काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

त्रिभुवन विमानस्थलमा यात्रुले अब लाइभ फिडबाटै हेर्न पाउनेछन् आफ्नो ब्यागेजको अवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यस व्यवस्थाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले विमानबाट झारिएको आफ्नो सामान ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियालाई प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् ।

नयाँ व्यवस्थाले यात्रुलाई आफ्नो सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न कति समय लाग्छ भन्नेबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन । सामानको प्रतीक्षामा यात्रुहरू अन्योलमा पर्ने तथा ब्यागेज व्यवस्थापन प्रक्रियाबारे पर्याप्त सूचना नहुँदा असहजता हुने गरेको थियो ।

अब ब्यागेज ड्रप क्षेत्रमा भइरहेका गतिविधि आगमन कक्षबाटै हेर्न सकिने भएपछि यात्रुको प्रतीक्षा थप सहज र व्यवस्थित हुने विश्वास गरिएको छ ।

पछिल्लो समय मन्त्री पौडेलले विमानस्थलको सेवा सुधार, प्रविधिको उपयोग र यात्रुको सुविधालाई प्राथमिकतामा राख्दै विभिन्न पहल गर्दै आएका छन् ।

विमानस्थलमा प्रविधिको प्रयोग बढाउँदै सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने यो प्रयासलाई यात्रु सेवाको गुणस्तर अभिवृद्धि गर्ने कदमका रूपमा हेरिएको छ । यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अनुभवलाई थप प्रभावकारी, आधुनिक र यात्रुमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हुम्ला केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । 

आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु हुम्लाको थेहे आसपास रहेको हो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समय सानाठूला भूकम्प जाने क्रम जारी छ ।

लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशलाई बालविवाहमुक्त बनाउने लक्ष्यसहित प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

 आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय तहलाई उपलब्ध गराइएको सशर्त अनुदान प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकारले ‘बाल विवाह न्यूनीकरण सशर्त अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३’ जारी गरेको छ ।

कार्यविधिअनुसार प्रदेशभित्रका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले आफ्नो जिम्मेवार शाखामार्फत बालविवाह न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । कार्यक्रमका मुख्य लक्षित समूहमा विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी, विद्यालयबाहिर रहेका १२ देखि १८ वर्ष उमेर समूहका बालिका तथा किशोरी र उनीहरूका अभिभावक रहनेछन् । शिक्षक तथा शिक्षिकालाई समेत कार्यक्रममा सहभागी गराइनेछ ।

बालविवाहबाट पर्ने सामाजिक, शैक्षिक, स्वास्थ्य तथा कानुनी असरबारे लक्षित वर्गलाई सचेत गराउने कार्यक्रम सञ्चालन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । बालविवाहको जोखिम रहेका क्षेत्र, समुदाय र वर्ग पहिचान गरी विद्यालयबाहिर रहेका किशोरीलाई विशेष परामर्श प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, बालविवाह र त्यसबाट उत्पन्न हुने कानुनी परिणामबारे न्यायिक, सुरक्षा तथा प्रशासनिक क्षेत्रका विज्ञ र उत्प्रेरक व्यक्तिमार्फत प्रशिक्षण दिन सकिनेछ । बालविवाह न्यूनीकरणका लागि लामो समयदेखि योगदान दिएका व्यक्तिलाई प्रशिक्षकका रूपमा परिचालन गर्न सकिने व्यवस्था पनि कार्यविधिमा छ ।

प्रदेश सरकारले उपलब्ध गराएको अनुदान सम्भव भएसम्म पालिकाभित्रका सबै वडामा खर्च गर्नुपर्नेछ । बालविवाहको अवस्थाबारे वार्षिक तथ्यांक संकलन गर्ने, बालविवाह बढी हुने बस्ती, टोल, समुदाय र वडालाई केन्द्रित गरी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, बालविवाहविरुद्ध तयार गरिएका वृत्तचित्र तथा लघु चलचित्र प्रदर्शन, सडक नाटक र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकिनेछ । स्थानीय रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम र पत्रपत्रिकाबाट कार्यक्रमको प्रचारप्रसार गर्न अनुदान रकमको अधिकतम १५ प्रतिशतसम्म खर्च गर्न पाउने व्यवस्था कार्यविधिमा गरिएको छ ।

आरुघाटको मोटरेबल पुल नहुँदा सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । गोरखाको आरुघाट गाउँपालिकाको सोतीस्थित फलामे मोटरेबल पक्की पुल नहुँदा शुक्रबार सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

बुढीगण्डकी नदीमा आएको बाढीका कारण गोरखाको आरुघाट गाउँपालिका वडा नं. २ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बगाएको थियो । पुल बगेपछि उक्त सडक खण्डमा यातायात तथा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गत असोज २५ गते बिहान करिब ५ः३० बजे चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङको बीचमा पर्ने सिरिङ्गे हिमालमा हिमपहिरो खसेको थियो । हिमपहिरोले स्थानीय उइनगुलुङ खोला थुनिएपछि बुढीगण्डकी नदीमा भीषण बाढी आएको थियो । सोही बाढीको तीव्र बहावले आरुघाट–२ र ३ लाई जोड्ने सोतीको रणनीतिक फलामे मोटरेबल पुल बगाएको हो । 

पुल बगेसँगै सडक सम्पर्क टुटेकाले आज बिहान ७ः२० बजेसम्म पनि उक्त खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध नै रहेको सम्बन्धित निकायले जनाएको छ । बाटो बन्द हुँदा स्थानीय बासिन्दा तथा माथिल्लो भेग जाने–आउने यात्रुहरूलाई आवागमनमा कठिनाइ भइरहेको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने रोनाल्डोको घोषणा

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । उनले बिहीवार सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सन्देश सार्वजनिक गर्दै पोर्चुगल राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने बताएका हुन् ।

रोनाल्डोले पोर्चुगलका लागि खेल्ने अवसर आफ्नो जीवनकै गौरवपूर्ण अनुभव भएको उल्लेख गर्दै अब प्रतिष्ठित सात नम्बरको जर्सी अर्को पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन् । उनले यो निर्णय भावनात्मक भए पनि आफ्नो अन्तर्राष्ट्रिय यात्राको स्वाभाविक अन्त्य भएको बताएका छन् ।

सन् २००३ अगस्टमा कजाखस्तानविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका रोनाल्डोले त्यसपछि पोर्चुगलको राष्ट्रिय टोलीको नेतृत्वसमेत गरे ।

२३ वर्षको अन्तर्राष्ट्रिय करियरमा उनले २३४ खेल खेल्दै १४६ गोल गरेका छन् । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने दुवै कीर्तिमान रोनाल्डोकै नाममा छन् ।

उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यस्तै, सन् २०१९ मा यूईएफए नेसन्स लिगको उपाधिसमेत जितेको थियो । रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करियरमा युरोपियन च्याम्पियनसिपका ६ र फिफा विश्वकपका ६ संस्करण खेलेका छन् । किशोर उमेरमा राष्ट्रिय टोलीमा प्रवेश गरेका उनी पोर्चुगल फुटबल इतिहासकै सर्वाधिक सफल खेलाडीमध्ये एक बनेका छन् । 

दुई संसदीय समितिका बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत दुई संसदीय समितिका महत्त्वपूर्ण बैठकहरू शुक्रबार बस्ने भएका छन् । 

सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठक र हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक शुक्रबार बिहान बस्ने भएको हो । 

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः३० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू उपर परेका उजुरीबारे उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ । साथै, सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द (काठमाडौँ) र चन्द्रबहादुर सारू (अर्घाखाँची) लाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने सङ्घीय संसद् सचिवालयका कानुन सहसचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिएका छन् । 

यसैगरी, पूर्वाधार विकास समितिको हलमा आजै बिहान ९ः३० बजे बस्ने हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा विपद्पछिको अवस्थाबारे मन्त्रालयहरूसँग छलफल हुनेछ । बैठकमा अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग विपद्पश्चात् गरिएका उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापना कार्यहरूको पछिल्लो प्रगति विवरणबारे जानकारी लिने कार्यसूची तय गरिएको छ ।

बन्द सहरलाई रंगीन बनाउने रहिशको ‘दीपावली सपना’

हिन्दु धर्मावलम्बीको तिहारलाई जीवन्त राख्न ११ वर्षदेखि एक मुस्लिम युवाको एकल प्रयास, आफ्नै लगानीमा सांस्कृतिक उत्सव

सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ 

काठमाडौं । काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आउँदै गरेको यात्रुवाहक बसभित्र महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गर्ने तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत कात्तिक १७ गते काठमाडौंबाट छुटेको सु.प.प्र. ०२–००१ ख १५६३ नम्बरको रात्रि बसमा यात्रा गरिरहेकी महिलामाथि ती युवकहरूले हातपात तथा अभद्र व्यवहार गरेका थिए । घटनापछि पीडितको सूचना तथा उजुरीका आधारमा प्रहरीले खोजी गरी उनीहरूलाई कात्तिक १९ गते नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ९, मटैना बस्ने २१ वर्षीय शमिर बिष्ट, सोही ठाउँका २४ वर्षीय अनिल नाथ र भीमदत्त नगरपालिका वडा नं. ३, तिलकेनी बस्ने २१ वर्षीय जिवन बम रहेका छन् । 

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) टेकबहादुर रावतले जानकारी दिएका छन् ।

आज धनतेरस, सुनचाँदी तथा भाँडाकुँडा खरिद गर्ने परम्परा

काठमाडौं । आज धन त्रयोदशी अर्थात् धनतेरस पर्व मनाइँदैछ । दीपावली अर्थात् तिहारको सुरुवातका रूपमा मनाइने धनतेरसका दिन विशेषगरी सुनचाँदी, भाँडाकुँडा तथा विभिन्न सामग्री खरिद गर्ने परम्परा छ ।

धार्मिक मान्यताअनुसार धनतेरसका दिन नयाँ सामग्री खरिद गरी घरमा भित्र्याउँदा सुख, समृद्धि र धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । यस दिन खरिद गरिएका सामग्री राखेर लक्ष्मी पूजा गरेमा माता लक्ष्मी प्रसन्न भई घरमा धनसम्पत्ति र समृद्धिको बास हुने जनविश्वास छ ।

धनतेरसका अवसरमा श्रद्धालुहरूले पवित्र मन र शुद्ध चित्तले पूजा अर्चना गर्ने तथा लक्ष्मी र गणेशको मूर्ति वा तस्बिर घरमा भित्र्याउने चलन छ । धार्मिक मान्यताअनुसार कमलको फूलमाथि विराजमान भएकी माता लक्ष्मीको मूर्ति स्थापना गर्नु शुभ मानिन्छ । आफ्नो आर्थिक क्षमताअनुसार माटोका मूर्ति वा तस्बिरसमेत खरिद गर्न सकिने विश्वास छ ।

यस दिन विशेषगरी सुन, चाँदी, तामा, पित्तल तथा स्टिलका भाँडाकुँडा खरिद गर्ने प्रचलन छ । भाँडाकुँडा खरिद गर्दा सम्भव भएसम्म चाँदीको कुनै सामग्री पनि किन्नु शुभ मानिन्छ । धनतेरसमा खरिद गरिएका सामग्री घरको पूर्वोत्तर दिशा अर्थात् ईशान कोणमा राख्ने धार्मिक मान्यता छ ।

त्यस्तै, धनतेरसका दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ खरिद गरी घरमा भित्र्याउनु पनि शुभ मानिन्छ । यी सामग्रीलाई लक्ष्मी पूजामा समावेश गरी घरमा राख्दा धनधान्य वृद्धि हुने र मानसिक शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।

धनतेरसलाई धन र समृद्धिकी देवी लक्ष्मी तथा धनका देवता कुबेरको विशेष आराधना गर्ने दिनका रूपमा पनि लिइन्छ । यस दिनबाट दीपावलीको धार्मिक उत्सव सुरु हुने भएकाले घरको सरसफाइ, पूजाआजा र नयाँ सामग्री खरिदमा विशेष ध्यान दिने गरिन्छ ।

लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुरलाई १६ रनले हरायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले अपराजित यात्रा जारी राखेको छ । भर्खरै सम्पन्न खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले हराएको हो ।

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रनमात्रै बनाउन सक्यो ।

हरमीत सिंहले ३३, आदित्य महताले अविजित ३०, सैफ हसनले २८, तृत राज दासले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ लुम्बिनीका डार्सी शर्टले तीन तथा शेर मल्ल र तिलक भण्डारीले दुई-दुई विकेट लिए । रुवेन ट्रम्पलमनले एक सफलता हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन जोड्यो ।

रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २७, दीलिप नाथले २५ तथा आसिफ शेखले २१ रन जोडे । रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन बनाए ।

बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल शुस्लिङले दुई-दुई तथा हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट लिए ।

चार खेलमा तीन जित र एक रद्द भएको खेल गरी ७ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा यथावत छ । जनकपुर भने ५ खेलमा तीन हार र दुई जितको नतिजासहित ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।