काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दलमा को को ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् । 

भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र रहेका छन् ।

त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्कीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चपदस्थ अधिकारीहरू पनि टोलीमा सहभागी छन् ।

प्रतिनिधिमण्डलमा लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङलगायत सरकारी अधिकारीहरूको सहभागिता छन् ।

यसैगरी, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका निजी सचिवालयका कर्मचारी, प्रेस तथा सञ्चार सल्लाहकार, सुरक्षा अधिकारी, सैनिक सहयोगी तथा प्रोटोकल अधिकारीहरू पनि भ्रमण टोलीमा समेटिएका छन् ।

भ्रमण टोलीमा सञ्चारमाध्यमका तर्फबाट गोरखापत्रका संवाददाता तारा हमाल ढुंगाना, राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता कमल कुमार बस्नेत र नेपाल टेलिभिजनका भिडियोग्राफर अशोककुमार बस्नेत सहभागी छन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमणमा सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मीसहित कुल ३५ सदस्य सहभागी छन् ।

भ्रमण टोलीका ३५ सदस्यको नामावली यसप्रकार छ :

बालेन्द्र शाह – सम्माननीय प्रधानमन्त्री

डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री

शिशिर खनाल – परराष्ट्रमन्त्री

कुमार व्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार

असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

विवेक मिश्र – प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार

गोविन्दबहादुर कार्की – मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

अमृतबहादुर राई – सचिव, परराष्ट्र मन्त्रालय

रुद्रसिंह तामाङ – सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

सुभाष शर्मा – प्रधानमन्त्रीका प्रमुख निजी सचिव

याङ्की उक्याब – प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल

जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार

प्रदीप परियार – प्रधानमन्त्रीका निजी सचिव

गहेन्द्रराज भण्डारी – सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

कुमारराज खरेल – प्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय

लोकबहादुर पौडेल क्षेत्री – सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय

अमृत लाम्साल – सहसचिव, अर्थ मन्त्रालय

सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय

सुनील पौडेल – सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

दीपा दाहाल – प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक

ललिता सिलवाल – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

विजयराज तण्डुकार – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव

दीपकराज निरौला – शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय

मनोज गैरे – शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट – प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी (एडीसी)

मेजर सुशील बानियाँ – प्रधानमन्त्रीका सुरक्षा अधिकारी

डीएसपी दिपेश बस्याल – प्रधानमन्त्रीका सुरक्षा अधिकारी

विनय शाक्य – प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)

तारा हमाल ढुंगाना – संवाददाता, गोरखापत्र

कमल कुमार बस्नेत – संवाददाता, राष्ट्रिय समाचार समिति (रासस)

अशोककुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन

प्रेमराज गौतम – उपप्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय

मेजर रोशन केसी – प्रधानमन्त्रीका सैनिक सहयोगी (एडीसी)

मुकेश डंगोल – क्यान डीजी

३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र भारत भ्रमणमा गएका छन् ।

भ्रमण टोलीमा मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबलगायत विभिन्न मन्त्रालय तथा सरकारी निकायका उच्चपदस्थ अधिकारीहरू रहेका छन् ।

त्यस्तै, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका सचिवालयका कर्मचारी, सञ्चार तथा प्रेस सल्लाहकार, सुरक्षा अधिकारी र शिष्टाचार अधिकृतहरू पनि टोलीमा सहभागी छन् ।

सञ्चारमाध्यमका तर्फबाट गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनका प्रतिनिधिहरू पनि भ्रमण टोलीमा समावेश छन् ।

दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य, आर्थिक साझेदारी तथा साझा हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

ऊर्जामन्त्री श्रेष्ठले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

श्रेष्ठले वरियताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनाल प्रधानमन्त्रीसँगै भारत प्रस्थान गर्दै छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने औपचारिक भ्रमणका लागि आज आइतबार भारत जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मंसिर ६ देखि ७ सम्म भारत भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो भारत भ्रमण हो । साथै, प्रधानमन्त्रीका रूपमा उनको यो पहिलो द्विपक्षीय विदेश भ्रमणसमेत हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् । उनीसँग अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारसहित ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल रहनेछ ।

भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्षको समीक्षा गर्दै व्यापार, लगानी, ऊर्जा, यातायात, पूर्वाधार र सम्पर्क सञ्जाललगायत क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारबारे छलफल हुनेछ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै, सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता हुनेछ । वार्तामा आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा समेत विचार आदानप्रदान हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

नेपालका परराष्ट्र सचिव अमृतबहादुर रायका अनुसार दुवै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ । त्यसपछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन् ।

भ्रमणका क्रममा ऊर्जा र सम्पर्क सञ्जालसम्बन्धी सम्पन्न आयोजनाको संयुक्त उद्घाटन तथा नयाँ आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी पनि छ ।

यसैबीच, नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल–भारत व्यापार मञ्च आयोजना गरिनेछ । उक्त मञ्चमा दुवै देशका व्यवसायीले लगानी तथा व्यावसायिक सहकार्यका सम्भावनाबारे छलफल गर्नेछन् ।

भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्ध र जनस्तरको निकटतामा आधारित मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरेको छ । प्रधानमन्त्री शाहको भ्रमणले नियमित उच्चस्तरीय आदानप्रदानलाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो’ नीतिमा नेपालको प्राथमिकता प्रतिबिम्बित गर्ने मन्त्रालयको भनाइ छ ।

४९९ किलो गाँजा सहित एक जना पक्राउ  

इनरुवा । सुनसरी धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट गएराति ४९९ किलोग्राम लागू औषध गाँजा जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साह रहेको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

गोप्य सूचनाका अधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थाई प्रहरी चौकी तिनकुने धरानबाट खटिएको संयुक्त प्रहरीको टोलीले बिआर ११ वाई ११३९ नम्वरको स्कार्पियो गाडीलाई चेकजाच गर्दा ४९९ किलो लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद भएको उनले बताए । 

गाँजा जस्तो देखिने पदार्थ सवारीबाट बरामद भएपछि स्कार्पियो र चालक साहलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मल्लले बताए । 

बरामद भएको सवारी, गाँजा र चालकको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बंगलादेशमा अवामी लिगका नेताका ५० भन्दा बढी घरमा आगजनी

काठमाडौं । बंगलादेशमा दुई विपक्षी नेताको हत्यापछि राजनीतिक हिंसा चर्किएको छ । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सम्बद्ध व्यक्तिहरूले अवामी लिगका नेता तथा कार्यकर्ताका घर र पसलमा तोडफोड तथा आगजनी गरेको आरोप लागेको छ ।

नराइल जिल्लाको कालिया उपजिल्लास्थित बेन्दर चार गाउँमा शुक्रबार दिउँसो सुरु भएको आक्रमण रातिसम्म जारी रहेको थियो । आक्रमणकारीले गतिविधिमा प्रतिबन्ध लगाइएको अवामी लिगका नेता तथा कार्यकर्तासँग सम्बन्धित सम्पत्तिलाई निशाना बनाएका थिए । आक्रमणमा पूर्वसांसद बीएम कबिरुल हक मुक्तिको पुख्र्यौली घर र कालिया नगरपालिकाका पूर्वमेयर फकिर मुसफिकुर रहमान लिटनको निवाससमेत परेको छ ।

अग्नि नियन्त्रण सेवाका अनुसार करिब २० देखि २५ घरपरिवारका ५० भन्दा बढी आवासीय संरचनामा आगलागीबाट क्षति पुगेको छ । बजारका केही पसलमा पनि आगजनी गरिएको छ । यद्यपि, स्थानीय प्रशासनले १५ देखि २० घरमा तोडफोड भएको र केही संरचनामा आगो लगाइएको जनाएको छ ।

गत बुधबार बीएनपीसम्बद्ध दुई नेताको हत्या भएपछि हिंसा भड्किएको हो । कालिया नगरपालिका कृषक दलका महासचिव साहिन मोल्लाह र जातीयतावादी सामाजिक सांस्कृतिक संगठन (जासास) का कालिया उपजिल्ला इकाइका महासचिव सोहेल मोल्लाहमाथि बेन्दर चारको बटटोला चोकमा मोटरसाइकल ¥यालीका क्रममा आक्रमण भएको थियो । गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि खुल्नाका अस्पताल लगिएको थियो, जहाँ उनीहरूको मृत्यु भएको थियो ।

स्थानीयले शुक्रबारको आक्रमणमा बीएनपीसम्बद्ध व्यक्तिहरू संलग्न रहेको आरोप लगाए पनि स्थानीय बीएनपी नेताहरूले त्यसलाई अस्वीकार गरेका छन् । कालिया उपजिल्ला बीएनपीका महासचिव एसएम वाहिदुज्जमान मिलुले पार्टीका नेता तथा कार्यकर्ताले आगजनी आयोजना वा सहभागिता जनाएको भन्ने आरोप अस्वीकार गरेका छन् ।

प्रहरीका अनुसार शुक्रबार साँझ हत्या भएका नेताका आफन्तसहित आक्रोशित समूह गाउँमा भेला भएर हत्यामा संलग्न रहेको आरोप लागेका अवामी लिगका कार्यकर्ताका घरमा आक्रमण गरेको थियो । स्थिति नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरिएको थियो ।

यसैबीच, नराइल प्रहरीले हिन्दू समुदायका घर तथा व्यवसायमा आक्रमण भएको भन्ने सामाजिक सञ्जालका दाबीलाई अस्वीकार गरेको छ । प्रहरीले त्यस्ता दाबी भ्रामक रहेको र पुराना तथा कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएका भिडियो प्रयोग गरेर घटनालाई गलत रूपमा प्रस्तुत गरिएको जनाएको छ ।

पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बरमा स्वदेश फर्किने चर्चाबीच बंगलादेशमा राजनीतिक तनाव थपिएको छ । हिंसात्मक घटनापछि सीमा सुरक्षा बल (बीजीबी) ले विभिन्न जिल्लामा शान्ति सुरक्षा कायम गर्न ९६ प्लाटुन सुरक्षाकर्मी परिचालन गरेको छ ।

यसैबीच, भारतीय विदेश मन्त्रालयले बंगलादेशको आन्तरिक राजनीतिक घटनाक्रमबारे टिप्पणी नगर्ने जनाएको छ । भारतले भने बंगलादेशसँग सकारात्मक र रचनात्मक सम्बन्ध कायम राख्ने चाहना व्यक्त गरेको छ । हसिना सन् २०२४ अगस्टदेखि भारतमा बस्दै आएकी छन् । उनी पक्षका कानुनी प्रतिनिधिले नयाँ दिल्लीस्थित बंगलादेशी उच्चायोगमा उनको नयाँ राहदानी र राष्ट्रिय परिचयपत्रका लागि पहल गरेका छन् । 

शुल्क पुनरावलोकन नभएसम्म निजी मेडिकल कलेजले विद्यार्थी भर्ना नलिने

काठमाडौं । शिक्षण शुल्क पुनरावलोकन र सिट निर्धारण प्रक्रियामा पारदर्शिता कायम नभएसम्म स्नातक (यूजी) र स्नातकोत्तर (पीजी) तहमा विद्यार्थी भर्ना लिन नसक्ने निजी मेडिकल तथा डेन्टल कलेजहरूले जनाएका छन् ।

एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको सिटको आधार र शिक्षण शुल्क पुनरावलोकन नभएसम्म भर्ना प्रक्रिया अघि नबढाउन आयोगलाई आग्रह गरेको छ ।

एसोसिएसनले आइतबार जारी गरेको विज्ञप्तिमा शैक्षिक सत्र २०८३÷०८४ का लागि सिट निर्धारण गर्दा अपनाइएको मापदण्ड, मूल्याङ्कनका सूचक, प्रत्येक सूचकको भार (वेटेज), गणना विधि र कलेजले प्राप्त गरेको अङ्क सार्वजनिक गर्न माग गरेको छ ।

आयोगले गत असोज ३० गते सार्वजनिक गरेको सिट निर्धारणसम्बन्धी विवरणसँगै प्रत्येक कलेजको व्यक्तिगत मूल्याङ्कन विवरण (इन्डिभिजुअल कलेज स्कोर कार्ड) २४ घण्टाभित्र सार्वजनिक गर्न एसोसिएसनले माग गरेको छ । सिट वृद्धि, यथावत् कायम वा कटौती गर्नुको आधार र कारणसमेत खुलाउनुपर्ने उसको भनाइ छ ।

त्यस्तै, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र नियमावली, २०७७ अनुसार शिक्षण शुल्क पुनरावलोकन गर्न एसोसिएसनले माग गरेको छ । शैक्षिक वर्ष २०७८÷०७९ देखि हालसम्म शिक्षण शुल्क पुनरावलोकन तथा समायोजन हुन नसकेको भन्दै उसले असन्तुष्टि जनाएको छ ।

एसोसिएसनका अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा मुद्रास्फीति करिब २६.६४ प्रतिशत पुगेको छ । यस अवधिमा शिक्षक तथा कर्मचारीको पारिश्रमिक, विद्युत्, इन्धन, प्रयोगशाला, उपकरण, अस्पताल सञ्चालन र पूर्वाधार व्यवस्थापनको लागत बढेको छ । तर शिक्षण शुल्क भने पुनरावलोकन हुन नसक्दा कलेजहरूको सञ्चालन खर्च र आम्दानीबीच असन्तुलन बढेको उसको दाबी छ ।

चिकित्सा शिक्षा आयोगको १८औँ पूर्ण बैठकबाट गठित शुल्क तथा सिट पुनरावलोकन कार्यदलले स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको शुल्क पुनरावलोकन गर्न सिफारिस गरे पनि कार्यान्वयन नभएको एसोसिएसनले जनाएको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन प्रधानमन्त्री बालेन शाहको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन कर्णालीवासीलाई साथ र सहयोग गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करण पहिलोपटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको उल्लेख गरेका छन् ।

उनका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ भने मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन् । प्रतियोगितामा राष्ट्रिय स्तरका ८ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारीहरूको सहभागिता रहनेछ ।

प्रधानमन्त्री शाहले प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै खेल पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

खेलकुदका माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउनसमेत प्रतियोगिता महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

उनले प्रतियोगितालाई सफल बनाउन नागरिकस्तरबाटै साथ र समर्थन गर्न कर्णालीवासीलाई आग्रह गरेका छन् ।

हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका हालसम्म नौवटा संस्करण मात्र आयोजना हुनु दुःखद भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले आगामी दिनमा प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्न र यसको स्तर अभिवृद्धि गर्न सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भावलाई थप मजबुत बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उनले प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामनासमेत दिएका छन् ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए सपथ 

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपणियताको सपथ ग्रहण गरेका छन् ।

आइतबार मधेश प्रदेश प्रमुख कार्यायलमा राखिएको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले अब प्रदेशमा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने बताए ।

उनले सहमतिको आधारमा मन्त्रिपरिषद विस्तार गर्ने जानकारी दिए । उनले भोलिदेखि मन्त्रिपरिषद् विस्तारको कार्य अगाडि बढाउने बताए ।

हिजो प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतले जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका थिए । 

मधेशमा दोस्रो पटक सरकारको नेतृत्व गर्दै सरोजकुमार यादव, विश्वासको मत लिने तयारी

काठमाडौँ । मधेश प्रदेशमा दोस्रो पटक सरकारको नेतृत्व सम्हाल्न लागेका सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शपथ गराउने कार्यक्रम छ ।प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव शनिबार संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

शपथसँगै दोस्रो कार्यकाल सुरु गर्न लागेका यादवका लागि प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु अबको प्रमुख राजनीतिक चुनौती हुनेछ ।यादवले सात दिनभित्र विश्वासको मत लिने बताएका छन् ।

संवैधानिक व्यवस्थाअनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।