काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् ।

उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित ।’

आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले स्पष्ट पारेकी छन् ।

पूर्वशिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य बनेर शिक्षा क्षेत्रमा काम गरेकी थिइन् । उनको उम्मेदवारी घोषणासँगै आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरको नेतृत्वका लागि हुने प्रतिस्पर्धाबारे चर्चा सुरु भएको छ ।

‘काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्ध गर्छौं’ : मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्ध गर्ने बताएका छन् । 

काठमाडौं तराई मधेस द्रुतमार्ग आयोजनाको महादेवटार सुरुङ ब्रेक थ्रु कार्यक्रममा उनले फास्ट ट्र्याक निर्माणका क्रममा केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण समग्र आयोजना आलोचनामा परेको बताएका हुन् ।

 मन्त्री लम्सालले अब कुनै पनि निर्माण कम्पनीलाई थप समय र सुविधा दिएर आयोजना लम्ब्याउने पक्षमा सरकार नरहेको स्पष्ट पारे । उनकाअनुसार प्याकेज नम्बर ९ ए, ९बी, ८बी लगायतका केही प्याकेजमा निर्माण व्यवसायीको कार्यसम्पादन सन्तोषजनक छैन । पटक–पटक चेतावनी, ताकेता, स्थलगत अनुगमन तथा पत्राचार गर्दा पनि निर्माण कम्पनीहरूले आफ्नै प्रतिवद्धताअनुसार काम गर्न नसकेको उनको भनाइ छ । 

काठमाडौँस्थित आयोजनाको प्रारम्भिक बिन्दुमा रहेका केही समस्या पनि छिट्टै समाधान गरिने बताए । ती समस्या समाधान भएपछि रद्ध गरिने ठेक्कासँगै बाँकी कामका लागि पुनः टेण्डर आह्वान गरिने उनको भनाइ छ । 

मन्त्री लम्सालले फास्ट ट्र्याक निर्माणमा देखिएका चुनौतीबारे आम नागरिक तथा सञ्चारकर्मीलाई पर्याप्त जानकारी नभएको पनि बताए। आयोजना शुरु हुँदा कार्यान्वयनका लागि आवश्यक उपयुक्त कानूनी व्यवस्था नै नरहेको अवस्थामा पनि नेपाली सेनाले निर्माण कार्यलाई तिब्र गतिमा अघि बढाएको उनको भनाइ छ । फास्ट ट्र्याकमा हालै भएको सुरुङ मार्गको ब्रेक थ्रुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा बताउँदै उनले उक्त सुरुङ नेपालको सबैभन्दा लामो सडक सुरुङ भएको बताए ।

उनले फास्ट ट्र्याकलाई सडक निर्माणमा मात्र सीमित नराखी नेपाली प्राविधिक जनशक्ति उत्पादन र अनुभव अभिवृद्धिको महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए । आयोजनामा काम गरिरहेका नेपाली इन्जिनियर, परामर्शदाता, सुपरभाइजर तथा नेपाली सेनाका प्राविधिक जनशक्ति भविष्यका ठूला पूर्वाधार आयोजनाका लागि देशकै महत्त्वपूर्ण सम्पत्ति बन्ने उनको भनाइ छ ।

मन्त्री लम्सालले भने,‘ केही ठेक्काहरू, जस्तै प्याकेज ९ए, ९बी, ८बी लगायतका केही प्याकेजहरूको कार्यसम्पादन राम्रो छैन । संशोधित कार्यतालिकाअनुसार पनि सन्तोषजनक कार्यसम्पादन गर्न नसकेका र आफैँले पेश गरेको संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीहरूको ठेक्का तत्काल रद्द गरौँ । हामी त्यस्ता ठेक्का रद्ध गर्नेछौँ । अब यो आयोजनालाई थप लम्ब्याउनका लागि जोखिम मोल्ने वा निर्माण व्यवसायीहरूलाई थप सुविधा दिने कुनै पनि बाटो छैन । सबैले नेपाली सेनालाई निकै कडा अनुशासनमा रहने निकायका रूपमा बुझ्नुहुन्छ । तर नेपाली सेना कसैलाई पनि अप्ठ्यारोमा पार्न वा डुबाउन चाहँदैन । त्यसैले उहाँहरूले ठूलो दण्ड दिन खोज्नुभएन र निर्माण व्यवसायीहरूलाई पटक–पटक अवसर तथा सुविधा पनि दिनुभयो । बारम्बार चेतावनी दिनुभयो, ताकेता गर्नुभयो, स्थलगत अनुगमन गर्नुभयो र पत्राचारसमेत गर्नुभयो। यति गर्दा पनि निर्माण कम्पनीहरूले अपेक्षित कार्यसम्पादन गर्न सकेनन् । अब उहाँहरूले निर्माण व्यवसायीहरूलाई थप सुविधा दिन आवश्यक छैन । सरकार यो आयोजनाको अवधि थप तीन वर्षभन्दा बढी लम्बिएको हेर्न चाहँदैन । त्यसैले कमजोर कार्यसम्पादन भएका निर्माण कम्पनीका ठेक्का रद्द गर्नुपर्छ । अब काम गर्ने मुख्य सिजन पनि शुरु भएको छ । आगामी जेठसम्म सम्बन्धित ठेक्काहरूमा यसअनुसारको प्रगति हुनुपर्छ । कुनै पनि निर्माण व्यवसायीले निर्धारित समयभित्र काम सम्पन्न गर्न नसक्ने अवस्था देखिएमा कृपया ठेक्का अन्त्य गरिदिनुहोला । यस आयोजनाका ठेक्काहरूमा अत्यन्त ठूला सुरुङमार्ग तथा भायडक्टहरू निर्माण गर्नुपर्नेछ । यस आयोजनाबाट हामीले सडक पूर्वाधार मात्रै प्राप्त गर्ने होइन, दक्ष विज्ञ तथा अनुभवी जनशक्ति पनि उत्पादन गर्नेछौँ । हाम्रा नेपाली इन्जिनियरहरूले यति ठूलो आयोजनामा काम गरेको महत्त्वपूर्ण अनुभव प्राप्त गर्नुहुनेछ । उहाँहरू नै हाम्रो सम्पत्ति हुनुहुन्छ । नेपाल सरकार र समग्र देशको सम्पत्ति भनेको यस आयोजनामा निर्माण व्यवसायीका तर्फबाट काम गर्ने इन्जिनियरहरू, परामर्शदाता तथा सुपरभाइजरका रूपमा कार्यरत विज्ञहरू, आयोजना व्यवस्थापन तथा कार्यान्वयन गर्ने पक्षका रूपमा काम गरिरहेका नेपाली सेनाका प्राविधिकहरू र अन्य जनशक्तिहरू हुनुहुन्छ । उहाँहरूले यस आयोजनाबाट हासिल गर्ने ज्ञान, सीप र अनुभव नै भविष्यमा नेपालको पूर्वाधार विकासका लागि सबैभन्दा ठूलो सम्पत्ति बन्नेछ ।’

‘काठमाडौँ-तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ’ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन् । 

बुधवार काठमाडौँ-तराई-मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको ब्रेकथ्रु कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई-मधेसबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् ।

 उनले करिव ७३ किलोमिटर लामो अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेख्य रूपमा घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने उल्लेख गरे । 

राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजना निर्माणमा नेपाली सेनाले हासिल गरेको प्रगति र उत्साहको प्रशंसा गर्दै निर्धारित समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे। विकट भौगोलिक अवस्था, जटिल भू–बनावट र प्रतिकूल परिस्थितिका बाबजुद नेपाली सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय रहेको उनको भनाइ छ । उनले द्रुतमार्गको महत्त्व भौतिक पूर्वाधार निर्माणमा मात्रै सीमित नरहेको बताए ।

 यसले राजधानी र तराई-मधेसबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उनले विश्वास व्यक्त गरे । त्यस्तै, पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा समेत द्रुतमार्गको योगदान महत्त्वपूर्ण हुने राष्ट्रपति पौडेलले बताए । आफूले द्रुतमार्गको तेस्रो पटक स्थलगत अवलोकन गरेको उल्लेख गर्दै उनले नेपाली सेनाले हालसम्म हासिल गरेको प्रगतिले आयोजना सफलतापूर्वक सम्पन्न हुनेमा थप विश्वस्त बनाएको बताए।

काठमाडौं-तराई द्रुतमार्गको ५१ प्रतिशत निर्माण सम्पन्न, महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको करिव ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको दुवैतर्फको खण्ड जोड्ने (ब्रेकथ्रु)कार्य पनि सम्पन्न भएको हो । नेपाली सेनाकाअनुसार आयोजनाअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन् ।

 तीमध्ये तीन स्थानका पाँचवटा सुरुङको यसअघि नै ब्रेकथ्रु भइसकेको छ । महादेवटार सुरुङको ब्रेकथ्रुसँगै सुरुङ निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ । आयोजना निर्माणबारे जानकारी दिँदै नेपाली सेनाले अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको जनाएको छ । उच्च प्रविधियुक्त पुललगायत द्रुतमार्गका अन्य संरचना निर्माणको काम पनि अपेक्षित गतिमा अघि बढिरहेको सेनाको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार ३ हजार ४ सय २२ मिटर लम्बाई रहेको महादेवटार सुरुङको ब्रेक थ्रु गरे ।

आयोजनाको निर्माण कार्य विभिन्न चरणमा प्रभावित भएपनि अहिले ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्या प्रमुख चुनौतीका रूपमा रहेको छ । उक्त क्षेत्रमा करिव ६.५ किलोमिटर सडक खण्डको विवाद समाधानका लागि पहल भइरहेको र समस्या समाधान भएपछि ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने नेपाली सेनाले जनाएको छ । 

महादेवटार सुरुङ आयोजनाको सबैभन्दा लामो सुरुङ हो । यसको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदुत, सरकारी अधिकारी, परामर्शदाता तथा निर्माण व्यवसायीका प्रतिनिधिलगायतको उपस्थिति रहेको छ । 

नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न निर्माणमा संलग्न सबै पक्षलाई समान गतिमा काम अघि बढाउन आग्रह गरेको छ । साथै आयोजना निर्माणमा सहयोग गर्ने नेपाल सरकार, रक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, प्रदेश तथा स्थानीय तह र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ । 

जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार

काठमाडौं । जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पु¥याइएको छ।

अछामको मंगलसेन नगरपालिका–४ निवासी ती महिलामा जटिल aप्रसूति समस्या देखिएपछि मंसिर १ गते तत्काल हवाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको हो।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको हवाई उद्धार कार्यक्रममार्फत उक्त उद्धार गरिएको हो।

दुर्गम तथा भौगोलिक विकटताका कारण सहज स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पु¥याई आमा र शिशुको जीवन रक्षा गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

प्रसूति जटिलताका कारण जोखिममा परेका महिलालाई तत्काल उद्धार गरी उपचारको पहुँचमा पु¥याउने यस कार्यक्रमले दुर्गम क्षेत्रका महिलाका लागि जीवनरक्षाको आधार प्रदान गर्दै आएको छ।

एमालेको राष्ट्रिय भेला आजबाट सुरु ,अध्यक्ष ओलीले उद्धघाटन गर्ने

काठमाडौं । काठमाडौं नेकपा एमालेको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । 

काठमाडौंको बबर महल स्थित कार्की व्यांकेट विहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएकोे छ । 

भेलाका लागि अधिकांस सहभागी काठमाडौं आइसकेका छन् ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

हिजो बसेको पार्टी स्थायी कमिटीको बैठकले बैठकका एजेण्डाहरु अनुमोदन गरेको छ । जसमा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको कार्यन्यवनमा एकरुपमता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिए । 

भेलामा केन्द्रीय कमिटीका सदस्यहरु,प्रदेश र जिल्लाका पदाधिकारी,पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष,जनसंगठन,केन्द्रीय निकाय,संघीय र प्रदेशका साँसदहरु,स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी हुनेछन् । 

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्ध्घाटन सहित सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी बरिष्ठ नेता विद्यादेवी भण्डारी,उपाध्यक्षहरु रामबहादुर थापा, विष्णु पौडेल महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।

बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने नबिल बैंक, नवौँ पटक सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर बुझाउने बैंकका रूपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा सर्वाधिक आयकर दाखिला गरेबापत बैंकले नेपाल सरकारबाट नवौँ पटक यो सम्मान प्राप्त गरेको हो ।

नबिल बैंकले आर्थिक वर्ष २०८१÷८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो । त्यस्तै, गत आर्थिक वर्ष २०८२÷८३ मा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ आयकर सरकारलाइ दाखिला गरेको छ ।

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकको सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीलाइ सम्मानपत्र हस्तान्तरण गरेका छन् ।

सम्मान ग्रहण गर्दै चौधरीले यो उपलब्धि बैंकका कर्मचारीको योगदान र ग्राहकले देखाएको विश्वासको प्रतिफल भएको बताएका छन् । उनले करदाताका रूपमा आफ्नो दायित्वलाई गम्भीरतापूर्वक लिँदै जिम्मेवार बैंकिङ अभ्यासमार्फत मुलुकको आर्थिक विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

चार दशकभन्दा लामो बैंकिङ इतिहास बोकेको नबिल बैंकले हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा दिँदै आएको छ ।

बैंकले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने उद्देश्यले एनबैंक सञ्चालनमा ल्याएको छ । पारदर्शी व्यावसायिक अभ्यास र दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकले आगामी दिनमा पनि आर्थिक अवसर विस्तार र मुलुकको समृद्धिमा योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर प्रतिऔंस ३ हजार ८६४.२० अमेरिकी डलर पुगेको छ ।

त्यस्तै, डिसेम्बर डेलिभरीकै चाँदीको मूल्य १.०६ प्रतिशतले वृद्धि भएर प्रतिऔंस ४७.३५७ अमेरिकी डलरमा कारोबार बन्द भएको छ । मंगलबारको कारोबारमा सुनको तुलनामा चाँदीको मूल्य वृद्धि दर बढी देखिएको छ ।

कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

काठमाडौँ । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा कम्प्युटर चोरी भएको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै भिडियो समेत सार्वजनिक गरेका छन् । 

उनका अनुसार बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर फरार भएको सीसी क्यामेरा फुटेजबाट देख्न सकिन्छ ।

घटनाबारे प्रहरीमा उजुरीसमेत दिइसकिएको पुनले बताएका छन् ।

पूर्वाधार विकास मन्त्रालयका सात इन्जिनियर सेवाबाट हटाइए

 काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको हो ।

सूचनाअनुसार पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेललाई कार्यालयमा हाजिर नभएको आधारमा हटाइएको हो। पदमेन्द्र प्रसाद श्रेष्ठलाई भने बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको आधारमा हटाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पहिलो ६ जनामाथि निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (ज) र श्रेष्ठमाथि सोही उपदफाको खण्ड (छ) बमोजिम कारबाही गरिएको हो। सातै जनालाई ऐनको दफा ५९ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम सेवाबाट हटाइएको हो।

मन्त्रालयले २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको सूचनामा उल्लेख छ ।