काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

महानिरीक्षक विवादबारे यही मंसिर ७ गते दुवै पक्षबीच छलफल हुने

काठमाडौं । प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि छलफल गर्न यही मंसिर ७ गते दुवै पक्षलाई बोलाएको छ ।

वुधबार सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाइ छलफलका लागि उपस्थित हुन आदेश दिएको हो । 

कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न मंसिर ७ गते दुवै पक्षलाई डाकेको हो । 

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरिएको उत्प्रेषणको रिट निवेदनमा सर्वोच्च अदालतले बुधबार कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ४ का दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश जारी गरिएको छ । 

इजलासले निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो भनी बाटोको म्यादबाहेक सूचना म्याद तामेल भएका मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत आधार र कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ ।

निवेदकले अन्तरिम आदेशसमेत माग गरेकोमा अदालतले दुवै पक्षलाई राखी र सम्बन्धित निर्णय अध्ययन गरेर मात्र अन्तरिम आदेशबारे टुङ्गोमा पुग्नुपर्ने ठहर गरेको छ । सो प्रयोजनका लागि अदालतले मंसिर ७ पेसी तोकी विपक्षीलाई जानकारी दिन आदेश गरेको छ ।

चलचित्र ‘जलाकी’को बुकिङ खुल्यो

काठमाडौं । खुस्मा फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको सिनेमा ‘जलाकी’ को अग्रिम टिकट बुकिङ खुलेको छ ।

देशकै ठूलो मल्टिप्लेक्स सिनेमा हल ब्युएफएक्स चेन, आइएनआइ सिनेमाज, वान सिनेमाजलगायतले आज बुधबार देखि नै सिनेमाको बुकिङ खुलाएका हुन् । क्युएफएक्सले प्रारम्भिकमा उपत्यका र उपत्यका बाहिर गरी २७ सो दिएको छ । अन्य हलले भने बुकिङ खुलाउन बाँकी छ ।

सिनेमाले मंगलबार चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड) बोर्डबाट पनि युनिभर्सल सर्टिफिकेट पाएको छ । सेन्सरका सदस्यहरूले पनि सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएको निर्देशक मगरले बताएका छन् ।

सिनेमाले टिजर, ट्रेलर र गीतमार्फत आम दर्शकको मन जितेको छ । प्रचार सामग्रीले जस्तै सिनेमाले पनि उत्तिकै साथ पाउनेमा निर्देशक मगरको विश्वास छ ।

निर्देशक अशोक थापा मगरको यो दोस्रो सिनेमो हो । यसअघि उनले ‘खुस्मा’निर्देशन गरेका थिए । सिनेमामा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन् । उनीहरूसँगै सिनेमामा शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर ९बबिता राना०, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

सिनेमा गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।

कार्कीको रिटमा कारण देखाऊ आदेश, अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्ष बोलाइए

काठमाडौँ । प्रहरी महानिरीक्षक पदमा पुनर्बहालीको माग गर्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । 

अदालतले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्काल अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । इजलासले कार्कीलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली किन नगर्ने भन्नेबारे लिखित जवाफ पेस गर्न सरकारलाई भनेको छ ।

अदालतको आदेश सार्वजनिक हुन बाँकी छ । सबै विपक्षीले लिखित जवाफ पेस गरेपछि सर्वोच्चले रिटको नियमित सुनुवाइका लागि पेसी तोक्नेछ ।

चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग सीमापार यातायात, पर्वतीय विज्ञान, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिका पाँच क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरेको छ । 

चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकंग्रेस स्थायी समितिका अध्यक्ष वाङ स्याओहुई र रास्वपाका महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलबीच मंगलबार चीनको चेङ्दुमा भएको भेटवार्तामा यस्तो प्रस्ताव गरिएको हो ।

भेटमा नेपाली पक्षले सुरक्षित सीमापार सडक तथा भन्सार प्रणाली, मौसम पूर्वानुमान र विपद् पूर्वसूचना, जलविद्युत् तथा हरित उद्योग, चेङ्दुबाट नेपालका प्रमुख शहरमा थप हवाई उडान र कृत्रिम बुद्धिमत्ता तथा डिजिटल प्रविधिमा सहकार्यको प्रस्ताव राखेको थियो । त्यस्तै, नेपालका जडीबुटी, चिया, फलफूल र हस्तकलाको चिनियाँ बजारमा पहुँच विस्तार गर्न प्रशोधन, भण्डारण र गुणस्तर सुधारमा सहयोग गर्न पनि आग्रह गरिएको थियो । 

भेटमा सिचुवानका सचिव वाङले नेपाल र चीनबीचको उच्च गुणस्तरीय बेल्ट एण्ड रोड सहकार्यलाई अघि बढाउन तथा दुवै पक्षबीचको राजनीतिक र सरकारी सम्बन्ध थप सुदृढ बनाउन प्रतिवद्धता जनाए । उनले दुई देशबीचका समझदारी कार्यान्वयनमा सिचुवानले योगदान गर्ने बताए । महामन्त्री आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक विकासको प्रशंसा गर्दै नेपालको पूर्वाधार तथा आर्थिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपाली प्रतिनिधिमण्डलले गत अगस्टमा सीमावर्ती क्षेत्रमा आएको बाढी पहिरो र भोटेकोशी विपद्का बेला चीनले गरेको सहयोग तथा ऐक्यबद्धताको प्रशंसा गर्दै विपद् व्यवस्थापनमा सहकार्य बढाउनुपर्नेमा जोड दिएको थियो । 

भेटमा रास्वपाले एक चीन सिद्धान्तप्रतिको नेपालको प्रतिवद्धता दोहोराउँदै नेपाली भूमि चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध प्रयोग हुन नदिने धारणा राखेको थियो । साथै राजनीतिक स्थिरता र स्पष्ट कार्यान्वयन योजनामार्फत नेपाल–चीन सहकार्यलाई व्यावहारिक नतिजामा पुर्‍याउनुपर्नेमा जोड दिएको थियो । 

नेपाली प्रतिनिधिमण्डलले सहकार्यका प्रस्तावलाई समयबद्ध कार्ययोजनामा रूपान्तरण गर्न आग्रह गर्दै सिचुवानका सचिव वाङलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएको छ । भेटमा सिचुवानका अन्य प्रान्तीय नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूको पनि सहभागिता थियो । 

ओली आक्रोश : ‘केपी ओली, देउवा र ‘प्रचण्ड’लाई थुन्दिन्छु रे ! मजाकको पात्र हौँ हामी ?’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्ने धम्की दिएको बताएका छन् । 

पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरूलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाए । 

राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने धम्की दिनु गैरजिम्मेवारपूर्ण भएको उनले बताए । राणाशासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको राजनीतिक नेतृत्वलाई सामान्य रूपमा नलिन उनले चेतावनी समेत र्दिए।

उनले कसैविरुद्ध अपराधको प्रमाण भेटिए कानूनी कारबाही गर्न आग्रह गरे । तर पक्राउ गर्ने धम्की नदिन चेतावनी दिए । 

अध्यक्ष ओलीले गृहमन्त्री सुदन गुरुङले फाइल खोल्ने र १०१ जनालाई पक्राउ गर्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै सके सबैलाई थुन्न चुनौती दिए ।

उनले भने, ‘आज एउटा आतंकपूर्ण, त्रासमय आईजीपी, आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आइजिपीको बोलाइ त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् इनका ? थुन्दिन्छु रे !  हामी राणाशासनका विरुद्ध लडेर आएका हौँ, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ, निरङ्कुश राजतन्त्रका विरुद्ध लडेर आएका हौँ । अनि ६ महिनेको जागिर खाने एउटा सिपाहीले भन्छ फलनालाई थुन्दिन्छु, ठट्टा मजाक गर्‍या हो ? तिनी जन्मिनभन्दा अगाडिदेखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिराखेका छौँ । मजाक गर्ने हामीमाथि ? थुने हुन्छन् त समातेर । जो आउँछ थुन्दिन्छु, जो आउँछ थुन्दिन्छु, के हो यो ? हामी मजाकका पात्र हौँ ? ठट्टा जस्तो भएको छ सबलाई । थुन्दिन्छु रे ! प्रमाण भेटे त उनी पनि थुनिन्छन् होला नि, गलत काम गर्‍या प्रमाण भेटे । अरू पनि त थुनिन्छन् होला नि । गृहमन्त्रीको देखिन्छ, फाइल खोल्दै छु, पर्खिनुस् सब थुनिन्छन्, १०१ थुनिन्छन् । कसलाई भन्या हो ? अब सबै थुनिन्छन् भने उनी र को बाँच्छन् त नेपालमा ? को बाँकी रहन्छ ? सबै थुनिन्छन् भने को चाहिँ बाँकी रहन्छ ? यस्तो गैरजिम्मेवार ढंगका अभिव्यक्ति दिएर आतंकको राज, मनोवैज्ञानिक आतंक अन्त फिँजाऊ, नेकपा एमाले यस्ता हावादारी कुराहरूबाट यस्ताहरूबाट हल्लिनेवाला पनि छैन, वास्ता गर्नेवाला पनि छैन ।’

उनले एमाले कसैको आतंकबाट नडराउने पार्टी नभएको बताए । उनले गृहमन्त्री विरुद्ध पनि विभिन्न प्रमाणहरू रहेको उल्लेख गरे।

एलिमिनेटरमा काठमाडौं र चितवन भिड्दै, सुदूरपश्चिम फाइनलमा पुग्ने सम्भावना जीवितै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायर गुमाएको सुदूरपश्चिम रोयल्सको फाइनल पुग्ने सम्भावना अझै जीवितै छ । 

मंगलबार भएको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले अब दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको छ ।

काठमाडौं गोर्खाज र चितवन राइनोजबीच आज (बुधबार) हुने एलिमिनेटर खेलले सुदूरपश्चिमको दोस्रो क्वालिफायर प्रतिद्वन्द्वी तय गर्ने छ । 

आजको खेलमा विजयी हुने टोलीले सुदूरपश्चिमसँग फाइनल प्रवेशका लागि बिहीबार प्रतिस्पर्धा गर्ने छ । त्यसैले सुदूरपश्चिमसँग उपाधि दौडमा फर्कने अझै एक अवसर भने जीवित नै छ । 

आजको एलिमिनेटरमा काठमाडौं र चितवनको परीक्षा

आज साँझ ५ बजे हुने एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै छन् । लिग चरणमा काठमाडौं तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् । काठमाडौंले सात खेलबाट आठ अंक जोडेको थियो भने चितवनले सात अंक पाएको थियो । बुधवारको खोमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । 

आजको खेलमा काठमाडौं र चितवनमध्ये जुन टोली विजयी हुन्छ, उसैले बिहीबार सुदूरपश्चिमसँग दोस्रो क्वालिफायर खेल्नेछ । त्यस खेलको विजेता शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग भिड्नेछ । 

पहिलो अवसर गुमाएको सुदूरपश्चिमसँग अब फाइनल पुग्न एउटा मात्रै अझै मौका छ । लुम्बिनी भने पहिलो क्वालिफायर जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । 

पहिलो क्वालिफायरमा लुम्बिनीको दवदवा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्रै बनाउन सक्यो । टोलीका ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा लुम्बिनीले पाएको सामान्य लक्ष्य पनि सुदूरपश्चिमका लागि भारी बन्यो ।

जवाफमा लुम्बिनीले आफ्नो दवदवा कायम राख्दै १६.४ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । लुम्बिनीले २० बल बाँकी छँदै ६ विकेटको जित निकाल्दै सिधै फाइनलमा स्थान सुरक्षित गर्यो । 

प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन् । 

भेटका क्रममा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । 

साथै, उनले नेपालमा आएको रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गरे । 

प्रधानमन्त्रीले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए । 

त्यसक्रममा राजदूत दलेलाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए । 

उनले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिए । 

भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।

विमानस्थलबाट डेढ किलो सुन सहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले डेढ किलो सुन सहित एक चिनीयाँ नागरिकलाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार आज बिहान अन्दाजी ०१ः२५ बजेको समयमा नेपाल वायुसेवा निगमको उडान नं. आरए ४१० एफको उडानमार्फत हङकङबाट काठमाडौं आएका चीनको जिलीन स्थायी वतन भएका ५८ वर्षीय चिनियाँ नागरिक जिनहाउ वाङलाइ पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार जाँच गर्ने क्रममा निजले आफ्नो मलद्वारभित्र प्लाष्टिकले बेरी लुकाई छिपाई ल्याएको सुनजस्तो देखिने पहेलो गोलाकार अर्धठोस पदार्थका ४ वटा प्लाष्टिकको क्यापसहित जम्मा १ के.जी. ८०३.७७ ग्राम फेला परेको हो । भन्सार एरिया पार गरी बाहिर निस्किने क्रममा उक्त पदार्थ बरामद गरी निजलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सह—प्रवक्ता एवं सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) ढुण्डीराज नेउपानेद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ : अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

आज उद्घाटन मन्तव्यको क्रममा बोल्दै अध्यक्ष ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘सरकारले एमालेमाथि निर्मम हमला भएको छ । अब सरकारले फेरि हमाल गर्न सक्छ । त्यसको प्रतिरोध हुनेछ । त्यसको मूल्य महङ्गो पर्न सक्छ ।’

आफू गिरफ्तार हुँदा सयौं कार्यकर्तामाथि निर्मम ढङ्गले कुटपीट गरेको औंल्याए ।

उनले भने, ‘पहिले गिरफ्तार हुँदा सङ्ख्यामा केही कमी भयो होला । अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनु पर्छ । सबै तयार हुनु । यो सरकारले कुनबेला के गर्छ भर छैन ।’

ओलीले सम्मानित अदालतले प्रतिनिधि सभालाई संवैधानिक नभएको जस्तो व्यवहार देखाएको बताए । 

राष्ट्रिय भेलाको उद्घाटन समारोहमा अध्यक्ष ओलीले बेलाबेला अदालतलबाट संसद सम्बन्धी आफूखुसी गरेको फैसलालाई स्वीकार्दै आएको औंल्याउँदै अहिले किन चुप भनेर अदालतप्रति प्रश्न गरे ।

उनले भने, ‘प्रतिनिधि सभाको विघटन सम्बन्धी सम्मानित अदालतबाट आफू अनुकुल फैसला भइरहेको देखेकै हो । हामीले स्वीकार्दै आएका हौं । अहिले सम्मानित प्रतिनिधि सभाको मुद्दा अदालतमा छ । तर अदालतले प्रतिनिधि सभा संबैधानिक होइन जस्तो गरेको छ । कुनै फैसला गर्दैन ।’

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु

काठमाडौँ । स्थानीय निर्वाचनको तयारी र पार्टीलाई सृदृढ बनाउने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय भेला सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिरुवामा पानी हालेर दुई दिने भेलाको आज यहाँ उद्घाटन गरे ।

 सो भेलामा पार्टीका वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्न कार्यक्रम रहेको एमालेले जनाएको छ । 

सो पार्टीका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसङ्ठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित कुल तीन हजार ४१४ जनाको सहभागिता रहने छ ।