काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो घोषणा गरेका हुन् । धाँधलीमा संलग्न व्यक्तिहरू पक्राउ परी दोषी ठहरिएपछि मात्र पुरस्कार दिइने उनले उल्लेख गरेका छन् ।

‘विगतका निर्वाचन वा आगामी सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधलीबारे सूचना दिने जोकोहीलाई धाँधली गराउने व्यक्ति पक्राउ परी दोषी ठहरिएपछि १० लाख डलर दिइनेछ,’ ट्रम्पले लेखेका छन् ।

अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनलाई संसद्का दुवै सदनमा नियन्त्रण कायम गर्ने प्रतिस्पर्धाका रूपमा हेरिएको छ । यस निर्वाचनको नतिजाले ट्रम्प प्रशासनको विधायिकी एजेन्डा र वासिङ्टनको राजनीतिक शक्ति सन्तुलनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ ।

अमेरिकामा राष्ट्रपतिको चारवर्षे कार्यकालको मध्यबिन्दुमा हुने मध्यावधि निर्वाचन प्रत्येक दुई वर्षमा हुने नियमित संसदीय निर्वाचनको हिस्सा हो । यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका करिब एकतिहाइ सिटका लागि मतदान हुन्छ । यसबाहेक देशभरका विभिन्न राज्य तथा स्थानीय तहमा पनि निर्वाचन हुन्छ । मध्यावधि निर्वाचनलाई राष्ट्रपतिको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा समेत लिइन्छ ।

संसद्का दुवै सदनमा राष्ट्रपतिको दलको पकड कमजोर भएमा सरकारलाई आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कठिन हुन सक्छ । ट्रम्प प्रशासनले आर्थिक चुनौती र घट्दो लोकप्रियताबीच निर्वाचनको सामना गरिरहेको छ । द वाल स्ट्रिट जर्नलले सेप्टेम्बरमा प्रकाशित गरेको सर्वेक्षणअनुसार ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा झरेको थियो । उक्त प्रकाशनले सन् १९९० देखि मध्यावधि निर्वाचनअघि राष्ट्रपतिहरूको अनुमोदन दरबारे गरेको सर्वेक्षणमध्ये यो न्यून स्तर भएको समाचारमा उल्लेख छ । 

एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रूपमा लिएको छु : मन्त्री पोखरेल

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् ।

एनपीएल तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

उद्घाटनमा देखिएको दर्शकको उत्साहले नेपाली खेलकुदको उज्ज्वल भविष्य दर्शाएको उल्लेख गर्दै उनले भने, ‘खेल प्रेमीहरूको अपार समर्थनले खेल क्षेत्रको बढ्दो सम्भावना र भविष्यप्रति ठुलो आशा जगाएको छ । यो आकर्षणलाई नेपाली खेल क्षेत्रको विकास र अन्तर्राष्ट्रिय पहिचानसँग जोड्ने बलियो आधारका रूपमा लिएको छु ।’

प्रतियोगिताका लागि नेपाल आएका विदेशी खेलाडी, कमेन्टेटर तथा अतिथिहरूलाई स्वागत गर्दै मन्त्री पोखरेलले उनीहरूले नेपाली क्रिकेटका साथै यहाँको संस्कृति, प्राकृतिक सुन्दरता र आतिथ्यताको अविस्मरणीय अनुभव लैजाने अपेक्षा रहेको बताए ।

साथै, उनले प्रतियोगितामा सहभागी सम्पूर्ण टोली तथा खेलाडीहरूलाई उत्कृष्ट र रोमाञ्चक प्रदर्शनका लागि शुभकामना समेत दिए ।

मेलबर्नमा १६औँ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप हुँदै

काठमाडौं । १६औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी-२०२६) आगामी नोभेम्बर २८र२९ मा मेलबर्नमा आयोजना हुने भएको छ ।

आइओएफटिसी अस्ट्रेलिया लिमिटेडको आयोजनामा हुने प्रतियोगितामा विभिन्न देशका खेलाडी, प्रशिक्षक तथा तेक्वान्दो क्लबहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

सन् २००० मा नेपालको काठमाडौंमा ग्रान्डमास्टर दिवाकर ‘डान’ महर्जनको पहलमा सुरु भएको आइओएफटिसीले तेक्वान्दो खेलमार्फत अन्तर्राष्ट्रिय मित्रता, खेल भावना र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्दै आएको छ ।

सन् २०२६ को प्रतियोगिता यस अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको १६औँ संस्करण हो ।

प्रतियोगिताका अध्यक्ष महादेव धानुक नेपालका पूर्व तेक्वान्दो खेलाडी, एभरेस्ट तेक्वान्दो स्कुल भिक्टोरियाका संस्थापक, निर्देशक तथा मुख्य प्रशिक्षक हुन् ।

उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरियाका राज्य संयोजक समेत हुन्।

अध्यक्ष धानुकले प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने र विभिन्न देशका खेलाडीबिच मैत्री सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्ने बताए ।

उनले प्रतियोगितालाई सफल बनाउन खेलाडी, क्लब, प्रशिक्षक, अभिभावक, स्वयंसेवक तथा प्रायोजकहरूलाई सहकार्य गर्न आह्वान गरेका छन् ।

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनको छेन्दुमा लोकार्पण गरिएको छ । 

यहि अक्टोबर १६ मा तियान्फु पुस्तक प्रदर्शनीका क्रममा लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसङ्ग्रह’, भीष्म उप्रेतीको ‘हिमालय, शेर्पा र यती’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, सरुभक्तको ‘चुली’, डा. राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’ र सुलोचनाको ‘जीवनबाट जीवन सिकौँ’ चिनियाँ भाषामा सार्वजनिक गरिएको हो ।

नेपाल सरकार र चीन सरकारबिच सन् २०२३ सेप्टेम्बर २५ मा भएको द्विपक्षीय समझदारीअनुसार नेपालका २५ पुस्तक चिनियाँ भाषामा र चीनका २५ पुस्तक नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्ने परियोजना अघि बढाइएको थियो ।

उक्त परियोजनाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पु¥याउनुका साथै नेपाली सिर्जना, संस्कृति र जीवनदर्शनको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

सरकारको यस पहलले नेपाली पुस्तकको अन्तर्राष्ट्रिय पहुँच विस्तार, साहित्यिक आदानप्रदान र नेपाल–चीन सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन योगदान पु¥याउने छ ।

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ।

विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ भने चितवनलाई कुशल मल्लले सम्हालेका छन्। 

त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । जनकपुर हर्मित सिंहको कप्तानीमा रहेको छ भने कर्णाली सोमपाल कामीको नेतृत्वमा मैदान उत्रनेछ।

प्रतियोगिताको पहिलो दिन हिजो लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो।

कात्तिक ९ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । फाइनल भिडन्त मङ्सिर ५ गते हुनेछ ।

एनपीएलमा लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साबिक विजेता लुम्बिनी लायन्सले सानदार विजयी सुरुवात गरेको छ। सोमबार त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि रक्षा अभियानको सुखद सुरुवात गरेको हो।

सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीको सहज जितमा डार्सी शर्टले आक्रामक ब्याटिङ गर्दै १८ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ४० रन बनाए। आसिफ शेखले ३२ रनको योगदान दिए।

सुदूरपश्चिमका लागि बलिङतर्फ अनिल खरेलले दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। तर, न्यून योगफलका कारण सुदूरपश्चिमले लुम्बिनीलाई दबाबमा राख्न सकेन।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो। लुम्बिनीका बलरसामु सुदूरपश्चिमको शीर्षक्रम टिक्न नसक्दा टोलीले प्रतिस्पर्धात्मक योगफल बनाउन सकेन।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। अनिल खरेल १५ रनमा अविजित रहँदा सैफ अली जैबले १३ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमको ब्याटिङ धराशायी बनाउन लुम्बिनीका किशोर महतोले सर्वाधिक चार विकेट लिए। शेर मल्लले तीन विकेट हात पार्दा शेड्ली भान शाल्कविक, तिलकराज भण्डारी र कप्तान रोहित पौडेलले समान एक–एक विकेट लिए।

लुम्बिनीले बलिङमा सुदूरपश्चिमलाई सस्तैमा समेट्नुका साथै ब्याटिङमा पनि आक्रामक प्रदर्शन गर्दै ६१ बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो।

उद्घाटन खेलमै बलिङ र ब्याटिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेको लुम्बिनीले प्रतियोगितामा आफ्नो उपाधि रक्षा अभियानलाई बलियो सुरुवात दिएको छ।

अनावश्यक मेडिकल परीक्षणमा बीमा बोर्डको कडाइ, तर बिलमा के तिर्ने भन्ने अन्योल कायमै

काठमाडौं । बिरामी हुँदा स्वास्थ्य बीमाले परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने अपेक्षा गरिन्छ। तर अनावश्यक स्वास्थ्य परीक्षण, उपचारमा ढिलाइ तथा बीमाले समेट्ने सेवाका लागि समेत बिरामीले आफ्नै खल्तीबाट रकम तिर्नुपर्ने अवस्थासम्बन्धी प्रश्नहरूले नेपालको स्वास्थ्य बीमा प्रणालीप्रति चिन्ता बढाइरहेका छन्।

आश्विन ३१ गते शनिबार स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा सहभागी स्वास्थ्य संस्थाहरूलाई अनावश्यक स्वास्थ्य परीक्षण नगर्न, सेवा प्रवाहमा ढिलाइ नगर्न तथा बीमाको सुविधाभित्र पर्ने औषधि वा सेवाका लागि बिरामीलाई अनिवार्य रूपमा नगद तिर्न बाध्य नपार्न निर्देशन दिएको थियो।

उक्त निर्देशनमा भिटामिन डी, भिटामिन बी१२ तथा थाइराइडसम्बन्धी परीक्षणजस्ता जाँचहरू पनि उल्लेख गरिएको थियो। बिरामीको लक्षण, स्वास्थ्य अवस्था र चिकित्सकीय आवश्यकताका आधारमा औचित्य पुष्टि नभएका परीक्षणको दाबी भुक्तानी अस्वीकार गरिने बोर्डले जनाएको थियो।

यसले बिरामी र स्वास्थ्य सेवा प्रदायक दुवैका लागि एउटा महत्त्वपूर्ण प्रश्न खडा गरेको छ: अनावश्यक परीक्षणलाई निरुत्साहित गर्दै तथा परिवारलाई अतिरिक्त आर्थिक भारबाट जोगाउँदै बीमित नागरिकले आवश्यक उपचार पाउने व्यवस्था कसरी सुनिश्चित गर्ने?

यो विषय अस्पतालले कति शुल्क लिन्छ भन्ने प्रश्नमा मात्र सीमित छैन। बिरामीले कुन सेवा बीमाले समेट्छ, चिकित्सकले कुनै परीक्षण किन सिफारिस गरेका हुन् र कुन अवस्थामा आफूले रकम तिर्नुपर्ने हुन सक्छ भन्ने कुरा स्पष्ट रूपमा बुझ्न पाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ।

जब मेडिकल परीक्षण जवाफदेहिताको विषय बन्छ

आधुनिक चिकित्सामा रोग पहिचान गर्न, त्यसको गम्भीरता मूल्याङ्कन गर्न र उपयुक्त उपचार निर्धारण गर्न प्रयोगशाला परीक्षण, इमेजिङ तथा अन्य निदानात्मक जाँचहरू आवश्यक हुन्छन्।

तर धेरै परीक्षण गराउँदैमा सधैँ राम्रो उपचार हुन्छ भन्ने हुँदैन।

एउटा बिरामीका लागि आवश्यक परीक्षण अर्को बिरामीका लागि अनावश्यक हुन सक्छ। यो कुरा बिरामीका लक्षण, विगतको स्वास्थ्य इतिहास, शारीरिक परीक्षण तथा चिकित्सकको मूल्याङ्कनमा निर्भर हुन्छ। त्यसैले परीक्षणको निर्णय चिकित्सकीय आवश्यकताका आधारमा हुनुपर्छ, केवल बिरामीसँग बीमा छ वा अस्पतालले कुनै निश्चित परीक्षण प्याकेज उपलब्ध गराउँछ भन्ने आधारमा होइन।

स्वास्थ्य बीमा बोर्डको पछिल्लो निर्देशनले यही भिन्नतालाई महत्त्व दिएको छ। बीमा कार्यक्रमअन्तर्गत परीक्षणको खर्च दाबी गर्ने स्वास्थ्य संस्थाले भिटामिन डी, भिटामिन बी१२ तथा थाइराइडसम्बन्धी परीक्षणको चिकित्सकीय औचित्य पुष्टि गर्नुपर्ने बोर्डको निर्देशनको आशय छ।

यसलाई यी परीक्षणमाथिको पूर्ण प्रतिबन्धका रूपमा बुझ्नु हुँदैन। बिरामीको स्वास्थ्य अवस्था र चिकित्सकीय आवश्यकताअनुसार यस्ता परीक्षण उपयुक्त हुन सक्छन्।

बरु, निर्देशनले परीक्षणको औचित्य र आवश्यक अभिलेखमा जोड दिएको छ। स्वास्थ्य संस्थाले परीक्षण किन आवश्यक छ भन्ने कुरा स्पष्ट गर्न तथा बीमा भुक्तानीका लागि पेस गरिने दाबीको उचित समीक्षा सुनिश्चित गर्नुपर्ने हुन्छ।

बिरामीका लागि यो भिन्नता महत्त्वपूर्ण छ। बीमाले पर्याप्त औचित्य पुष्टि नभएको परीक्षणको खर्च भुक्तानी गर्न अस्वीकार गर्दैमा चिकित्सकले अनुचित व्यवहार गरेको प्रमाणित हुँदैन। त्यस्तै, बीमा उपलब्ध छ भन्दैमा ठोस चिकित्सकीय आधारबिना परीक्षण गराउनु पनि उचित हुँदैन।

बिरामीको बिलमा यी नियमको अर्थ के हुन्छ?

स्वास्थ्य बीमा बोर्डले बीमाको लागू सुविधा प्याकेजभित्र पर्ने औषधि, स्वास्थ्य सामग्री वा सेवाका लागि बीमित बिरामीलाई नगद तिर्न बाध्य नपार्न पनि सहभागी स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।

यो बिरामीको हित संरक्षण गर्ने महत्त्वपूर्ण व्यवस्था हो। तर यसको अर्थ स्वास्थ्य बीमाअन्तर्गत सबै औषधि, परीक्षण वा अस्पतालका सेवा स्वतः निःशुल्क हुन्छन् भन्ने होइन।

कुन सेवा समेटिन्छ भन्ने कुरा लागू सुविधा प्याकेज, बिरामीको बीमा योग्यता, कार्यक्रमका नियम तथा सेवाको प्रकृतिमा निर्भर हुन्छ। नेपालको स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानीसम्बन्धी व्यवस्था पनि छ, जसअनुसार लागू हुने सेवामा योग्य बिरामीले निश्चित अनुपातमा खर्च व्यहोर्नुपर्ने हुन सक्छ। यसमा तोकिएका समूह तथा सेवाका लागि छुट र अन्य सर्तहरू लागू हुन सक्छन्।

बोर्डको प्रकाशित मार्गदर्शनअनुसार लागू हुने सेवामा सरकारी सेवा प्रदायक संस्थामा १० प्रतिशत र अन्य सहभागी सेवा प्रदायक संस्थामा २० प्रतिशत सहभुक्तानीको व्यवस्था उल्लेख गरिएको छ। यद्यपि, बिरामीलाई शुल्क लगाउनुअघि हाल लागू रहेको कार्यविधि, छुटसम्बन्धी प्रावधान तथा सम्बन्धित सेवाका नियम पुष्टि गर्न आवश्यक छ।

यो भिन्नता बुझ्नु अत्यन्त महत्त्वपूर्ण छ। नियमअनुसार तिर्नुपर्ने सहभुक्तानी र बीमाले समेट्ने सेवाका लागि अस्पतालले बिरामीलाई अनुचित रूपमा नगद तिर्न लगाउनु एउटै कुरा होइन।

उपचार भइरहेका बेला अचानक थप शुल्क तिर्नुपर्ने अवस्था आएमा परिवारका लागि त्यसलाई चुनौती दिन सजिलो हुँदैन। कुनै शुल्क नियमअनुसार लाग्ने हो कि होइन, सम्बन्धित सेवा बीमामा समेटिएको छ कि छैन वा अस्पतालले बीमामार्फत उपलब्ध गराउनुपर्ने हो भन्ने कुरा बिरामीलाई स्पष्ट नहुन सक्छ।

त्यसैले स्पष्ट विवरणसहितको बिल र बीमा सुविधाबारे सहज भाषामा दिइने जानकारी पनि नियम जत्तिकै महत्त्वपूर्ण छन्।

उपचारमा ढिलाइ र विभेद पनि समस्याकै हिस्सा

स्वास्थ्य बीमा बोर्डको अक्टोबर महिनाको निर्देशन अनावश्यक परीक्षणमा मात्र सीमित थिएन। बोर्डले सहभागी स्वास्थ्य संस्थाहरूलाई सेवा प्रवाहमा ढिलाइ नगर्न, विभेदपूर्ण व्यवहार नगर्न तथा बीमित बिरामीको उपचारमा अवरोध सिर्जना गर्ने कोटा प्रणाली लागू नगर्न पनि सचेत गराएको थियो।

यी निर्देशनले एउटा व्यापक समस्या देखाउँछन्: बिरामीले बीमा सुविधाको वास्तविक उपयोग गर्न पाएनन् भने बीमा हुनुको अर्थ सीमित हुन्छ।

परिवारले बीमा कार्यक्रममा नाम दर्ता गराएको र आवश्यक प्रक्रिया पूरा गरेको हुन सक्छ। तर उपचारका लागि लामो समय कुर्नुपर्ने, औषधि उपलब्ध नहुने वा बीमाबाट कुन सेवा लिन सकिन्छ भन्ने जानकारी स्वास्थ्य संस्थाका कर्मचारीले स्पष्ट रूपमा नदिने अवस्था आएमा बिरामीले कठिनाइ भोग्न सक्छन्।

दीर्घकालीन रोगका कारण नियमित औषधि सेवन गर्नुपर्ने बिरामीसम्बन्धी व्यवस्थालाई पनि बोर्डले पुनः जोड दिएको छ। लागू आवश्यकताअनुसार सहभागी स्वास्थ्य संस्थाहरूले बोर्डको यसअघिको निर्णय र सम्बन्धित नियमको अधीनमा रही एकपटकमा तीन महिनासम्मको औषधि उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने निर्देशन दिइएको छ।

मधुमेह, उच्च रक्तचाप तथा अन्य दीर्घकालीन रोग भएका व्यक्तिका लागि नियमित औषधिको निरन्तर उपलब्धता जटिलता रोक्न महत्त्वपूर्ण हुन्छ। नियमित औषधि लिन पटक–पटक अस्पताल जानुपर्दा विशेषगरी ग्रामीण क्षेत्रबाट आउने बिरामीले यातायात खर्च र कामबाट छुट्नुपर्ने समस्यासमेत भोग्न सक्छन्।

यी प्रावधान देशभरका सहभागी अस्पताल र जिल्लामा समान रूपमा कार्यान्वयन भइरहेका छन् कि छैनन् भन्ने विषयमा थप अनुगमन र अनुसन्धान आवश्यक छ।

नियम कार्यान्वयन भएको छ कि छैन भनेर कसले निगरानी गर्छ?

निर्देशन जारी गर्नु पहिलो चरण मात्र हो। प्रभावकारी निगरानीका लागि नियमित अनुगमन, पारदर्शी उजुरी प्रक्रिया र उल्लङ्घन प्रमाणित भएमा समयमै कारबाही आवश्यक हुन्छ।

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थाहरूलाई बीमा दाबी भुक्तानीका लागि पेस गर्नुअघि आफ्ना आन्तरिक बीमा दाबी समीक्षा समितिमार्फत समीक्षा तथा प्रमाणीकरण गर्न निर्देशन दिएको छ। दाबीमा आवश्यक अभिलेख, उपचारको विवरण र परीक्षण तथा सेवाको चिकित्सकीय औचित्य समावेश हुनुपर्छ।

यस्तो समीक्षाले पर्याप्त आधार नभएका दाबी पहिचान गर्न मद्दत गर्न सक्छ। तर आन्तरिक समीक्षाले मात्र बिरामीले भोगेका सबै समस्याको जवाफ दिन सक्दैन। अनुचित शुल्क, उपचारमा अस्पष्ट ढिलाइ वा बीमाले समेट्ने सेवा नपाएको अवस्थाबारे उजुरी गर्न बिरामीले व्यावहारिक र सहज माध्यम पनि पाउनुपर्छ।

स्वास्थ्य बीमा बोर्डको प्रकाशित प्रायः सोधिने प्रश्नहरू (FAQ) मा जानकारी तथा उजुरीका लागि टोल–फ्री नम्बर १६६०-०१-११२२४ र इमेल feedback@hib.gov.np उल्लेख गरिएको छ।

आफूबाट अनुचित शुल्क लिइएको जस्तो लागेमा बिरामीले अस्पतालसँग विस्तृत बिल र शुल्कको लिखित स्पष्टीकरण माग्न सक्छन्। सम्बन्धित सेवा बीमा सुविधामा समेटिएको छ कि छैन तथा त्यसमा सहभुक्तानी वा कुनै अपवाद लागू हुन्छ कि हुँदैन भन्ने जानकारी पनि लिन सक्छन्।

समस्या समाधान नभएमा बोर्डले प्रकाशित गरेको उजुरी प्रक्रियामार्फत गुनासो राख्न सकिन्छ।

स्वास्थ्य बीमा कार्यक्रमका सर्त वा बोर्डसँग भएका सम्झौता उल्लङ्घन गर्ने स्वास्थ्य संस्थामाथि लागू स्वास्थ्य बीमा ऐन तथा नियमावलीअनुसार कारबाही हुन सक्ने चेतावनी पनि बोर्डले दिएको छ। तर प्रभावकारी कार्यान्वयनका लागि उचित अनुसन्धान, प्रमाण र नियमको समान प्रयोग आवश्यक हुन्छ।

आवश्यक उपचारमा असर नपारी बिरामीलाई कसरी संरक्षण गर्ने?

अनावश्यक परीक्षणको विषयका दुईवटा पक्ष छन्।

एकातिर, चिकित्सकीय औचित्य नभएका परीक्षणले खर्च बढाउन, सीमित स्वास्थ्य स्रोतको उपयोगमा दबाब सिर्जना गर्न र नतिजा अस्पष्ट वा संयोगवश देखिएका असामान्यताका कारण थप परीक्षण गराउन सक्ने सम्भावना हुन्छ। अर्कोतर्फ, परीक्षणमाथि अत्यधिक वा अनुचित प्रतिबन्ध लगाउँदा वास्तविक रोगको पहिचानमा ढिलाइ हुन सक्छ।

समाधान भनेको आवश्यक परीक्षणलाई निरुत्साहित गर्नु होइन। प्रमाणमा आधारित चिकित्सकीय निर्णयलाई बलियो बनाउनु, परीक्षणको कारण अभिलेखमा राख्नु र बिरामीलाई आफ्नो उपचार योजनाबारे स्पष्ट जानकारी दिनु हो।

अस्पतालले कुनै परीक्षण किन सिफारिस गरिएको हो, त्यसको नतिजाले उपचारमा कस्तो प्रभाव पार्न सक्छ र त्यसको खर्च बीमाले समेट्छ कि समेट्दैन भन्ने कुरा बिरामीलाई बुझाउनुपर्छ। कुनै सेवा बीमामा समेटिएको छैन भने आकस्मिक चिकित्सकीय अवस्थाबाहेक सम्भव भएसम्म बिरामीले अनावश्यक खर्च व्यहोर्नुअघि स्पष्ट जानकारी पाउनुपर्छ।

सरकार र स्वास्थ्य बीमा बोर्डले पनि बीमा सुविधाको सीमा, सहभुक्तानीसम्बन्धी प्रावधान र उजुरी प्रक्रियाबारे सर्वसाधारणले बुझ्ने भाषामा जानकारी दिन आवश्यक छ। उजुरीको संख्या, अस्वीकृत बीमा दाबीको प्रवृत्ति र गरिएको कारबाहीसम्बन्धी विवरण नियमित रूपमा सार्वजनिक गर्दा नियमले अपेक्षित परिणाम दिएको छ कि छैन भन्ने मूल्याङ्कन गर्न मद्दत पुग्छ।

पछिल्लो निर्देशनले नेपालको स्वास्थ्य बीमा प्रणालीमा जवाफदेहिता बलियो बनाउने अवसर प्रदान गरेको छ। तर यसको सफलता कति वटा सूचना जारी भए भन्ने आधारमा होइन, बिरामीले समयमै आवश्यक उपचार पाए कि पाएनन्, आफ्नो बिल बुझे कि बुझेनन् र आफूले बीमा गरेको सुविधाको उपयोग गर्न सके कि सकेनन् भन्ने आधारमा मापन गरिनुपर्छ।

रोगको सामना गरिरहेको परिवारका लागि स्वास्थ्य बीमाको अर्थ केवल बीमा कार्ड वा तोकिएको सुविधाको सीमा मात्र होइन। आवश्यक उपचार खोज्दा थप अन्योल र आर्थिक तनावको सामना गर्न नपरोस् भन्ने भरोसा नै यसको वास्तविक उद्देश्य हो।

काँग्रेसमा चुनाव हारेकालाई पनि जिम्मेवारी दिइने, पदका आधारमा विभेद अन्त्य गर्ने थापाको दाबी

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक निर्वाचनमा पराजित भएका तथा विभिन्न तहमा जिम्मेवारी पाउन नसकेका नेता-कार्यकर्तालाई क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिने बताएका छन्।

स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीभित्रको प्रतिस्पर्धालाई जित र हारका रूपमा मात्र नहेरी सबैलाई समेटेर संगठन सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन्।

काँग्रेस चार पुस्ताको साझा पार्टी भएको उल्लेख गर्दै उनले केन्द्रीय समितिदेखि वडा, क्षेत्र, जिल्ला र प्रदेश तहसम्म जिम्मेवारी प्राप्त गर्न नसकेका नेता–कार्यकर्तालाई पनि विधानअनुसार उपयुक्त भूमिका प्रदान गरिने बताए।

‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा एक जनाले जित्ने र अर्कोले हार्ने भन्ने हुँदैन। हामी सबै समान हैसियत राख्छौँ,’ थापाले भने, ‘मैले अहिले प्राप्त गरेको कुरा जिम्मेवारी मात्र हो, यो स्थायी पद होइन।’

उनले पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गरेकै कारण कुनै पनि नेता वा कार्यकर्तालाई लामो समयसम्म भूमिकाविहीन राख्ने अभ्यास अन्त्य गर्नुपर्नेमा जोड दिए। काम गर्ने इच्छा, क्षमता र योग्यता भएका व्यक्तिलाई सङ्गठनका विभिन्न तहमा सक्रिय बनाइने उनको भनाइ थियो।

थापाले पार्टीभित्र पद र जिम्मेवारीका आधारमा ठूलो-सानो ठान्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने पनि बताए। विशेष गरी आसन ग्रहण, मर्यादाक्रम र प्राथमिकताका विषयमा हुने विभेदपूर्ण व्यवहार सुधार्नुपर्ने उनको धारणा थियो।

पार्टीका आगामी अधिवेशन र आन्तरिक संरचनाका विषयमा अनावश्यक चिन्ता नगरी जनतासँगको सम्बन्ध विस्तारमा केन्द्रित हुन उनले नेता-कार्यकर्तालाई आग्रह गरे। नयाँ नेतृत्वले नयाँ सोच र प्रतिबद्धतासहित सङ्गठनलाई जनतामुखी बनाउनुपर्ने उनको भनाइ छ।

एनपिएल एकताको सुन्दर सङ्गम हो : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताएकी छिन् ।

प्रतियोगिताअघि मन्त्री गौतमले नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउँदै एनपिएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर सङ्गम रहेको जिकिर गरिन् । 

‘आजबाट सुरु हुने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिँदै छ । एनपिएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर सङ्गम हो ।’

एनपिएलको तेस्रो संस्करण आजबाट त्रिवि मैदानमा सुरु हुँदै छ । उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दै छन् । एक महिनासम्म चल्ने प्रतियोगितामा नेपाली र चर्चित विदेशी खेलाडीहरूको जमघट हुनेछ ।

मन्त्री गौतमले एनपिएल नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभाहरूलाई विश्व स्तरीय खेलाडीसँग एउटै मैदानमा उभ्याउने सपनाको उडान भएको पनि बताएकी छिन् । 

‘नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभाहरूलाई विश्व स्तरीय खेलाडीहरूसँग एउटै मैदानमा उभ्याउने यो मञ्चले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउनुका साथै हजारौँ युवाको आत्मविश्वास बढाउने र सपनालाई नयाँ उडान दिनेछ ।’

मन्त्री गौतमले सरकारले उचित वातावरण सिर्जना गरिदिने हो भने निजी क्षेत्रले सम्भावनालाई उद्योगमा, प्रतिभालाई अवसरमा र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सक्छ भन्ने उत्कृष्ट उदाहरण एनपिएल बनेको बताइन् ।

उनले सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई शुभकामना दिँदै जुन टिमले प्रतियोगिता जिते पनि जित नेपाली क्रिकेटकै हुने धारणा व्यक्त गरेकी छिन् ।

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ । आन्दोलनले आपूर्ति शृंखला प्रभावित हुँदा पेट्रोल पम्पमा लामो लाइन लागेको छ भने सुपरमार्केटमा समेत सामानको अभाव देखिन थालेको छ ।

विशेषगरी क्याम्पानिया क्षेत्र र नेपल्स शहरमा इन्धन आपूर्ति प्रभावित भएको छ । इन्धन अभावका कारण यातायात तथा वितरण प्रणाली अवरुद्ध हुँदा ताजा खाद्यवस्तुको आपूर्ति र व्यवसायमा समेत असर परेको छ । 

आन्दोलनका कारण दक्षिणी इटालीका विभिन्न स्थानमा इन्धन वितरण रोकिएको थियो । क्याम्पानिया क्षेत्रमा तीन दिनसम्म प्रशोधन केन्द्रबाट पेट्रोल बाहिरिन नसकेको माज्जोटा ग्रुपका कर्मचारी एन्जेलो रुसिएल्लोले बताएका छन् ।

इन्धन अभावका कारण सर्वसाधारणले पेट्रोल पम्पमा लामो समय कुर्नुपरेको छ । व्यवसाय सञ्चालनको लागत बढ्दा कतिपय चालकका लागि आफ्नो व्यवसाय निरन्तरता दिन कठिन भएको छ ।

‘अवस्था गम्भीर छ । हाम्रो आफ्नै र हाम्रा बालबालिकाको भविष्यसमेत देख्न नसक्ने अवस्था आएको छ,’ एक मोटरसाइकल चालकले भने । अर्का स्थानीय बासिन्दाले इन्धन अभाव र बेरोजगारीका कारण जनजीवन कठिन बनेको बताएका छन् ।

ट्रक चालकको आन्दोलनले खाद्यवस्तु वितरणमा समेत असर पारेको छ । सुपरमार्केटमा पेट्रोल र डिजेल अभावका कारण सामान ढुवानी प्रभावित हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति कमजोर बनेको स्थानीयले बताएका छन् ।

विशेषगरी छिट्टै बिग्रने खाद्यवस्तुको क्षेत्रमा ठूलो क्षति भएको छ । ताजा खाद्यवस्तु समयमा बजारसम्म पु¥याउन नसक्दा उत्पादकले ठूलो परिमाणमा सामान गुमाउनुपरेको छ ।

क्याम्पानिया क्षेत्रको चर्चित ‘मोजारेला दी बुफाला क्याम्पाना’ उत्पादनसमेत प्रभावित भएको छ । भैँसीको ताजा दूधबाट बनाइने उक्त चीज उपभोक्तासम्म छिटो पु¥याउनुपर्ने भएकाले ढुवानी अवरुद्ध हुँदा उत्पादकलाई प्रत्यक्ष असर परेको हो ।

मोजारेला दी बुफाला क्याम्पाना संरक्षणसम्बन्धी कन्सोर्टियमका अध्यक्ष डोमेनिको राइमोन्डोका अनुसार यस क्षेत्रका ९८ साझेदारको दैनिक क्षति करिब ३२ लाख युरो पुगेको छ । तीन दिनको अवधिमा मात्रै १ करोडदेखि १ करोड २० लाख युरोसम्मको क्षति भएको उनले बताएका छन् । उनका अनुसार बिग्रिएका खाद्यवस्तुबाट भएको क्षति पछि पूर्ति गर्न सकिने अवस्था छैन ।

आन्दोलन चर्किएपछि इटाली सरकारले ट्रक चालकलाई कर छुटमार्फत सहयोग गर्न ११ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको सहायता स्वीकृत गरेको छ । यससँगै उक्त क्षेत्रका लागि सरकारले उपलब्ध गराएको कुल सहयोग करिब ६० करोड अमेरिकी डलर पुगेको छ ।

तर, व्यवसायीले सरकारी सहायता पर्याप्त नभएको बताएका छन् । माज्जोटा ग्रुपकी सञ्चालक राफाएला माज्जोटाका अनुसार सरकारले उपलब्ध गराएको रकम नयाँ सहायता नभई व्यवसायीले पहिले नै पाउनुपर्ने सुविधाको निरन्तरता मात्रै हो ।