काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिंदैछु : भुपेन्द्रजंग शाही

काठमाडौं । नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले गर्न लागेको १५ औं नियमित महाधिवेशनमा नेतृत्वका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । 

विशेषगरी उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री तथा कोषाध्यक्षलगायतको पदमा धेरैले आकांक्षा देखाएका छन् । महामन्त्री पदमा भने युवा नेता भुपेन्द्रजंग शाहीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेविसंघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका शाहीले महामन्त्रीमा उम्मेदवारी दिने बताए ।

‘म निरन्तर रुपमा पार्टीमा सक्रिय छु । कांग्रेसको तर्फबाट कालिकोटमा २०७० सालमा संविधानसभा सदस्यको उम्मेदवार र २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुका साथै अघिल्लो १४ औं महाधिवेशनमा कर्णाली प्रदेशको सभापतिको प्रत्यासी बनेका थिएँ । संगठनको काममा सँधै खटिरहें र केही न केही नौलो अभियान चलाइरहें । त्यसैले महामन्त्री पदमा योग्य छु जस्तो लाग्यो,’ शाहीले नेपाल न्यूज बैंकसँग भने ।

पार्टीका विभिन्न अभियान, कार्यक्रम, गाउँ अभियान र जिल्ला दौडाहा गरिरहने शाहीले जेनजी विद्रोहका बेला देशभर भएको आगजनी र तोडफोडको कडा रुपमा बिरोध गरेका थिए।

त्यस्तै, अवैधानिक र एकपक्षीय रुपमा गरिने विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर र विभाजित बनाउँछ भनेर गगन थापासँग फरक मत राखेका शाहीले एकताबद्ध भएर नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् । 

‘विशेष महाधिवेशनको नाममा विभिन्न प्रलोभन र प्रभावमा परेर षड्यन्त्रपुर्वक निर्वाचन आयोगमार्फत पार्टी कब्जा गरियो । नियमित महाधिवेशनको लागि दुई महिनासम्म पनि पर्खिने धैर्यता नराखेर गगन थापाले कांग्रेसलाई छिन्नभिन्न, क्षतविक्षत बनाउन र कमजोर पारेर ठुलो भुल गर्नुभयो । अब नियमित महाधिवेशनमार्फत पार्टीलाई चलायमान बनाउने जिम्मेवारी हाम्रो काँधमा छ,’ उनले भने । 

पार्टीमा सबैलाई न्याय र समान अवसर हुनुपर्ने, संगठन सिस्टममा चल्नुपर्ने, अवसरवादी राजनीति अन्त्य हुनुपर्ने, सत्ता केन्द्रीत नभई जनता केन्द्रीत पार्टी बनाउन पर्ने, पैसा र शक्तिको भरमा नभई नैतिक मुल्य र मान्यताको आधारमा विचार सिद्धान्तको राजनीति हुनुपर्नेमा उनले जोड दिए ।

महाधिवेशनबाट पार्टीमा आमुल रुपान्तरणको खाँचो रहेको पनि उनले बताए । ‘पार्टी अब सुस्त लय, गतिहिन, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन । अब पार्टी भित्रको गुटबन्दी, भागबण्डा, व्यक्तिगत स्वार्थ, पदीय स्वार्थ, अवसरवाद र चाकडीवादको राजनीति अन्त्य हुनुपर्छ’ उनले भने ।

शाहीले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले पार्टीले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेतलाई गम्भीर ढङगले बुझ्नुपर्ने औंल्याएका छन् । देउवा समूहले यही मंसिर २१ देखि २३ मा काठमाडौंमा महाधिवेशन गर्दैछ ।

स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ : मन्त्री साह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालको समृद्धिका लागि आयात बढाउनेभन्दा स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन् ।

आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले कृषि उत्पादन र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्न सकिने बताए । उनले परम्परागत खेती प्रणालीलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री बनाउन कृषि यान्त्रीकरण आवश्यक रहेको उल्लेख गरे ।

भन्सार विभागको उपलब्ध तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२÷८३ मा खाद्य तथा कृषिजन्य वस्तुको आयात करिब चार खर्ब ४१ अर्ब रुपैयाँ पुगेको जानकारी दिँदै उनले धान, चामल, तरकारी र फलफूललगायत कृषि उपजको स्वदेशी उत्पादन बढाउने ठूलो सम्भावना रहेको बताए ।

‘किसानलाई भाषण होइन, प्रविधि चाहिएको छ । आश्वासन होइन, उत्पादन बढाउने साधन चाहिएको छ,’ उनले भने, ‘परम्परागत खेती प्रणालीबाट आधुनिक, व्यावसायिक र प्रविधिमैत्री कृषिमा रूपान्तरण गर्नुपर्छ । त्यसको महत्वपूर्ण आधार कृषि यान्त्रीकरण हो।’

आफू किसानको छोरो र मेकानिकल इन्जिनियरसमेत भएकाले कृषि यान्त्रीकरणको विषय व्यक्तिगत रूपमा पनि महत्वपूर्ण रहेको उनले बताए । किसानको श्रम, खेतीपातीका कठिनाइ र उत्पादनको सङ्घर्ष नजिकबाट बुझेको उल्लेख गर्दै उनले प्रविधिले किसानको जीवनमा परिवर्तन ल्याउन सक्ने धारणा राखे ।

मन्त्री साहले कृषि यान्त्रीकरणलाई कृषि र उद्योग जोड्ने महत्वपूर्ण आर्थिक क्षेत्रका रूपमा अघि बढाउनुपर्ने बताए । नेपालमै कृषि औजार, मेसिन, पार्टपुर्जा तथा प्रविधि उत्पादन गर्ने उद्योग विकास गर्नुपर्नेमा जोड दिँदै उनले स्वदेशी कृषि मेसिनरी उत्पादनलाई प्राथमिकता, लगानीमैत्री वातावरण र नेपाली प्रविधि तथा उद्यमशीलताको प्रवद्र्धनलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।

पाकिस्तानद्वारा फतह-३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण

काठमाडौँ । पाकिस्तानले फतह-३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ ।

पाकिस्तानी सेनाले बुधवार उक्त मिसाइलको सफल परीक्षण प्रक्षेपण गरेको जनाएको छ । सेनाको सञ्चार विभाग इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै परीक्षण सफल भएको जानकारी दिएको हो ।

आईएसपीआरका अनुसार फतह-३ मिसाइलमा अत्याधुनिक नेभिगेसन र प्रोपल्सन प्रणाली जडान गरिएको छ । यो मिसाइल सुपरसोनिक गतिमा लामो दूरीका लक्ष्यलाई उच्च सटीकता र प्रभावकारिताका साथ प्रहार गर्न सक्षम रहेको सेनाले जनाएको छ । परीक्षणले पाकिस्तानको मिसाइल प्रविधि तथा रक्षा क्षमतामा थप प्रगति भएको सैन्य अधिकारीहरूको दाबी छ ।

धादिङ दुर्घटना अपडेट : घाइते ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

काठमाडौँ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटनामा घाइते भएका ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ । 

गएराति भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।

 दुर्घटनामा घाइते भएकाहरूलाई नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा उद्धार गरिएको हो। उनीहरूमध्ये गम्भीर रहेका ६ जनालाई काठमाडौँ ल्याइएको हो । 

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

काठमाडौँ । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

उपभोक्ताले ‘हेलो सरकार’ को वेब पोर्टल (टिकट नं.एचएस-वेब-१८८…) मार्फत ग्यास सिलिन्डरको मूल्य बढी लिइएको भनी गुनासो दर्ता गराएका थिए । सोही गुनासोका आधारमा हेलो सरकारको समन्वयमा विभागको टोलीले सम्बन्धित स्टोरमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा बढी मूल्य लिएको पाइएपछि उक्त स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको सरकारले  जानकारी दिएको छ ।

हेलो सरकारले विश्वास गरी गुनासो पठाउने गुनासोकर्ता र तत्काल कारबाही प्रक्रिया अगाडि बढाएर सकारात्मक सहकार्य गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।

सरकारले उपभोक्ता ठगिने वा कुनै सार्वजनिक सेवामा समस्या आएमा हेलो सरकारको नि:शुल्क फोन सेवा ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो टिपाउन आग्रह गर्दै आएको छ ।

फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेटवार्ता गरेका छन् । 

बैंककमा आयोजित एएफसी अवार्ड्सको अवसरमा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका हुन् । भेटमा मन्त्री पोखरेलले फिफा र एफसीका प्रतिनिधिलाई उपहारसमेत दिएका थिए । 

भेटवार्ताका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको निलम्बन फुकुवा गर्ने विषयमा पनि सकारात्मक वार्ता भएको मन्त्री पोखरेलले बताए । छलफलमा एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन र निलम्बन फुकुवाका विषय उठेको थियो। 

छलफलकै क्रममा एन्फाले पनि तहगत निर्वाचन गर्ने सहमति भएपछि यता राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि एन्फामाथिको प्रतिबन्ध पनि फुकुवा गरेको हो। राखेपले प्रतिबन्ध हटाएसँगै अब फिफाले पनि एन्फामाथिको निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको छ। योसँगै सबै प्रशासनिक प्रक्रिया पूरा गरी प्रतिबन्ध फुकुवा हुने प्रक्रियामा जाने बताइएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (शुक्रबार) बिहान ११ बजे बस्न लागेको हो।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे औपचारिक निर्णय गर्ने बताइएको छ ।

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल गर्दै 

काठमाडौँ । निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको हो । 

आयोगले आज नै विभिन्न राजनीतिक दलहरूसँग छलफल सुरु गर्ने भएको जनाएको छ । सो प्रयोजनका लागि राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरूलाई आज आयोगले छलफलका लागि आमन्त्रण  गरेको छ ।

आयोगले आज बिहान ११:३० बजे दलका नेताहरूलाई छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आजका लागि राजनीतिक दलहरुलाई छलफलमा बोलाइएको जानकारी दिए।

प्रवक्ता भट्टराईले भने, “स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि नै उहाँहरूलाई आयोगमा आमन्त्रण गरिएको हो ।”

राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई आज छलफलका लागि आयोगमा आमन्त्रण गरिएको उनले बताए । स्थानीय एवं प्रदेश तहको निर्वाचनका सन्दर्भमा आयोगमा आज ती राजनीतिक दलका प्रतिनिधिहरूसँग आवश्यक परामर्श एवं छलफल हुने भएको हो ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ । त्यसैले आयोगले नयाँ निर्वाचनको मिति घोषणा र निर्वाचनको तयारीका सन्दर्भमा गृहकार्य थालेको हो ।

निर्वाचनको मिति तथा व्यवस्थापन, आवश्यक पूर्वतयारीका सम्बन्धमा राजनीतिक दलहरूको सुझावका लागि सो छलफल गर्न लागिएको आयोगले जनाएको छ । आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अरु राजनीतिक दलहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय गरेको छ । 

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रूपमा सञ्चालन गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक शौचालयलाई अत्यावश्यक, आधारभूत र अनिवार्य सेवाका रूपमा सञ्चालन गर्ने निर्देशन दिएकी छन् । 

कार्यवाहक प्रमुख डंगोलले सहरी योजना आयोगले सहरभित्रका सार्वजनिक शौचालयको विद्यमान अवस्था र व्यवस्थित सञ्चालन आवश्यकताका विषयमा गरेको अध्ययन प्रतिवेदनले औँल्याएको अवस्थामा जानकारी लिँदै स्वच्छ, सुरक्षित, व्यवस्थित, समावेशी र सबै नागरिकको पहुँचयोग्य बनाउने कामलाई प्राथमिकता दिन निर्देशन दिएकी हुन् ।

आयोगले हाल १६९ वटा सार्वजनिक शौचालयको अवस्था, सञ्चालन प्रणाली, भौतिक संरचना, सरसफाइ, पानीको उपलब्धता र अपाङ्गता भएका व्यक्तिमैत्री सुविधाको अध्ययन गर्दा शौचालयमा सुधारको आवश्यकता देखाएको छ । अध्ययनले शौचालयको सङ्ख्या बढाउनेभन्दा भएका संरचनालाई नियमित, गुणस्तरीय र प्रयोगकर्तामैत्री बनाउने कामलाई प्राथमिकतामा राख्न सुझाएको छ । शौचालय सञ्चालन भएका विद्यमान संरचनालाई मर्मत, स्तरोन्नति र पुन:निर्माणबाट शौचालयको सुविधालाई व्यवस्थित गर्न सकिने अध्ययनको निष्कर्ष छ । 

महानगरपालिकाको आग्रहमा पेट्रोल पम्पहरूले सञ्चालन गरेका शौचालयको स्वच्छता बढेको, प्रयोगकर्तामैत्री बन्दै गएकोमा पम्प सञ्चालकप्रति आभार व्यक्त गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, “हरेक सार्वजनिक शौचालयलाई महिलामैत्री, बालमैत्री, पहुँचयुक्त बनाउनुपर्छ । यो दायित्व इमान्दारिताका साथ बहन गरौँ ।” 

अध्ययन प्रतिवेदन प्रस्तुतीकरण गर्दै आयोगका सदस्य दामोदर गिरीले भनिन्, “महानगरपालिकाभित्रका १६९ सार्वजनिक शौचालयमध्ये ११३ वटा नियमित सञ्चालनमा छन् । नौ वटा आंशिक रूपमा सञ्चालनमा रहेको, १०  निर्माणाधीन अवस्थामा रहेको, १४ वटा बन्द वा सञ्चालन नभएको र दुई वटा प्रयोग गर्न अयोग्य अवस्थामा रहेको पाइयो । एक्काइस  शौचालयको सञ्चालन अवस्था भने स्पष्ट छैन ।”

कार्तिक शुक्ल एकादशी: तुलसी-दामोदरको विधिपूर्वक विवाह गरिँदै

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह र विशेष पूजा गरी मनाउने वैदिक सनातनी परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । 

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । 

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले बताए ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । मलेरिया रोग उत्पन्न गर्ने वायुलाई नष्ट गर्न सक्ने शक्ति तुलसीमा भएको आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ भनी व्याख्या गरिएको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । 

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवं मन गरी एघार वटालाई जित्न उपयोग गरिने चलन छ । यसका लागि चार महिनासम्म उपासना गरेर श्रद्धा भक्तिसाथ हरिबोधिनी एकादशीका दिनमा भगवान् विष्णुको विशेष पूजा गर्दा ११ वटै जाग्छन् ।

 किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नास भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण, इचँगुनारायण र  विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । 

बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने नारायणस्थान मठका मठाधीश स्वामी निगमानन्दले बताए। बूढानीलकण्ठमा हरि (विष्णु) र हर (शिव)दुवै देवताको मूर्ति छ । ठूलो ढुङ्गामा हरि र हर दुवैको मूर्ति भएको विश्वकै दुर्लभ शिला मानिने भएकाले यहाँ वार्षिक लाखौँ पर्यटक आउने गरेका छन् । 

उपत्यकाका चार नारायण, बूढानीलकण्ठका साथै देशभरका नारायण मन्दिरमा आज भक्तजनको विशेष भीड लाग्ने गर्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म तुलसीको हवन गर्न हेराउनु नपर्ने धार्मिक मान्यता छ । त्यसपछि हवन (होम) जुरेका दिनमात्र तुलसी पूजा उद्यापन गर्न हुने विधि छ । यसरी चारमहिने तुलसी पूजा समापन हुन्छ ।