काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

एनएफएललाई शुभकामना, सरकारले गर्ने लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सुरु हुन्छ : मन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल फुटबल लिग (एनएफएल) मा सहभागी हुने १० वटै क्लबको टुंगो लाग्नु नेपाली फुटबलका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । 

शुक्रबार सामाजिक सञ्जालमार्फत एनएफएललाई शुभकामना व्यक्त गर्दै मन्त्री पोखरेलले सरकारले सञ्चालन गर्ने सहिद स्मारक लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सुरु गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

निजी क्षेत्रको सहकार्यमा सञ्चालन हुन लागेको एनएफएलले नेपाली फुटबललाई व्यावसायिक, प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको विश्वास छ।

एनपीएलको सफलतापछि दशौँ राष्ट्रिय खेलकुदको रौनक बढिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली खेलकुदमा देखिएको उत्साह फुटबलमा पनि विस्तार गर्नुपर्ने बताएका छन् । 

उनका अनुसार केही दिनअघि थाइल्यान्डमा फिफा र एएफसीका नेतृत्वसँग नेपाली फुटबलको भविष्य, संरचनागत सुधार तथा विकासका विषयमा सकारात्मक छलफल भएको थियो। साथै, अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध पनि छिट्टै हट्ने विश्वास उनले व्यक्त गरेका छन् ।

निजी क्षेत्रको सहकार्यमा एनएफएल अघि बढिरहँदा सरकारले सञ्चालन गर्ने सहिद स्मारक लिगलाई पनि नयाँ स्वरूपमा अघि बढाउने सरकारको योजना छ। आगामी वर्षदेखि देशका विभिन्न स्थानमा मल्टिभेन्यू अवधारणाअन्तर्गत लिग सञ्चालन गर्ने तयारी गरिएको मन्त्री पोखरेलले बताएका छन् । 

यस अवधारणाले फुटबललाई काठमाडौंमा मात्र सीमित नराखी देशभर विस्तार गर्न तथा स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

मन्त्री पोखरेलले सरकारको उद्देश्य प्रतियोगिता आयोजना गर्नुमा मात्र सीमित नरहेको स्पष्ट पार्दै खेलाडीको भविष्य सुरक्षित गर्ने, क्लबहरूलाई सबल बनाउने र समग्र फुटबल संरचनाको विकास गर्ने लक्ष्य रहेको बताएका छन् ।

नेपाली फुटबलमा रहेको प्रतिभा, सम्भावना र समर्थकको मायालाई एकीकृत गर्दै फुटबललाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् । 

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

चितवन । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ-मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले बताए।

तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले काम अघि बढाएको छ । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि पहिरो रोकथामका लागि विभिन्न प्रविधि अपनाउन लागिएको हो ।

ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ । त्यससँगै भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक प्रविधि) प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय अवलम्बन गरिने र पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताए ।

गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुन:अघि बढाउन लागिएको हो । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइनखोलामा काम गरिएको बताउँदै उनले कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा पनि बाटो सहज बनाउन काम रोकिएको बताए ।

शर्माका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने अवस्था छ ।

जेनजी आन्दोलनका क्रममा महोत्तरी कारागारबाट फरार लागुऔषध मुद्दाका एक बन्दी सिरहामा पक्राउ

सिरहा । जेनजी आन्दोलनका क्रममा महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक बन्दीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–७ निवासी करिब २२ वर्षीय दुर्गेश यादवलाई पक्राउ गरिएको हो । उनी लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका बेला आन्दोलनका क्रममा फरार भएका थिए ।

प्रहरीका अनुसार मंसिर ११ गते दिउँसो ३ः२५ बजे इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–१७ माडरस्थित क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन

कालीकोट । कर्णाली राजमार्ग अतिक्रमण गरेर निर्माण भएका संचरना हटाउन निर्देशन दिएको छ । सडक डिभिजन, जुम्लाको कार्यक्षेत्र अन्तर्गत पर्ने कर्णाली राजमार्गको दैखोला–नाग्मा–जुम्ला सडक खण्ड र तथा नाग्मा–गमगढी सडक खण्डमा अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउन सडक डिभिजन कार्यालय जुम्लाले निर्देशन दिएको हो ।  

राजमार्गको दैखोलादेखि नाग्मा जुम्ला सडकमा र नाग्मा गमगढी सडक सीमा क्षेत्राधिकारभित्र पर्ने स्थानमा व्यापारिक मालसामान राख्ने, गाई वस्तु बाध्ने, बिस्कुन सुकाउने, निर्माण सामग्री थुपार्ने, सडक किनारामा अस्थायी वा खुद्रा व्यापार सञ्चालन गर्ने, टहरा, छाप्रा, घुम्ती, बार÷घेराबार लगायतका अस्थायी वा स्थायी संरचना निर्माण गर्ने काम भएकाले तत्काल हटाउन निर्देशन दिइएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराले बताए । ‘अतिक्रमणमा कर्णाली राजमार्गमा निर्माण भएका संरचना तत्काल हटाउन निर्देशन दिइएको छ,’ उनले भने, ‘निर्माण गरिएका संचरना नहटाए आवश्यक कदम चालिने छ ।’

सडकको नाली, पेटी वा अन्य संरचना अवरुद्ध हुने गरी सामग्री राख्ने काम गर्ने कारणले सवारी आवागमन, सडक सुरक्षा, सडक मर्मत सम्भार तथा निर्माण कार्यमा अवरोध भएकाले ती संचरना हटाउन निर्देशन दिइएको र सार्वजनिक सूचना जारी गरिएको निमित्त प्रमुख महताराले जानकारी दिए । 

उनले सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको र ३० दिनभित्र सम्बन्धित व्यक्ति, संस्था वा निकाय आफैले हटाई सडक क्षेत्र खाली गराउन र आगामी दिनमा समेत सडक सीमा क्षेत्राधिकार भित्र कुनै पनि किसिमका सडक संरचनामा अवरोध पुग्ने कार्य नगर्न अनुरोध गरिएको निमित्त प्रमुख महताराले बताए । ‘सडक खण्डहरूको सडक सीमा क्षेत्राधिकार भित्र राखिएका मालसामान, निर्माण सामग्री, व्यापारिक सामग्री, अस्थायी संरचना तथा अन्य अवरोधहरू नगर्न भनिएको छ,’ उनले भने,‘यदी अटेर गरेर संरचना नहटाएमा आवश्यक कारबाही गरिनेछ ।’

सडक क्षेत्र खाली नगरेमा प्रचलित सार्वजनिक सडक ऐन, २०३१ तथा सम्बन्धित अन्य कानुन बमोजिम अनधिकृत संरचना तथा अवरोधहरू हटाउने र भत्काउने लगायतका आवश्यक कारबाही सडक डिभिजन कार्यालय गर्ने र सो कार्य गर्दा लाग्ने सम्पूर्ण खर्च समेत प्रचलित कानुन बमोजिम सम्बन्धित व्यक्ति, संस्था वा निकायबाट असुल–उपर गरिने निमिक्त प्रमुख महताराले बताए ।

नास्टका कर्मचारी १२ बुँदे मागसहित आन्दोलनमा, मन्त्री पुनको राजीनामा माग

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कर्मचारी १२ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएका छन् ।

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको भन्दै उनीहरूले शुक्रबार प्रतिष्ठान परिसरमा प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिष्ठानसम्बन्धी कानुनी व्यवस्था परिवर्तन गर्दा सरोकारवालासँग परामर्श नगरिएको र उनीहरूका सुझावसमेत बेवास्ता गरिएको कर्मचारीहरूको आरोप छ ।

वरिष्ठ वैज्ञानिक डा. रामचन्द्र पौडेलका अनुसार आन्दोलित कर्मचारीले अध्यादेश र नियमावली तत्काल खारेज गर्न तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरेका छन् ।

सुधारका नाममा विद्यमान संस्थागत संरचना कमजोर बनाउने र दक्ष जनशक्तिको पलायन निम्त्याउने कदम स्वीकार्य नहुने पौडेलको भनाइ छ । मुलुकको विज्ञान तथा अनुसन्धान क्षेत्रको भविष्यलाई दिशानिर्देश गर्ने गरी विज्ञान नीति तर्जुमा गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

कर्मचारीहरूले सार्वजनिक गरेको १२ बुँदे मागपत्रमा प्रतिष्ठानको स्वायत्तता, कर्मचारीको सेवा सुरक्षा, नेतृत्व चयन प्रक्रिया, अनुसन्धानको वातावरण, प्रयोगशाला सुदृढीकरण तथा अनुसन्धान बजेट वृद्धिलगायत विषय समेटिएका छन् ।

यस्ता छन् नास्टका कर्मचारीका १२ बुँदे माग :
१. नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ तथा नियमावली तत्काल खारेज गर्नुपर्ने ।

२. अध्यादेश र नियमावलीका नाममा भएको मनोमानी तथा नवनियुक्त समिति सदस्यलाई समेत जानकारी नदिई निर्णय गर्ने कार्य बन्द गर्नुपर्ने

३. प्रतिष्ठानमाथि मन्त्रालय र मन्त्रीको दबाब तथा हस्तक्षेप अन्त्य गर्नुपर्ने ।

४. सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति निर्माण गर्नुपर्ने ।

५. खुला विज्ञापन तथा प्रतिस्पर्धाबाट संस्थाको सक्षम नेतृत्व चयन गर्नुपर्ने ।

६. साबिकको ऐनअन्तर्गत नियुक्त सम्पूर्ण कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्नुपर्ने ।

७. कर्मचारीलाई धम्क्याउने, थर्काउने र मनोबल गिराउने कार्य बन्द गरी विश्वास र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने ।

८. दक्ष जनशक्तिलाई विदेशिन बाध्य पार्नुको सट्टा स्वदेशी प्रतिभालाई सम्मान र अवसर दिनुपर्ने ।

९. विद्यमान संस्थागत संरचना ध्वस्त पार्नुको सट्टा त्यसलाई सुदृढ बनाउनुपर्ने ।

१०. नयाँ संरचनामा अनावश्यक खर्च गर्नुको सट्टा नास्टका सबै प्रयोगशालालाई सबल बनाउँदै अनुसन्धान बजेट बढाउनुपर्ने ।

११. प्रतिष्ठानको स्वायत्तता सुनिश्चित गरी वैज्ञानिकहरूले दबाबबिना अनुसन्धान गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने ।

१२. विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीले नैतिक जिम्मेवारी लिई तत्काल राजीनामा दिनुपर्ने ।

‘विज्ञान बचाऔँ, वैज्ञानिक जोगाऔँ, देश बनाऔँ’ भन्ने नारासहित आन्दोलनमा उत्रिएका कर्मचारीहरूले आफ्ना माग पूरा नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने बताएका छन् ।

राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । 

राष्ट्रपति पौडेलसँग सभापति लामिछानेले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भेटवार्ता गरेका हुन् ।  भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

पुनर्वासको सुनिश्चितता नभएसम्म सुकुम्वासीलाई आश्रयस्थलमै राख्न काँग्रेसका महामन्त्री राणाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री उदय शमशेर राणाले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी परिवारको पुनर्वास सुनिश्चित नगरी उनीहरूलाई त्यहाँबाट हटाउन नहुने बताएका छन् ।

घरबार गुमाएका परिवारको सुरक्षित बसोबास सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै राणाले होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।

उनले भनेका छन्, ‘घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने ? यसको जवाफ दिने र उनीहरूको सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मेवारी सरकारकै हो।’

राणाले प्रभावित परिवारसँगको संवादबाट पुनर्वासको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् । पुनर्वासको व्यवस्था नभएसम्म हालकै आश्रयस्थलमा बस्न दिनुपर्ने उनको माग छ ।

उनले भने, ‘सरकारले यो निर्णय तत्काल फिर्ता लिनुपर्छ। प्रभावित परिवारसँग संवाद गरी सुरक्षित र सम्मानजनक पुनर्वासको व्यवस्था गर्नुपर्छ। पुनर्वास नभएसम्म उनीहरूले हाल आश्रय लिइरहेको ठाउँमा ढुक्कसँग बस्न पाउनुपर्छ।’

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिमाथि एमाले महासचिव पोखरेलको प्रश्न

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको हालैको भारत भ्रमण राष्ट्रिय हित र नेपालका सरोकार सम्बोधन गर्ने दृष्टिले अपेक्षाअनुरूप परिणाममुखी हुन नसकेको बताएका छन् ।

प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले सीमा विवाद, नेपाल–भारत सम्बन्धको पुनरावलोकन तथा हवाई रुटका विषयमा भ्रमणबाट ठोस उपलब्धि हासिल नभएको टिप्पणी गरेका हुन् ।

राष्ट्रिय स्वाभिमानका विषयमा प्रधानमन्त्रीको विगतको अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको भूमिकामाथि प्रश्न उठाउँदै पोखरेलले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणले हामी सबैलाई लज्जित बनाएको छ। काठमाडौँ महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर नेताहरू माथि व्यङ्ग्य गर्नुहुन्थ्यो। हरेक भ्रमणमा उहाँले अर्ती उपदेश दिनुहुन्थ्यो। अस्ति उहाँ भारत भ्रमणमा जानुभयो। नेपालका हित र सरोकारका विषयमा केही कुरा राख्न सक्नुभएन।’

लिपुलेक, लिम्पियाधुरा र कालापानीसँग सम्बन्धित सीमा विवाद भ्रमणको कार्यसूचीमै नपरेको पोखरेलको भनाइ छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताको अभिव्यक्तिलाई उल्लेख गर्दै उनले सीमाका विषयमा छलफलसमेत नभएको बताए ।

एमाले नेतृत्वको सरकारका पालामा नेपाल–भारत सम्बन्ध पुनरावलोकन गर्न गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले अझै ग्रहण नगरेको उल्लेख गर्दै पोखरेलले त्यसलाई बुझ्न र कार्यान्वयनमा लैजान प्रधानमन्त्रीले आग्रह गर्न नसकेको बताए ।

पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँग सम्बन्धित हवाई रुटका विषयमा पनि भ्रमणबाट ठोस सहमति जुट्न नसकेको उनको भनाइ छ ।

‘हिजो हवाई रुट नदिएर अड्किएको थियो, आज उडानको उचाइ कति हुने भन्ने बहसका नाममा नेपालले प्रयोग गर्न नपाउने स्थिति उत्पन्न हुन सक्छ।’

पोखरेलले भ्रमणका क्रममा दुई खर्ब रुपैयाँभन्दा बढी ऋण प्राप्त भएको विषयलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएकोप्रति पनि प्रश्न उठाए । विगतमा ऋणका कारण मुलुक डुबेको भन्दै आलोचना गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले अहिले ऋण प्राप्तिलाई नै उपलब्धि मान्न थालेको उनको टिप्पणी छ ।

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारलाई सिफारिस

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सरकारसमक्ष सिफारिस गरेको छ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समिति बैठकले उक्त निर्णय गरेको हो। बैठकअनुसार बेपत्ता हुनेमा ४८ जिल्लाबाट विवरण प्रमाणित भएका ३ हजार २९२ नेपाली नागरिक र १९ वटा विदेशी नियोगबाट प्राप्त विवरणका आधारमा पहिचान भएका ६२३ विदेशी नागरिक रहेका छन्।

विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) ले विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था गरेको छ।

यसअघि नेपाली नागरिकको हकमा सम्बन्धित स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा तथा विदेशी नागरिकको हकमा सम्बन्धित देशका नेपालस्थित नियोगबाट प्राप्त विवरणका आधारमा दाबी पेस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई चरणमा सातदिने सूचना जारी गरेको थियो।

बैठकले विपद् व्यवस्थापनसँग सम्बन्धित अन्य महत्वपूर्ण निर्णयसमेत गरेको छ। सन् २०३० अर्थात् वि.सं. २०८७ सम्म सबै समुदायमा विपद् पूर्वसूचना पुर्‍याउने लक्ष्यसहित तयार पारिएको ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र २०८३–२०८७ लाई स्वीकृति दिइएको छ। यस योजनाअन्तर्गत बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालनमा जोड दिइनेछ।

त्यस्तै, वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ र यसको कार्ययोजना २०८३/८४ देखि २०९१/९२ सम्मका लागि स्वीकृत गरिएको छ। वायु प्रदूषणबाट उत्पन्न हुने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राष्ट्रिय कार्ययोजना २०८३–२०८७ पनि बैठकले पारित गरेको छ।

यसैबीच, सम्भावित विपद् जोखिममा रहेका विभिन्न बस्तीका परिवारलाई सुरक्षित स्थानमा सार्ने निर्णयसमेत भएको छ। डडेल्धुराको आलिताल गाउँपालिका–१ स्थित भोका र माला गाउँका २४ घरधुरी तथा वडा नम्बर २ को बलौचा गाउँका २२ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिइएको छ।

त्यसैगरी, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गे बस्तीका ४० घरधुरीलाई फुदवाङ र गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवल गाउँका ३२ घरधुरीलाई फिलिम गाउँमा स्थानान्तरण गर्ने निर्णय पनि गरिएको छ।

सिँचाइ र ऊर्जा क्षेत्रको अवस्था तथा बाढी क्षतिको अनुगमन गर्न मन्त्री श्रेष्ठ गण्डकी भ्रमणमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिंचाइ र ऊर्जा क्षेत्रको अवस्था, बाढीको क्षति तथा पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्न आज गण्डकी प्रदेशका विभिन्न जिल्लाको स्थलगत अनुगमन गर्ने भएका छन् । 

मन्त्री श्रेष्ठले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वतलगायत जिल्लामा पहिरो नियन्त्रण, नदी तथा खोलामा तटबन्ध निर्माण र सिँचाइ आयोजनासँग सम्बन्धित समस्याबारे स्थलगत जानकारी लिने कार्यक्रम छ।

अनुगमनका क्रममा कास्कीमा पहिरोबाट भएको क्षति तथा प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै स्याङ्जामा जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित विषयको समेत निरीक्षण तथा समीक्षा गर्ने कार्यक्रम रहेको छ।

विपद्बाट प्रभावित नागरिकको वास्तविक समस्या पहिचान गर्ने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई गति दिने तथा सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक योजना र पूर्वाधारको दिगो व्यवस्थापन गर्ने उद्देश्यले मन्त्री श्रेष्ठ स्थलगत अनुगमनमा जान लागेका हुन् ।

स्थलगत निरीक्षणबाट प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल सम्बोधन गर्नुपर्ने समस्या र दीर्घकालीन समाधानका उपाय पहिचान गरिने जनाइएको छ।  नागरिकको घरदैलोमै पुगेर समस्या बुझ्ने र समाधानका लागि प्रत्यक्ष पहल गर्ने सरकारको प्राथमिकताअनुरूप मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको भ्रमणमा जाने भएका हुन् ।