काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।

सोमबार बिहान ८ः३० बजेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय तथा संसदीय दलका विभिन्न विषयमा छलफल भइरहेको छ।

बैठकको निर्णय भने केही बेरमा सार्वजनिक हुने छ । विशेषगरी सर्वोच्च अदालतका केही न्यायाधीशहरुले विचौलियासँग साँठगाँठ गरेर न्याय प्रणालीमा असर पारेको र महाअभियोगको प्रस्तावबारे चर्चा चलिरहेकाले कांग्रेसले त्यस विषयमा पनि छलफल गर्ने बताइएको छ । 

आज पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस

काठमाडौं । पत्रकारमाथि हुने हत्या, हिंसा, धम्की तथा आक्रमणका घटनामा दण्डहीनता अन्त्य गर्ने उद्देश्यले आज विश्वभर ‘पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस’ मनाइँदैछ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१३ मा नोभेम्बर २ लाई यो दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। पत्रकारमाथि हुने अपराधको अनुसन्धान, दोषीलाई कानुनी कारबाही तथा पीडितलाई न्याय सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

यस वर्ष सन् २०२६ को दिवस ‘खतरा बदलिँदै छन्, दण्डहीनता कायमै छ’ भन्ने नारासहित मनाइँदैछ। नयाँ प्रविधि र हतियारका कारण विशेषगरी द्वन्द्वग्रस्त क्षेत्रमा पत्रकारमाथि हुने आक्रमणका स्वरूप परिवर्तन हुँदै गएको विषयलाई यस वर्ष प्राथमिकता दिइएको छ।

पत्रकारले सत्यतथ्य सूचना सम्प्रेषण गर्ने क्रममा विभिन्न किसिमका धम्की, आक्रमण, अपहरण, यातना तथा हत्यासम्मका जोखिम सामना गर्नुपरेको छ। यस्ता घटनामा दोषीमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने र स्वतन्त्र पत्रकारितामाथि गम्भीर असर पर्ने गरेको छ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का अनुसार सन् २००६ देखि २०२५ सम्म विश्वभर एक हजार ६०० भन्दा बढी पत्रकारको हत्या भएको छ। तीमध्ये करिब सातमध्ये छ घटनामा अझै न्यायिक निरुपण हुन सकेको छैन।

संयुक्त राष्ट्रसंघले पत्रकारमाथि हुने सबै प्रकारका आक्रमणको निष्पक्ष अनुसन्धान, दोषीलाई कानुनी दायरामा ल्याउन तथा पत्रकारले स्वतन्त्र र सुरक्षित रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारहरूलाई आग्रह गर्दै आएको छ।

इटहरीमा पहिलोपटक नेपथ्यको लाइभ कन्सर्ट, तयारी पूरा

इटहरी । नेपालको चर्चित सांगीतिक ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट आगामी कात्तिक १८ गते सुनसरीको इटहरीमा आयोजना हुने भएको छ। 

इटहरी रङ्गशालामा हुने कन्सर्टको आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ।

कन्सर्टको तयारी, व्यवस्थापन, सुरक्षा तथा कार्यक्रम सञ्चालनसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले आयोजकले पत्रकार सम्मेलन आयोजना गरेको हो।

पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको प्रवद्र्धनमा हुन लागेको कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृत गुरुङसहित ब्याण्डका सदस्यले प्रस्तुति दिनेछन्।

इटहरीमा पहिलोपटक हुन लागेको नेपथ्यको लाइभ कन्सर्टले स्थानीय संगीतप्रेमीमा उत्साह थपेको छ। कन्सर्टमा ब्याण्डका चर्चित गीतहरू प्रत्यक्ष सुन्न पाइने भएपछि दर्शकहरू उत्सुक बनेका छन्।

नेपथ्यले ‘रेशम’, ‘तालको पानी’, ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’ र ‘भेडाको ऊनजस्तो’ लगायत आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछ। ब्याण्डका चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै अविस्मरणीय सांगीतिक अनुभव दिलाउने लक्ष्य आयोजकले राखेको छ।

कार्यक्रमलाई सुरक्षित, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न दर्शकको सहज प्रवेश, सुरक्षा व्यवस्था, मञ्च तथा प्राविधिक व्यवस्थापनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार कन्सर्टका दिन अपराह्न ४ बजेदेखि दर्शकका लागि प्रवेशद्वार खुला गरिनेछ भने साँझ ६ बजेदेखि नेपथ्यको सांगीतिक प्रस्तुति सुरु हुनेछ।

इटहरीमा पहिलोपटक हुन लागेको नेपथ्यको प्रत्यक्ष प्रस्तुतिले पूर्वी नेपालको सांगीतिक माहोल थप उत्साहित बनाउने अपेक्षा गरिएको छ। लामो समयदेखि ब्याण्डको प्रत्यक्ष प्रस्तुति हेर्न चाहने स्थानीय संगीतप्रेमीका लागि यो कन्सर्ट विशेष अवसर बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

अनुमतिबिनै डोल्पा पुगेका ६ भारतीय पर्यटकको उद्धारमा ढिलाई

सुर्खेत । आवश्यक प्रशासनिक अनुमति नलिई र पर्यटकका लागि निर्धारित नियमित पदमार्गसमेत छाडेर उपल्लो डोल्पा पुगेका छ जना भारतीय पर्यटक हिमपातका कारण हिमाली क्षेत्रमा फसेका छन् । शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित दानिगढ क्षेत्रमा फसेका उनीहरूको उद्धार हुन सकेको छैन । उनीहरू फसेको जानकारी जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमा प्राप्त भएको थियो ।

दुई महिला र चार पुरुषसहितका भारतीय पर्यटक डोल्पोबुद्ध गाउँपालिकाको धोबाट शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालतर्फ फर्कने क्रममा हिमपातमा परेका हुन् । शे–फोक्सुण्डो गाउँपालिका–४ को सल्दाङ र वडा नम्बर ८ बीचको हिमाली क्षेत्रमा पर्ने दानिगढमा बाक्लो हिउँ जमेर आवतजावत अवरुद्ध भएपछि उनीहरू त्यहाँ रोकिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार फसेका पर्यटकमा मौमिता हल्दार, पियाली कोले, जजल त्रिवेद कुमार, आदित्य सिंह, दिपलीना बिस्वास र राजेश दे रहेका छन् ।

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भए पनि सुर्खेतस्थित सेनाको हवाई बेसमा रहेको हेलिकप्टरमा प्राविधिक समस्या आएपछि उद्धारमा ढिलाइ भएको हो । निजी क्षेत्रका हेलिकप्टरसमेत सुर्खेतमा उपलब्ध नहुँदा तत्काल वैकल्पिक व्यवस्था गर्न कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताइन् ।

मौसमको चेतावनी बेवास्ता

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार भारतीय पर्यटकहरू आवश्यक प्रशासनिक अनुमति नलिई डोल्पा पुगेका थिए । उनीहरूले पर्यटकका लागि निर्धारित नियमित पदमार्ग प्रयोग नगरी वैकल्पिक बाटो हुँदै हिमाली क्षेत्रमा यात्रा गरेका थिए ।

खराब मौसम र भारी हिमपातको जोखिम रहेकाले हिमाली क्षेत्रमा नजान सुझाव दिइएको अवस्थामा पनि उनीहरूले यात्रा अघि बढाएका थिए । स्थानीयस्तरबाट समेत मौसम प्रतिकूल रहेकाले जोखिमपूर्ण बाटो प्रयोग नगर्न सुझाव दिइएको थियो । तर, उक्त सुझावलाई बेवास्ता गर्दै यात्रा गर्दा उनीहरू हिमपातमा फसेको प्रशासनको भनाइ छ ।

नियमित पदमार्गभन्दा फरक बाटो प्रयोग गरेर यात्रा गर्दा पर्यटकको अवस्थाबारे जानकारी लिन र आपत्कालीन उद्धारको समन्वय गर्न थप कठिनाइ हुने गरेको छ । विशेषगरी सञ्चार सम्पर्क कमजोर रहेको उपल्लो डोल्पाका हिमाली क्षेत्रमा भारी हिमपातपछि पदमार्ग अवरुद्ध हुँदा उद्धार थप चुनौतीपूर्ण बन्ने गरेको छ ।

२४४ पर्यटकमध्ये छ जना भारतीय हिमपातमा

जिल्ला प्रशासन कार्यालयको विवरणअनुसार उपल्लो डोल्पाका विभिन्न पर्यटकीय क्षेत्रमा नेपाली १४९, सार्क मुलुकका ४४ र अन्य विदेशी ५१ गरी २४४ जना पर्यटक रहेका थिए । हिमपातका कारण फसेका छ जना भारतीय पर्यटक पनि यही संख्याभित्रका हुन् ।

उपल्लो डोल्पा प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, बौद्ध संस्कृति र शे–फोक्सुण्डो तालका कारण विदेशी पर्यटकको आकर्षणको केन्द्र हो । तर, पर्यटकको आगमनसँगै उनीहरूको सुरक्षा, पदमार्गको निगरानी र आपत्कालीन उद्धारको तयारी पनि उत्तिकै महत्त्वपूर्ण देखिएको छ ।

दुर्गम भूगोलका कारण उपल्लो डोल्पामा भारी हिमपात हुँदा पदमार्ग अवरुद्ध हुने र सञ्चार सम्पर्कसमेत विच्छेद हुने गर्छ । यस्तो अवस्थामा उद्धारको मुख्य विकल्प हेलिकप्टर हुने भए पनि आवश्यक परेको समयमा हेलिकप्टर उपलब्ध नहुँदा पर्यटकको सुरक्षामा चुनौती थपिएको छ ।

एनपीएलमा आज काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम र चितवनबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदै छ । 

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । 

पहिलो खेल दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

दोस्रो खेल खेल्न लागेको काठमाडौँ पहिलो जितको खोजीमा छ भने कर्णाली याक्सले भने अहिलेसम्म दुई खेलमा विजयी भइसकेको छ । 

दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन्।

तीन खेल खेलिसकेको सुदूरपश्चिम रोयल्सले एक खेलमा मात्र जितेको छ। 

यस्तै चितवन राइनोजले एक खेलमा जित निकालेको छ र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन परिणाम चाहिन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारको मूल्यमा सुशासन कायम हुन नसक्ने बताएका छन् ।

नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति थापाले पछिल्लो समय सरकारले गरेका केही निर्णय र देशमा भएका घटनाले गम्भीर प्रश्न जन्माएको बताए । 

उनले सरकारलाई जवाफदेही बनाउन र लोकतान्त्रिक मूल्य तथा मान्यताको संरक्षण गर्न कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।

उनले भने, ‘ सरकारले गरेका पछिल्ला निर्णय र देशमा घटेका घटनाले गम्भीर प्रश्न जन्माएका छन् । लोकतन्त्र, नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रताको विषयमा सरकारले सीमा नाघ्छ भने नेपाली कांग्रेस चुप लागेर बस्दैन। हामी सरकारलाई जवाफदेही बनाउन र लोकतान्त्रिक मूल्य तथा मान्यताको संरक्षणका लागि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ ।’

थापाले सरकारले सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरेको घटनालाई गम्भीर रूपमा लिएको बताए । उक्त घटनाले शाही शासनकालमा सञ्चारगृहमा सुरक्षाकर्मी प्रवेश गराइएको घटनाको स्मरण गराएको उनको भनाइ थियो ।

पत्रकार पक्राउ प्रकरणमा प्रहरीको फरक–फरक वक्तव्य र प्रधानमन्त्रीको सचिवालयबाट आएका धारणाले थप प्रश्न जन्माएको उल्लेख गर्दै उनले घटनालाई सामान्य रूपमा लिएर टुंग्याउन नहुने बताए । यस प्रकरणमा कसको आदेशमा पक्राउ गरिएको हो, कानुनको प्रयोग कसरी भयो र त्यसका लागि जिम्मेवार को हो भन्ने विषयमा निष्पक्ष छानबिन गरी परिणाम देखाउनुपर्ने उनको माग छ ।

‘हामीलाई वक्तव्य होइन, परिणाम चाहिएको छ,’ थापाले भने, ‘किन भयो, कसले ग¥यो, कानुनको कसरी प्रयोग भयो र दोषी को हो भन्ने कुराको जवाफसहित परिणाम चाहिन्छ ।’

उनले सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्ने भन्दै सरकारमा रहेका व्यक्तिको इच्छालाई नै कानुन ठान्ने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक हुने बताए । राज्यका निकायलाई निजी आदेश पालना गर्ने संस्थाका रूपमा बुझ्ने प्रवृत्तिले शक्तिको स्वेच्छाचारी प्रयोगलाई प्रश्रय दिने उनको टिप्पणी थियो ।

थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारका गलत कामप्रति असहमति जनाउनु सकारात्मक भए पनि सरकारका राम्रा कामको जस लिने र गलत कामको जिम्मेवारीबाट पन्छिने प्रवृत्ति स्वीकार्य नहुने बताए । सरकारको नेतृत्व गर्ने दलले आफ्ना सरकारका कामको राजनीतिक जिम्मेवारी पनि लिनुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्छ, सरकारमा बसेका व्यक्तिको इच्छा नै कानुन हो भन्ने सोच लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन । राज्यका निकाय कसैका निजी आदेश पालना गर्ने संस्था होइनन् । अर्को कुरा, सरकारले गरेका राम्रा कामको जस लिने तर गलत कामको जिम्मेवारीबाट पन्छिने छुट कुनै पनि दललाई हुँदैन। सरकारको नेतृत्व गर्ने दलले सरकारका कामको राजनीतिक जिम्मेवारी लिनुपर्छ ।’

यसैगरी, सरकारी कर्मचारीलाई प्रहरी लगाएर कार्यस्थलबाटै पक्राउ गरी प्रधानमन्त्री कार्यालयमा पु¥याइएको विषयमा पनि उनले प्रश्न उठाए । 

कर्मचारीले गल्ती गरे कानुनअनुसार सम्बन्धित निकायबाट अनुसन्धान र कारबाही हुनुपर्ने उल्लेख गर्दै उनले राज्यका स्थापित संस्थागत प्रक्रियालाई मिचेर काम गर्नु उचित नभएको बताए ।

कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग आज बिदाइ भेटघाट गरेका छन् ।

२०७८ साल कात्तिक २५ गते कार्यभार सम्हाल्नुभएका प्रदेश प्रमुख खापुङ यही २४ गते पाँचवर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् ।

बिदाइ भेटघाटमा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा उनले पु¥याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे । भेटमा प्रदेशको विकास र विविध पक्षमा कुराकानीसमेत भएको थियो ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा सीमित स्रोतसाधनका बीच विकास र स्थिरतालाई अगाडि बढाउने प्रयत्न भइरहेको जानकारी दिँदै संघीयतापछि पाँचवर्षे कार्यकाल पूरा गरेर बिदा हुन लाग्नुभएका प्रदेश प्रमुख खापुङप्रति हार्दिक आभार व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले अभिभावकत्व प्रदान गर्दै संवैधानिक तथा कानुनी व्यवस्थालाई सुव्यवस्थित बनाउन खेलेको भूमिकाप्रति पनि आभार व्यक्त गरे ।

भेटघाटमा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ । एउटा प्रदेशमा पाँच वर्ष बिताएपछि त्यही प्रदेशमा पुनः प्रदेश प्रमुख रहन नपाइने संवैधानिक व्यवस्था छ ।

न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोप: ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन 

काठमाडौँ । न्यायपालिकामा भइरहेको भनिएको ‘सेटिङ’ र भ्रष्टाचारविरुद्ध स्वतन्त्र नागरिक अभियानले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । 

हालै चर्चामा रहेको इनाम सापकोटा प्रकरणलाई आधार बनाउँदै अभियानका अगुवाहरूले न्यायालयको स्वच्छता र पारदर्शिताका लागि उच्चस्तरीय छानबिन समितिको माग गरेका हुन् । प्रदर्शनमा सहभागी पूर्वराजदूत डा. निर्मल विश्वकर्माले न्यायालयभित्र सेटिङको माध्यमबाट न्याय किनबेच भइरहेको भन्दै गम्भीर आशंका व्यक्त गरे ।

आन्दोलनरत समूहले न्यायाधीशहरूको कार्यशैलीमाथि प्रश्न उठाउँदै भ्रष्टाचारमा संलग्न न्यायका अधिकारीहरूलाई तत्काल छानबिनको दायरामा ल्याउन माग गरेका छन् । उनीहरूले न्यायालयलाई स्वच्छ, स्वतन्त्र र जनउत्तरदायी बनाउनका लागि अविलम्ब स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले आम जनताले सहज र निष्पक्ष न्याय पाउने वातावरण नबनेसम्म आफूहरूको अभियान जारी रहने चेतावनी दिएका छन् । 

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

काठमाडौँ । जनकपुरधाम-ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

मधेस प्रदेशमा पहिलो पटक निर्माण गरिएका यी पुल पैदल यात्रुको आवागमन सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामले जनाएको छ ।

सडकमा पैदल यात्रुको चाप बढी हुने महिला विकास चोक र सखुवा चोकमा दुई तथा लक्ष्मीनिया गाउँपालिकामा एउटा गरी तीन वटा आकाशे पुल निर्माणका लागि करिब रु १० करोड ५० लाख लागत अनुमान गरिएको थियो । तीमध्ये महेन्द्रनगरका दुई पुल निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर दरोगाप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार लक्ष्मीनिया गाउँपालिकामा निर्माणाधीन तेस्रो पुलको काम पनि तीव्र गतिमा भइरहेको छ । उक्त पुल मङ्सिर मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

निर्माण लागतअनुसार महिला विकास चोकको पुलका लागि रु तीन करोड ३५ लाख, सखुवा चोकको पुलका लागि रु तीन करोड ५७ लाख र लक्ष्मीनियाको पुलका लागि रु. तीन करोड ४२ लाख विनियोजन गरिएको छ । तीनवटै पुलको लागत मूल्य अभिवृद्धि कर (भ्याट) सहितको हो । पुल निर्माणको जिम्मा दुई वटा निर्माण कम्पनीले पाएका छन् ।

सडक डिभिजन कार्यालयका साइट इन्जिनियर उज्ज्वल झाका अनुसार प्रत्येक पुलको उचाइ पाँच दशमलव छ मिटर, लम्बाइ २९ दशमलव चार मिटर र चौडाइ तीन मिटर छ । पुल सञ्चालनमा आएपछि पैदल यात्रुले व्यस्त सडकमा सवारीसाधनको जोखिम मोलेर सडक पार गर्नुपर्ने अवस्था अन्त्य हुने उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले पुल सञ्चालनमा आएपछि सडक दुर्घटनाको जोखिम घट्ने बताए । पूर्व–पश्चिम राजमार्ग हुँदै जनकपुरधाम प्रवेश गर्ने प्रमुख सडक भएकाले यस क्षेत्रमा दैनिक सयौँ पैदल यात्रुको आवागमन हुने गरेको उनले जानकारी दिए ।

‘देश थप अस्थिरता थेग्न सक्ने अवस्थामा छैन’ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले राजनीतिक दलहरूभित्र बढ्दो अन्तरसंघर्ष र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गरेका हुन्।

उनले सत्तारूढ तथा प्रतिपक्षी दलहरूभित्र चर्किँदो अन्तरसंघर्षसँगै न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अंगहरूको अवस्थालाई चिन्ताजनक रूपमा चित्रण गरेका छन्। बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा यस्ता समस्याले मुलुकलाई थप संकटतर्फ धकेल्न सक्ने उनको भनाइ छ।

भट्टराईले अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, प्राकृतिक प्रकोपको बढ्दो भार र युवाहरूको विदेश पलायनलाई पनि मुलुकका गम्भीर चुनौतीका रूपमा औँल्याएका छन्। सार्वजनिक सञ्चार क्षेत्र तथा नागरिक तहमा बढ्दो निराशाले समेत संकटको संकेत गरिरहेको उनको विश्लेषण छ।

राजनीतिक अस्थिरता र राज्यका निकायहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनले अब मुलुकले थप उथलपुथल थेग्न नसक्ने बताएका छन्।

‘अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दै सक्दैन,’ भट्टराईले लेखेका छन्।

उनले विद्यमान परिस्थितिप्रति सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्दै आ-आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

‘सबै आ-आफ्नो क्षेत्रबाट गम्भीर बनौँ। सक्छौँ, सकारात्मक योगदान गरौँ ! सक्दैनौँ, नकारात्मक काम नगरौँ,’ उनले भनेका छन्।