काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

मोरङको कानेपोखरीमा अवैध रूपमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार

मोरङ । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा अवैध रूपमा सञ्चालनमा रहेको बालगृहबाट १४ जना बालबालिकाको उद्धार गरिएको छ ।

संयुक्त अनुगमनका क्रममा बालगृहबाट ५ जना बालक र ९ जना बालिका गरी १४ जना बालबालिकाको उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई तत्काल अस्थायी संरक्षण प्रदान गरी आवश्यक संरक्षण तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।

प्रदेश बाल अधिकार समिति, राष्ट्रिय बाल अधिकार परिषद्, कानेपोखरी गाउँपालिकाका बाल कल्याण अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त अनुगमन टोलीले स्थलगत अनुगमन गरी उद्धार कार्य सम्पन्न गरेको हो ।

बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको उक्त कार्यसँगै घटनाको थप व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ । 

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गगन थापा विज्ञ टोलीसहित पुनः फिल्डमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आज भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएका छन् । 

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न तथा उनीहरूका समस्या र आवश्यकता पहिचान गर्न नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा गएका हुन् । 

बाढीबाट प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरी उनीहरूको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र पुनःस्थापनाका आवश्यकताबारे जानकारी लिने उद्देश्यले थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा गए । 

३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यससम्बन्धी जानकारी दिए । 

वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । विभागले यहि कात्तिक ९ गते सूचना जारी गर्दै तोकिएको अवधिभित्र सम्पर्कमा नआए उनीहरूको बैंक खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गरिने जनाएको थियो ।

विभागले जारी गरेको पत्रअनुसार सूचनाको म्यादभित्र उपस्थित नभएका व्यक्तिहरूको विवरण संकलन गरी बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी गरिएको छ । यसका लागि आगामी मंसिर १४ गते नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्र पठाइने मन्त्री यादवले जनाएका छन् । 

विभागले सम्बन्धित शाखालाई फरार व्यक्तिहरूको सूची तयार गरी नेपाल राष्ट्र बैंकमा पठाउने प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ । ३५ दिनको अवधि पूरा भएपछि बैंक खाता रोक्का गर्ने प्रक्रिया सुरु गरिने मन्त्री यादवले जनाए । 

यस कदमबाट वैदेशिक रोजगारका नाममा ठगी गरी फरार हुने व्यक्तिहरूको आर्थिक कारोबार नियन्त्रण गर्नुका साथै उनीहरूलाई कानुनी प्रक्रियामा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्री यादवले उल्लेख गरे । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, पीडितलाई न्याय दिलाउने तथा ठगीमा संलग्नलाई कानुनी दायरामा ल्याउने उद्देश्यले मन्त्रालय र विभागले प्रक्रिया अघि बढाएको हो ।

कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुगेको छ । शनिबार सार्वजनिक गरिएको स्वास्थ्य अधिकारीहरूको तथ्यांकअनुसार कंगोमा हालसम्म ११ हजार ६१३ जनामा इबोला संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ५ हजार ६७८ जनाको मृत्यु भएको छ । यससँगै संक्रमणबाट मृत्यु हुने दर ४८.९ प्रतिशत पुगेको छ । तथ्यांकअनुसार हालसम्म ३ हजार १४८ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै, १ हजार ७४३ जना उपचार वा क्वारेन्टिनमा रहेका छन् । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान तथा निगरानी गर्ने दर ८२.६ प्रतिशत रहेको छ ।

गत मे १५ मा घोषणा गरिएको यो प्रकोप बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो । यो डीआर कंगोमा अहिलेसम्म देखिएको सबैभन्दा ठूलो र घातक इबोला प्रकोप बनेको छ । विश्वव्यापी रूपमा हेर्दा सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीपछि यो दोस्रो ठूलो प्रकोप हो ।

कांग्रेसले विगतमा अहिलेभन्दा कठिन परिस्थिति सामना गरेको छ, चुनौतीबाट विचलित हुनुपर्दैन : शशांक कोइराला

पोखरा । नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले कांग्रेसले विगतमा अहिलेको भन्दा पनि कठिन राजनीतिक परिस्थितिको सामना गरेर अघि बढेको इतिहास रहेको बताएका छन् । पार्टी अहिले कठिन मोडमा रहे पनि विगतका चुनौती र संघर्षबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक कोइरालाले शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेसले हरेक चुनौतीलाई चिर्दै लोकतन्त्रको रक्षा गर्दै आएको स्मरण गराए ।

‘अहिले पार्टी कठिन परिस्थितिमा छ । तर कांग्रेसले विगतमा अहिलेभन्दा अझ कठिन परिस्थितिको सामना गर्दै आएको छ,’ उनले भने, ‘हरेक चुनौतीलाई चिर्दै कांग्रेस अघि बढेको इतिहास छ ।’

गण्डकी प्रदेशको अधिवेशनलाई कांग्रेसको ऐतिहासिक यात्राको निरन्तरताका रूपमा व्याख्या गर्दै उनले पार्टीको गौरवशाली इतिहास र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानलाई स्मरण गरेका थिए ।

पार्टीभित्र विशेष महाधिवेशनको वैधानिकता र नेतृत्वको विषयलाई लिएर विवाद चर्किरहेका बेला कोइरालाको यो भनाइ आएको हो ।

 उद्घाटन समारोहमा अधिकांश नेताहरूले विशेष महाधिवेशनको वैधानिकता, पार्टीको आधिकारिकता र पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए ।

सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन गर्न पाइने भए पनि त्यसका लागि विधानले तोकेको निश्चित प्रक्रिया पूरा हुनुपर्ने बताए । आवश्यक हस्ताक्षरको सनाखत भएको थियो वा थिएन भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ थियो । पछिल्लो हिंसात्मक घटनामा आफूलाई जेनजी युवाहरूले नभई नेपाली सेनाले उद्धार गरेको दाबीसमेत उनले गरे ।

नेता कृष्णप्रसाद सिटौलाले केन्द्रीय समितिको निर्णयबिना गरिएको विशेष महाधिवेशन अवैधानिक रहेको धारणा राखे। नेता प्रकाशमान सिंहले पार्टीलाई विधि, विधान र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नेता विमलेन्द्र निधिले संविधानलाई समयानुकूल बनाउन आवश्यक संशोधन गर्नुपर्ने बताए । सहमहामन्त्री उमाकान्त चौधरीले कांग्रेस कमजोर हुँदा देशले प्राप्त गरेका राजनीतिक उपलब्धि गुम्ने जोखिम रहेको उल्लेख गर्दै पार्टी कब्जा गर्ने प्रयास भइरहेको आरोप लगाए ।

प्रधानमन्त्री शाह आज भारत भ्रमण जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमण जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह ६ र ७ गते भारत भ्रमणमा जान लगेका हुन् । 

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । 

भ्रमणका क्रममा दुई देशबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने छ ।

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

मुन्सीको शतकमा सुदूरपश्चिम बन्यो एनपिएल सिजन-३ च्याम्पियन

लगातार तेस्रो प्रयासमा उपाधि खडेरी तोड्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।

कीर्तिपुरमा सम्पन्न डे-नाइट फाइनलमा अघिल्लो सिजनको विजेता लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपिएल उपाधि उचालेको हो।

यस जितसँगै सुदूरपश्चिमले अघिल्लो सिजनको फाइनलमा लुम्बिनीसँग भोगेको हारको बदलासमेत लिएको छ। एनपिएलको सिजन १ र सिजन २ दुवैमा फाइनल पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम अघिल्लो संस्करणमा यही लुम्बिनीसँग पराजित भएको थियो।

लगातार तेस्रो पटक फाइनल खेल्दै सुदूरपश्चिमले यसपटक भने एकपक्षीय जित रचेको हो।

स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेश सभाको मंसिरमा गर्न आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेश सभाको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ। आयोगले शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा प्रस्तावित समयतालिका प्रस्तुत गरेको हो।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगले प्रस्ताव गरेको समयतालिका उपयुक्त देखिएको बताएका छन्। 

उनको सचिवालयका अनुसार ‘प्रचण्ड’ले पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा तय गर्ने बताएका हुन्।

छलफलमा नेपाली काँग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपाका संयोजक प्रचण्डलगायत सहभागी थिए। आयोग पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा बस्न भनेर बाहिरिएका थिए।

पछिल्लो स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते र प्रदेशसभा निर्वाचन सोही वर्ष मंसिर ४ गते भएको थियो। गाउँसभा र नगरसभाको पाँचवर्षे कार्यकाल २०८४ वैशाख ३० गते सकिँदै छ। स्थानीय तहको कार्यकाल सकिन करिब पाँच महिना बाँकी रहँदा आयोगले दलहरूसँग निर्वाचनको समयतालिकाबारे छलफल गरेको हो।

कांग्रेस मधेश प्रदेश अधिवेशन मंसिर १४ हुनेछ, असली कांग्रेस हामी नै हौं : निधि

जनकपुर । नेपाली कांग्रेस शेर बहादुर देउवा समूहको मधेश प्रदेश अधिवेशन यही मंसिर १४ गत्ते जनकपुरधाममा हुने भएको छ ।

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै नेता बिमलेन्द्र निधिले अधिवेशनबारे जानकारी दिएका हुन् । उनका अनुसार कानुनसम्मत र विधान सम्मत रही अहिलेसम्म अधिवेशनहरु भएका छन ।

विधान अनुसार पहिला वडा, त्यसपछि, जिल्ला, त्यसपछि प्रदेश र अन्तमा केन्द्रीय अधिवेशन हुनेमा आफूहरुले सोही अनुसार अधिवेशनहरु सम्पन्न भएको उनले बताए ।

 नेता निधिले प्रदेश अधिवेशन अन्तर्गत भोलि ५ गते गण्डिकी प्रदेशको अधिवेशन हुँदैछ, त्यस्तै ७ गते लुम्बिनी प्रदेशको अधिवेशन हुनेछ, त्यस्तै १३ गते कर्णाली प्रदेशको अधिवेशन हुनेछ , १४ गते मधेश प्रदेशको अधिवेशन हुनेछ, १५ गते सुदुरपश्चिमको अधिवेशन हुनेछ, १७ गते कोशी प्रदेशको अधिवेशन हुनेछ र १९ गते बाग्मती प्रदेशको अधिवेशन हुनेछ ।

नेता निधिले यसअघि नेपाली कांग्रेसको गगन थापा पक्षले गरेको अधिवेशन ‘कथाकथित’ रहेको बताए । उनले सो अधिवेशनमा प्रदेश र जिल्लाको अधिवेशननै नगराई सोझै केन्द्रको अधिवेशन गरेकाले त्यस्तो अधिवेशनको कुनै औचित्य नरहेको बताए ।

निर्वाचन आयोगले गगन पक्षको अध्यावधिक पनि नमानेको नेता निधिले दाबी गरे । उनले आफूहरु कानुन र विधान सम्मत रहेको दाबी गर्दै आफूहरु नै असली कांग्रेसी रहेको बताए ।

नेता निधिले प्रदेश अधिवेशनको तयारी सम्बन्धी आजै आठवटै जिल्लाका पदाधिकारी महोत्तरीको वर्दिवासमा बैठक बस्न लागेको जानकारी दिए ।

त्यस्तै, नेता निधिले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका लागि शुभकामना समेत व्यक्त गरेका छन् । उनले भारत भ्रमणकै क्रममा दुबै देशका प्रधानमन्त्रीले अयोध्या जनकपुर रेल सेवाको उद्घाटन गर्ने कार्यक्रमको प्रसंशा गरे । नेता निधिले रेल सेवासहित हवाई सेवा पनि सुचारु गर्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विषय, आर्थिक क्षेत्रको विकासलगायतका विषयहरु सफलताका साथ उठाउनुपर्ने बताए ।

ज्ञानेन्द्र शाहीले राप्रपा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र बहादुर शाहीले पार्टीको आगामी केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै शाहीले आगामी मङ्सिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशनमा अध्यक्षको उम्मेदवारका रूपमा अघि बढ्ने बताएका हुन् । 

उनले आफ्नो उम्मेदवारी व्यक्तिगत पद प्राप्तिका लागि नभई पार्टीको पुस्तान्तरण, रूपान्तरण र वैचारिक पुनर्जागरणका लागि भएको बताए । पार्टीमा लामो समयदेखि नेतृत्व गर्दै आएका अग्रजहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोडेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

शाहीले राप्रपा पटकपटक आफ्नो विचार र सिद्धान्त नमिल्ने दलहरूसँग चुनावी तालमेल र सत्ता समीकरणमा सहभागी हुँदा कमजोर बन्दै गएको बताए । सत्ता र पदका लागि अन्य दलसँग सम्झौता गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनको धारणा छ।

‘अब राप्रपा कसैको चुनावी गोटी बन्ने छैन, कसैको सत्ताप्राप्तिको सिँढी बन्ने छैन,’ उनले भने, ‘राप्रपा आफ्नो विचार, सिद्धान्त र राजनीतिक पहिचानका आधारमा सशक्त राष्ट्रवादी शक्तिका रूपमा अगाडि बढ्नेछ ।’

उनले पार्टीभित्र गुट र उपगुटको राजनीति अन्त्य गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए। वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेताहरूलाई सम्मानपूर्वक अभिभावकीय भूमिकामा राख्नुपर्ने प्रस्ताव पनि उनले अघि सारे ।

शाहीले पार्टीमा ‘सर्वोच्च नेता’ पद सिर्जना गर्ने प्रस्ताव गरिएको बताए। अध्यक्षभन्दा वरिष्ठ भूमिकामा रहने गरी शीर्ष नेताहरूलाई जिम्मेवारी दिन विधानमै व्यवस्था गर्ने उनको भनाइ छ।

उनले प्रदेश संरचना खारेज गर्ने, वैदिक सनातन हिन्दु अधिराज्य स्थापना गर्ने, राजसंस्था, सुशासन, राष्ट्रिय एकता र स्वाधीनतासम्बन्धी पार्टीका मान्यतालाई व्यवहारमा उतार्नुपर्ने बताए।