काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुँदैछ । दुई देशबीचको सम्बन्धको समीक्षा तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे छलफल गर्न दुवै प्रधानमन्त्री हैदरावाद हाउस पुगेका हुन् ।

वार्तामा विशेषगरी व्यापार, यातायात, लगानी तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य सुदृढ गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा आपसी सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी छ ।

भ्रमणका क्रममा कनेक्टिभिटी र ऊर्जा सहकार्यका विषय पनि महत्वपूर्ण एजेन्डाका रूपमा रहनेछन् । यी क्षेत्रमा सम्पन्न भएका विभिन्न परियोजनाको उद्घाटन तथा आगामी परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यसले सीमापार पूर्वाधार तथा ऊर्जा सहकार्य विस्तार गर्ने दुवै देशको प्रयासलाई थप गति दिने अपेक्षा गरिएको छ ।

सरकारी तहको वार्तासँगै भारत–नेपाल बिजनेस फोरम पनि आयोजना हुँदैछ । उक्त फोरममार्फत नेपालमा भारतीय लगानी आकर्षित गर्ने तथा दुवै देशका व्यवसायीबीच सहकार्यका सम्भावना खोजिनेछ । यसले दुई देशबीचको व्यापारिक सम्बन्ध र व्यावसायिक साझेदारी विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री शाह र उहाँसँगै आएको ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक दिवाभोजको आयोजना गर्ने कार्यक्रम पनि छ ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेञ्जनकारलगायत उच्च सरकारी अधिकारी भारत भ्रमणमा छन् । यसअघि सोमबार प्रधानमन्त्री शाहले भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनले समाधिस्थलमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षरसमेत गरेका थिए ।

त्यसअघि राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदीको उपस्थितिमा शाहलाई औपचारिक गार्ड अफ अनर प्रदान गरिएको थियो । दुईदिने राजकीय भ्रमणले नेपाल–भारत द्विपक्षीय साझेदारीको समीक्षा गर्दै जारी सहकार्यलाई निरन्तरता दिने र व्यापार, पूर्वाधार, ऊर्जा तथा अन्य साझा चासोका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।

भ्रमणका क्रममा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

आजै बिहान १०:४० बजे प्रधानमन्त्री शाह राजघाट पुगेर गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ।

बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुनेछ । त्यसलगत्तै बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

ओखलढुंगामा बोलेरो जिप दुर्घटना, ९ जना घाइते

ओखलढुंगा। ओखलढुंगाको सिद्धिचरण नगरपालिका-२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

आज बिहान ७:१५ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका-८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १-०७-००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोस्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पठाएको छ ।

दुर्घटनामा सिद्धिचरण नगरपालिका–२ का ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, ७ वर्षीय आयुश मंग्राती, ७ वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, उनका ६ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती घाइते भएका छन् ।

घाइते सबैको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । भारतको दुईदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा हुने भेटवार्तामा नेपाल–भारत सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण कार्यतालिकाअनुसार सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ । सो अवसरमा उनलाई गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् । राजघाटको कार्यक्रमपछि उनी हैदरावाद हाउस पुग्नेछन्, जहाँ भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता हुनेछ ।

आज बैकुण्ठ चतुर्दशी व्रत मनाइँदै

काठमाडौं । आज हिन्दु धर्मावलम्बीहरूले बैकुण्ठ चतुर्दशी व्रत । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने यस पर्वमा भगवान् विष्णु र भगवान् शिवको पूजा–आराधना गर्ने धार्मिक परम्परा छ।

यस दिन बिहानै स्नान गरी व्रत बस्ने, भगवान् विष्णु र शिवको पूजा गर्ने तथा दीप प्रज्वलन गर्ने चलन छ। विशेषगरी भगवान् विष्णुलाई तुलसी र भगवान् शिवलाई बेलपत्र अर्पण गरी पूजा गरिन्छ।

बैकुण्ठ चतुर्दशीका दिन व्रत तथा पूजा गर्नाले पुण्य प्राप्त हुने र मोक्षको मार्ग प्रशस्त हुने धार्मिक विश्वास छ। यस अवसरमा विभिन्न शिवालय तथा विष्णु मन्दिरमा भक्तजनको उपस्थिति रहने गर्दछ।

नेपाल–भारत व्यापार मञ्च सम्पन्न, लगानी र आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं । भारतको नयाँ दिल्लीमा नेपाल–भारत व्यापार मञ्च सम्पन्न भएको छ । कार्यक्रममा दुवै देशका उद्योगी, व्यवसायी तथा उच्च अधिकारीहरूले व्यापार, लगानी र आर्थिक सहकार्य विस्तारमा जोड दिएका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसाद, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, भारतीय उद्योग महासंघका उपाध्यक्ष डा. विक्रमजित सिंह सहनी र लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्ग्की युक्याव शेर्पालगायत सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सुशासन र आर्थिक सुधारमार्फत दिगो विकास हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

ऊर्जा, पर्यटन, कृषि, उत्पादन र डिजिटल अर्थतन्त्रमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै उनले भारतको यातायात र सूचना प्रविधि क्षेत्रको सफलताबाट सिकेर सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए ।

उनले भारतीय लगानीकर्तालाई नेपाली निजी क्षेत्रसँग मिलेर उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने उद्योगमा लगानी विस्तार गर्न आग्रह गरे ।

भारतीय राज्यमन्त्री जितिन प्रसादले पर्यटन, ऊर्जा, व्यापार र लगानीलगायत पारस्परिक लाभका क्षेत्रमा साझेदारी अभिवृद्धि गर्दै द्विपक्षीय आर्थिक सम्बन्ध थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा दुवै देशका व्यवसायीले लगानीका सम्भावनाबारे धारणा राखेका थिए भने विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य र आर्थिक साझेदारी बढाउने उद्देश्यले समझदारीपत्रमा समेत हस्ताक्षर भएको जनाइएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

आइतबार साँझ नयाँदिल्लीस्थित ताज होटलमा प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो।

दुईदिने भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहको भारतका अन्य उच्चपदस्थ व्यक्तिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहलाई भेट्न ताज होटेल पुगे विदेश मन्त्री जयशंकर

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न भारतीय विदेश मन्त्री एस जयशंकर भारतको राजधानी नयाँदिल्लीस्थित ताज होटेल पुगेका छन्। 

आइतबार दुई दिने भारत भ्रमणका क्रममा रहेका शाहलाई भेट्न भारतीय विदेश मन्त्री जयशंकर ताज होटेल पुगेका हुन् । 

आइतबार दिउँसो शाह त्रिभुवन विमानस्थलबाट दिल्ली गएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा रहेका शाहले आइतबार भारतीय विदेश मन्त्री र सोमवार भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्ने कार्यतालिका रहेको छ ।

होटल ताजमा आइपुगे प्रधानमन्त्री बालेन्द्र शाह

दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री बालेन्द्र शाह नयाँदिल्लीस्थित होटल ताजमा आइपुगेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा पहिलो द्विपक्षीय भ्रमणमा रहेका शाह आज दिउँसो २ बजेर ८ मिनेटमा काठमाडौंबाट नेपाल एयरलाइन्सको नियमित उडानमार्फत प्रस्थान गरी ३ बजेर १८ मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

विमानस्थलबाट उनी होटल ताज पुगेका हुन्।

विमानस्थलमा शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए। भ्रमणको पहिलो दिन आज साँझ प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री बालेन्द्र शाह नयाँदिल्लीमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्ली पुगेका हुन् । विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।

प्रधानमन्त्री शाहसँगै भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकार, उच्च सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने, आपसी हित र सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।