधिकार र मर्यादाको संरक्षणमा मात्र सीमित नभई सीपमा आधारित साझेदारी तथा विश्वभर रहेका नेपाली समुदायको लगानी परिचालनका लागि संस्थागत र स्वदेशकै स्वामित्वमा रहने संयन्त्र विकास गर्नुपर्नेमा जोड दिए । 

मन्त्री खनालले आगामी पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक चिन्तन, परिस्थितिअनुसार अनुकूलन हुनसक्ने क्षमता, सहानुभूति, सहकार्य र जीवनपर्यन्त सिकाइलाई मुख्य सीपका रूपमा विकास गर्नुपर्ने बताउनुभएको खनालको निजी सचिवालयले जनाएको छ । 

परराष्ट्रमन्त्री खनालले नेपालले बदलिँदो विश्व व्यवस्थामा आफ्नो राष्ट्रिय हित र पहिचानलाई केन्द्रमा राख्दै रणनीतिक स्पष्टता, संस्थागत क्षमता र अन्तर्राष्ट्रिय सञ्जालको प्रभावकारी परिचालनमार्फत कूटनीतिक उपस्थिति बलियो बनाउनुपर्नेमा जोड दिए ।

फागुन २१ को चुनावी धक्का अस्थायी हो : वरिष्ठ नेता भण्डारी

काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन् । 

राष्ट्रिय भेलाको दोस्रो दिन नेता भण्डारीले अगुवा नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरेकी हुन् । ‘भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन’, उनले भने । 

गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा व्यहोर्नुपरेको धक्काबाट कार्यकर्तामा केही निराशा उत्पन्न भएको भए त्यसबाट मुक्त हुन उनले बताइन् । 

उनले भनिन्, ‘निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ ।’

भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे प्रष्ट पार्दै आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन फर्किएको बताइन् । 

राष्ट्रपतिको सर्वोच्च संवैधानिक जिम्मेवारी सम्हाल्दा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्ध प्रवद्र्धनमा भूमिका खेलेको उल्लेख गर्दै उनले भनिन्, ‘मैले राष्ट्रपतिको सर्वोच्च ओहोदा हासिल गरिसकेकाले अब कुनै पनि पदप्रति लोभ छैन।’

एमालेले खाएको धक्का निर्वाचनको परिणामले होइनः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताएका छन् । 

पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै विहीबार अध्यक्ष ओलीले निर्वाचन पूर्व भएका ध्वंस्स, आक्रमणका कारण एमालेलाई प्रतिरक्षात्मक बनाएको उल्लेख गरे ।

‘हामी सरकारबाट अपदस्त हुँदाको अवस्थाको विष्लेषण नगरिक राजनीति हुदैन’ अध्यक्ष ओलीले भने ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापनका लागि बनाइएको वातावरण बुझ्नु पर्दछ । त्यती नबुझी राजनीति बुझिदैन ।’

अध्यक्ष ओलीले प्राविधिक कुरालाई मात्र देखाएर एमालेको आन्तरिक कमजोरीकै कारण एमालेको सरकारलाई बिस्थापन भयो भनेर बुझ्नु नहुने बताए । ‘अल्गोदिम लगाएर, सामाजिक सञ्जालका माध्यमबाट हामीलाई जनताबाट टाढा पुर्याइयो’ अध्यक्ष ओलीले भने ‘हामीप्रति घृणा फैलाएर,अनावश्यक ढंगले सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो ।’

अध्यक्ष ओलीले मौसमी छिचिमिरासँग कोही पनि डराउनु नहुने बताए । बर्खायाममा निस्कने छिचिमिराको आयु लामो हुदैन ।

 ‘यस्ता छिचिमिरा घरको छानामा नपुग्दै कतिपयलाई चराले खाइदिन्छ । कतिपय आफैं भुइँमा झर्छन्,’ अध्यक्ष ओलीले भने ‘यस्ता प्रवृति विरुद्ध लड्ने र विजय हासिल गर्ने कामको नेतृत्व एमालेले गर्छ ।’

अध्यक्ष ओलीले ससमाजलाई सबै भ्रमहरुबाट मुक्त गर्ने कामको अगुवाई एमालेले गर्ने बताए । समाजलाई निराशाको अवस्थाबाट बाहिर निकालेर पुनर्जागरण गराउने कामको नेतृत्व एमालेले गर्दछ ।

एपेक सम्मेलनमा ट्रम्प, सी र पुटिनबीच भेटवार्ता, त्रिपक्षीय बैठकको तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको शेन्जेनमा आयोजित ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी भएका छन् । बिहीबार सम्मेलनस्थल पुगेका ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत गरेका थिए । त्यसपछि उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेट गरेका छन् ।

तीनै नेताले हात मिलाएर अभिवादन गरेपछि सम्मेलनमा सहभागी अन्य विश्व नेताहरूसँग सामूहिक तस्बिर खिचाएका थिए । उनीहरूको भेटसँगै अमेरिका, चीन र रुसका राष्ट्रपतिबीच पहिलोपटक हुन लागेको त्रिपक्षीय बैठकप्रति अन्तर्राष्ट्रिय चासो बढेको छ ।

बिहीबार हुने भनिएको त्रिपक्षीय बैठकमा परमाणु निशस्त्रीकरण, इरानसँग सम्बन्धित द्वन्द्व, विश्व व्यापार र रुस–युक्रेन युद्ध मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ । यसअघि बुधबार चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तामा दुवै नेताले अन्तर्राष्ट्रिय अनिश्चितताबीच चीन–रुस सम्बन्ध स्थिर रहेको र बहुध्रुवीय विश्व व्यवस्था अघि बढाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सीले चीन र रुसबीचको सम्बन्धलाई आँधीबेहरीमा पनि पहाडझैँ अडिग रहने सम्बन्धका रूपमा व्याख्या गरेका थिए । उनले विश्व मामिलामा स्थायित्व र निश्चितता कायम गर्न दुवै देशले दीर्घकालीन रणनीतिक दृष्टिकोण अपनाउनुपर्ने बताए ।

पुटिनले पनि कठिन अन्तर्राष्ट्रिय परिस्थितिका बाबजुद रुस–चीनबीचको राजनीतिक सहकार्य रचनात्मक रूपमा अघि बढिरहेको बताएका थिए । दुवै देश न्यायपूर्ण बहुध्रुवीय विश्व व्यवस्था निर्माणका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

सीले विश्व व्यवस्थालाई बहुध्रुवीय बनाउने र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप लोकतान्त्रिक बनाउन प्रमुख शक्तिका रूपमा दुवै देशले जिम्मेवारी लिनुपर्ने बताएका थिए ।

यसैबीच, एपेक सीईओ सम्मेलनमा सम्बोधन गर्दै पुटिनले आर्थिक दबाब, प्रतिबन्ध र व्यापारिक अवरोधलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको औजार बनाउने प्रवृत्तिको आलोचना गरेका थिए । भन्सार शुल्क, निर्यात प्रतिबन्ध र आर्थिक नाकाबन्दीले विकासलाई प्रभावित गरे पनि प्रतिस्पर्धी अर्थतन्त्रको वृद्धि पूर्ण रूपमा रोक्न नसक्ने उनको भनाइ थियो । पुटिनले अमेरिका, चीन र रुसका राष्ट्रपतिबीच हुन लागेको त्रिपक्षीय बैठकबाट महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा पनि व्यक्त गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि एसिया भ्रमणमा निस्कनुअघि त्रिपक्षीय बैठकमा परमाणु निशस्त्रीकरण, इरान, युक्रेन युद्ध र व्यापारका विषयमा छलफल हुने बताएका थिए । उनले रुस–युक्रेन युद्धमा दुवै पक्षले ठूलो मानवीय क्षति व्यहोरिरहेको उल्लेख गर्दै युद्ध अन्त्यका विषयमा छलफल गर्ने बताएका थिए । ट्रम्पले युक्रेन र रुसमा प्रत्येक महिना २५ हजार मानिसले ज्यान गुमाइरहेको दाबी गरेका थिए ।

युक्रेन युद्धबारे हुने छलफललाई विशेष चासोका साथ हेरिएको छ । युक्रेनलाई सहभागी नगराई प्रमुख शक्तिराष्ट्रहरूले युद्धबारे निर्णय गर्न सक्ने चिन्ता पनि व्यक्त हुँदै आएको छ ।

त्यस्तै, अमेरिका र रुसबीचको परमाणु हतियार नियन्त्रणसम्बन्धी न्यू स्टार्ट सन्धि यसै वर्ष समाप्त भएपछि विश्व परमाणु हतियार नियन्त्रणको विषय थप संवेदनशील बनेको छ । अमेरिकाले चीनलाई समेत व्यापक परमाणु हतियार कटौतीसम्बन्धी वार्तामा सहभागी गराउन खोजिरहेको छ । तर चीनले अमेरिका र रुससँग तुलनात्मक रूपमा कम परमाणु हतियार रहेको तर्क गर्दै प्रत्यक्ष वार्तामा सहभागी हुन अनिच्छा देखाउँदै आएको छ ।

चीनले भने तीन शक्तिराष्ट्रबीचको प्रस्तावित बैठकलाई विश्व शान्ति र रणनीतिक स्थायित्व कायम गर्ने दृष्टिले महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेको छ । एपेक सम्मेलनकै अवसरमा हुन लागेको यी कूटनीतिक भेटवार्तालाई विश्व व्यापार, सुरक्षा र शक्ति सन्तुलनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।

भीमफेदीमा जीप दुर्घटना, तीनको मृत्यु 

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

आज बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँका लागि आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो जिप भैँसेको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा सुमो चालकसहित १० जना घाइते भएका थिए । घटनालगत्तै प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो । अस्पताल पुर्‍याइएका घाइतेमध्ये बिहान ९स्२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः रिक्त

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको निर्णय गरेको छ ।

आयोगले २०८३ मङ्सिर ३ गते प्रकाशन गरेको सूचनाअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको जानकारी प्राप्त भएकाले २०८३ मङ्सिर २ गते पद रिक्त हुने निर्णय गरिएको हो ।

पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत कार्य गरी दल त्याग गरेको व्यहोरासहित केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपि आयोगमा प्राप्त भएपछि नियमावलीको नियम २२ को उपनियम (२) अनुसार सूचना सार्वजनिक गरिएको जनाइएको छ ।

सिराहाको लहान नगरपालिकाका उपप्रमुख राम चरितर महतो, सखुवानन्कारकट्टी गाउँपालिका–४ का वडा अध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडा अध्यक्ष विजय कुमार महतोको पद रिक्त भएको छ ।

यस्तै पर्साको कालिकामाई गाउँपालिका–१ का वडा अध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडा अध्यक्ष सञ्जय कुमार पटेलको पद पनि रिक्त भएको छ ।

खोटाङको जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको पद रिक्त भएको छ ।

खोटाङकै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० का वडा अध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गिता विक, वडा सदस्यद्वय रामधन राई र शहर मनी राई तथा नगरकार्यपालिका सदस्य विरेन्द्र कुमार दर्नालको पद रिक्त भएको छ ।

यसैगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडा अध्यक्ष बाल चन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडा अध्यक्ष छत्र बहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ, सन्दकपुर गाउँपालिका–४ का वडा अध्यक्ष ढाल बहादुर गुरूङ र सुनसरीको कोशी गाउँपालिका–६ का वडा अध्यक्ष जुडिलाल कौडगियाको पद स्वतः रिक्त भएको आयोगको सूचनामा उल्लेख छ । 

एपेक बैठकमा सहभागी हुन अमेरिकी राष्ट्रपति ट्रम्प चीन पुगे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी हुन चीनको शेन्जेनस्थित अन्तर्राष्ट्रिय सञ्चार केन्द्र पुगेका छन् ।

ट्रम्प बिहीबार बिहान दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित शेन्जेन शहरमा रहेको बैठकस्थल पुगेका हुन् । उनी बैठकमा सहभागी हुन बुधबार नै शेन्जेन पुगेका थिए । बुधबार र बिहीबार दुई दिनसम्म सञ्चालन हुने बैठकमा एसिया प्रशान्त क्षेत्रका सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुँदैछन् । एपेक बैठकमा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा आर्थिक विकासका विषयमा छलफल हुने कार्यक्रम छ ।

पञ्चेश्वर परियोजनालाई निष्कर्षमा पु¥याउन प्रधानमन्त्रीलाइ प्रचण्डको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई निष्कर्षमा पु¥याउन सुझाव दिएका छन् ।

आफू प्रधानमन्त्री हुँदा परियोजनासम्बन्धी सम्झौता हस्ताक्षरको नजिक पुगेको उल्लेख गर्दै उनले त्यसलाई टुंगोमा पु¥याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक उपलब्धि हुने बताएका हुन् ।

रुसको राजधानी मस्कोमा आयोजित ‘फ्रिडम अफ नेसन्स’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणमा आफूले अघि बढाएका महत्वपूर्ण सहमति र परियोजनालाई प्राथमिकता दिन आग्रह गरे ।

प्रचण्डले पञ्चेश्वर परियोजनासँगै विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सहकार्य र कृषि विकाससँग सम्बन्धित सहमति तथा समझदारीलाई पनि अघि बढाउनुपर्ने बताए । ‘नेपालको राष्ट्रिय हितलाई प्राथमिकता र केन्द्रबिन्दुमा राखेर छलफल गर्नुहुनेछ भन्ने अपेक्षा गर्छु । नेपाल–भारत सम्बन्धमा मैले पछिल्लो पटक प्रधानमन्त्री हुँदा जे जति काम अगाडि बढाएको थिएँ, ती कामलाई उहाँले फत्ते गरिदिनुहोस् भन्ने चाहन्छु,’ उनले भने ।

महाकाली सन्धिपछि अघि बढाइएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना नेपाल र भारतबीचको प्रमुख जलस्रोत सहकार्यको आयोजना हो । परियोजनाको कार्यान्वयनबाट विद्युत् उत्पादनसँगै सिँचाइ र बाढी नियन्त्रणमा समेत लाभ लिन सकिने अपेक्षा गरिएको छ । तर, लामो समयदेखि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लाभ बाँडफाँटलगायत विषयमा सहमति जुट्न नसक्दा यसको कार्यान्वयन अघि बढ्न सकेको छैन ।

प्रचण्डले प्रधानमन्त्री शाहले राम्रो काम गरे आफू र आफ्नो पार्टीको सहयोग रहने पनि स्पष्ट पारे । यसअघि संसद्मा बोल्दा पनि प्रधानमन्त्रीलाई राम्रो काम गर्न आग्रह गरेको र त्यसमा आफ्नो साथ रहने बताएको उनले स्मरण गरे ।

बंगलादेशमा राजनीतिक तनाव चुलियो, २८ जिल्लामा विस्फोट र आगजनी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेसँगै त्यहाँको राजनीतिक वातावरण थप तनावग्रस्त बनेको छ । प्रतिबन्धित अवामी लिगले आह्वान गरेको लकडाउनका क्रममा राजधानी ढाकासहित २८ जिल्लामा विस्फोट, आगजनी र झडपका घटना भएका छन् ।

हिंसात्मक घटनामा कम्तीमा चार जना घाइते भएका छन् भने विभिन्न स्थानमा चार जनाको मृत्यु भएको समाचारमा उल्लेख छ । सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका शाखासमेत आगजनीको निशानामा परेका छन् ।

घटनापछि सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै संवेदनशील क्षेत्रहरूमा सुरक्षा निगरानी बढाएको छ । प्रहरीले पछिल्लो २४ घण्टामा राजधानी ढाकाबाट मात्रै ५६५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि सत्ता गुमाएकी हसिना हाल भारतमा बस्दै आएकी छन् । मृत्युदण्डको सजाय सुनाइएपछि पनि उनले डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी हुन् । उनको घोषणापछि बंगलादेशमा राजनीतिक गतिविधि थप तीव्र बनेको छ ।

पछिल्ला घटनाक्रमले बंगलादेशमा राजनीतिक अस्थिरतासँगै शान्ति सुरक्षाको चुनौतीसमेत बढाएको छ ।