काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

मुगुमा कार्मारोङमा १० शय्याको प्राथमिक अस्पताल भवन निर्माण, गुणस्तरीय सेवाको पर्खाइमा स्थानीय

मुगु । सामान्य चोटपटक लाग्दा वा बिरामी पर्दासमेत घण्टौँ पैदल हिँडेर जिल्ला अस्पताल गमगढी धाउनुपर्ने र थप उपचारका लागि जुम्ला, सुर्खेत, नेपालगन्ज तथा काठमाडौँ पुग्नुपर्ने मुगुको विकट मुगुमा कार्मारोङ गाउँपालिकाका नागरिकको बाध्यता अब अन्त्य हुने भएको छ । 

गाउँपालिकाको वडा नम्बर ६ स्थित रिउस बगरमा १० शय्याको सुविधा सम्पन्न प्राथमिक अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भई उद्घाटन भएसँगै स्थानीय बासिन्दामा खुसीयाली छाएको छ ।

संघीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम अन्तर्गत नेपाल पब्लिक कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले उक्त भवन निर्माण गरेको हो । १० करोड २४ लाख ९३ हजार १६० रुपैयाँको लागतमा निर्माण भएको यस अस्पताल भवनमा तीन वटा ब्लक, ४० कोठा र १९ वटा शौचालय रहेका छन् ।

निर्माण कम्पनीसँग २०७८ वैशाख १७ गते सम्झौता भई २०८० असार ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, डीपीआर निर्माणमा भएको ढिलाइ, सडक सञ्जालको अभाव तथा निर्माण सामग्री ढुवानीमा खच्चड र भरियामा निर्भर हुनुपर्दा काम प्रभावित भएको गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र रावलले जानकारी दिए । विभिन्न प्राविधिक र भौगोलिक कठिनाइका कारण पाँच पटक म्याद थप गर्नुपर्दा निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी भवन निर्माण सम्पन्न भएको हो ।

गाउँमै सहरका निजी अस्पताल सरहको चिटिक्क परेको ठुलो भवन बनेपछि स्थानीय बासिन्दा उत्साहित छन् । विगतमा आर्थिक अवस्था कमजोर भएका नागरिक उपचार अभावमा गाउँमै जडीबुटी र झारफुकको भर पर्न बाध्य थिए । गुरुछेटोल लामाले गाउँमै भव्य अस्पताल बनेकोमा खुसी व्यक्त गर्दै अब स्थानीय सरकारले आवश्यक चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, औषधि र उपकरणको नियमित व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् ।

नवनिर्मित भवनको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दुर्गम हिमाली बस्तीमा करोडौँ रुपैयाँको स्वास्थ्य संरचना निर्माण हुनु गौरवको विषय भएको बताए । सङ्घीयताकै कारण विकट गाउँमासमेत स्वास्थ्य र शिक्षाका ठुला पूर्वाधार सम्भव भएको उल्लेख गर्दै उनले अस्पतालको सेवा विस्तार र स्तरोन्नतिका लागि प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खड्गबहादुर शाहीले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन अस्पतालले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । भवन निर्माणसँगै अब आवश्यक जनशक्ति, औषधि, उपकरण र नियमित सेवा सञ्चालनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

यस्तै, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले अस्पताललाई १० शय्याको क्षमताअनुसार सञ्चालन गर्न दक्ष जनशक्ति, औषधि र उपकरण उपलब्ध गराउन प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । अस्पताल व्यवस्थापन समिति र गाउँपालिकाले आवश्यक माग पेस गरेमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउँदै उनले प्रभावकारी सेवाका लागि स्थानीय, प्रदेश र संघीय सरकारबिच समन्वय आवश्यक रहेकोमा जोड दिए । 

रिउसमा अस्पताल सञ्चालनको इतिहास नयाँ होइन । २०७५ सालमा छाया नेपाल काठमाडौं र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र मुगु र मुगुमा कार्मारोङ गाँउपालिकको लागत साझेदारीमा यही स्थानमा रिउस सामुदायिक अस्पताल स्थापना गरिएको थियो । ती दुई संस्थाले आफ्नै जनशक्ति परिचालन गरी स्वास्थ्य तथा प्रसूति सेवा, एक्सरे र प्रयोगशाला सेवा सञ्चालन गरेका थिए । त्यस बेला स्थानीयले गाउँमै विभिन्न स्वास्थ्य सेवा पाउने अवसर पाएका थिए ।

सामुदायिक अस्पताल निर्माणका लागि २८ जना जग्गाधनीले जग्गादान गरेपछि यही स्थानमा अहिले रिउस प्राथमिक अस्पताल निर्माण भएको छ । संघीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ गते देशभरका स्थानीय तहमा अस्पताल भवनको एकैसाथ भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । यो भवन निर्माणका लागी मुगुका खत्याड, सोरु र मुगुमा कार्मारोङ गाउँपालिकामा पनि उक्त कार्यक्रमअन्तर्गत अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको थियो। तीमध्ये मुगुमा कार्मारोङको भवन निर्माण सम्पन्न भई उद्घाटन भइसकेका छन् भने अन्य दुई पालिकाको भवनहरू निर्माण प्रक्रियामै रहेका छन् ।

अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटोको यात्रा, सडकदेखि जंगलसम्म गंगटैगंगटा

क्रिस्मस् (आईल्याण्ड) । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै सुरु हुने यो प्राकृतिक दृश्यले टापुका सडक, जंगल र बस्तीका आसपासका क्षेत्र राताम्मे बनेका छन् ।

प्रजननका लागि समुद्रमा पुग्नुपर्ने भएकाले यी गंगटाहरू ठुलो समूहमा जंगलबाट बाहिर निस्केर समुद्री तटतर्फ अघि बढ्छन् । यस क्रममा सडक काट्दै यात्रा गर्ने गंगटाका कारण कतिपय सडकमा सवारी आवागमनसमेत प्रभावित हुने गरेको छ ।

हालै सार्वजनिक भएको दृश्यमा सयौँ रातो गंगटाहरू एकैसाथ सडक पार गर्दै समुद्रतर्फ अघि बढिरहेको देखिन्छ । उनीहरूको सामूहिक यात्राले क्रिसमस टापुलाई अनौठो प्राकृतिक दृश्यमा परिणत गरेको छ ।

यो यात्रा सुरु हुने समय निर्धारणमा वर्षायामको पहिलो वर्षाको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसै गरी चन्द्रमाको अवस्था र समुद्री ज्वारभाटाले पनि गंगटाहरूको समुद्रतर्फको यात्रालाई प्रभाव पार्ने गर्छ ।

समुद्रमा पुगेपछि पोथी गंगटाहरूले अण्डा छाड्छन् । त्यसपछि निस्कने साना लार्भाहरू समुद्रमा हुर्कने प्राकृतिक जीवनचक्रको हिस्सा बन्छन् ।

क्रिसमस टापु विश्वमै रातो गंगटाको वार्षिक सामूहिक बसाइँ सराइका लागि प्रसिद्ध छ । यो अस्ट्रेलियाको सबैभन्दा आकर्षक प्राकृतिक घटनामध्ये एक मानिन्छ ।

मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरू

विराटनगर । १५ औं महाधिवेशनको तयारीमा जुटेको देउवापक्षीय नेपाली कांग्रेस मोरङको जिल्ला अधिवेशन मंगलबारदेखि विराटनगरमा सुरु भएको छ ।  नियमित महाअधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको प्रमुख आतिथ्यमा अधिवेशन सुरू भएको हो । अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरूको पनि सहभागिता थियो । 

संयोजक कोइरालाले पार्टीका कुुनै पनि नेता तथा कार्यकर्ताका बिषयमा टिप्पणी नगरी कोइराला निवासमा आफूले विताएको बाल्यकालको सम्झना गरे । उनले राजनीति सिधा बाटोमा नहिँड्ने भन्दै निरन्तर प्रयासले मात्रै सफलतामा पु¥याउन सकिने बताएका थिए ।  

जिल्ला अधिवेशनमा सहभागी देउवा पक्षीय अन्य नेताहरूले भने कांग्रेसलाई गगन थापाहरूले प्रायोजित रूपमा अपहरण गरेको आरोप लगाएका थिए । 

उद्घाटन सत्रमा सम्बोधन गर्ने अधिकांश केन्द्रीय नेताहरूले यस्तो आरोप लगाएका हुन्। सोक्रममा नेताहरू प्रकाशशरण महत, मोहन बस्नेत, कृष्णप्रसाद सिटौला लगायतका नेताले आफनो धारणा राखेका थिए । 

सरकारी कागजात किर्तेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ परेका छन्। वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँ सभा सञ्चालन तथा नीति तथा कार्यक्रम पारित गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी वेदप्रसाद गौतमका अनुसार मंगलबार दिउँसो करिब ५ बजे बसबरिया गाउँपालिका–१ स्थित आफ्नै निवासबाट ५५ वर्षीय अध्यक्ष रायलाई पक्राउ गरिएको हो।

मिति २०८० साल असार १० गते आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

उजुरीमा गाउँसभामा सहभागी नभएकी वडा सदस्यको हस्ताक्षर नक्कली रूपमा प्रयोग गरी गाउँ सभा सम्पन्न भएको देखाइएको तथा सोही आधारमा नीति तथा कार्यक्रम पारित गरिएको उल्लेख गरिएको थियो। 

उक्त उजुरीपछि प्रहरीले सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी घटनाको अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा सर्लाही जिल्ला अदालतबाट मिति २०८३ साल असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले अध्यक्ष रायलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका अध्यक्ष रायमाथि सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भुभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी प्रदेशको पहाडी भुभागमा आंशिक बादल लागेको छ । तराई भूभागका केही स्थानमा तुवाँलो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

आज राति कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ।

बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘अकवान’, गति १४५ किमि प्रतिघण्टासम्म पुग्ने चेतावनी

बंगालको खाडीमा बनेको चक्रवात अकवान शक्तिशाली आँधीमा परिणत हुँदैछ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) यो चक्रवात बिहीबार बिहानसम्म अति शक्तिशाली चक्रवातमा परिणत हुने सम्भावना रहेको जानकारी दिएको हो। शुक्रबार दिउँसो आन्ध्र प्रदेशको तटमा ठोक्किने अनुमान गरिएको छ।

आईएमडीले चक्रवातका कारण १२० देखि १३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने र हावाको गति १४५ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने चेतावनी दिएको छ।

आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। तमिलनाडु र आसपासका क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ।

यो चक्रवात अकवान शुक्रबार नेल्लोर र तुनीबिचको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ।

यसअघि आन्ध्र प्रदेशमा अर्णब र मुरासु नामका दुई चक्रवातले असर पुर्‍याइसकेका थिए। अर्णब चक्रवातको प्रभाव नेपालसम्म पनि देखिएको थियो।

तीन साताभित्र आन्ध्र प्रदेशमा पुग्न लागेको अकवान तेस्रो चक्रवात हो। अघिल्ला दुई चक्रवातका कारण राज्यमा करिब सात हजार करोड भारतीय रुपैयाँ बराबरको बालीनालीमा क्षति पुगेको जनाइएको छ। 

आईजीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार प्रारम्भिक सुनुवाइ

काठमाडौँ । प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । रिट एकल इजलासमा पेस हुनेछ ।

२० कात्तिकमा दर्ता भएको रिटमा सर्वोच्चले सुरुमा ३० कात्तिकका लागि सुनुवाइ तोकेको थियो । सरकारले सोही दिन छठ पर्वको बिदा दिएपछि सुनुवाइ सरेको थियो । तिहार र छठको बिदापछि मंगलबार अदालत खुलेसँगै अदालत प्रशासनले बुधबारका लागि नयाँ मिति तोकेको हो ।

मन्त्रिपरिषद्ले १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक डा। मनोज कुमार केसी प्रहरी महानिरीक्षकमा बढुवा भएका थिए ।

कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको र त्यसबाट आफूलाई अन्याय भएको दाबी रिटमा गरेका छन् ।

‘सुशासन कायम गरेरै राजश्वको महत्वकांक्षी लक्ष्य पूरा गर्छौँ’ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा सुशासन कायम गराएरै सरकारले यस वर्ष राखेको १५ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पूरा गराइछोड्ने बताएका छन् ।

गत वर्षको तुलनामा करिब २७ प्रतिशतले बढी राजश्व उठाउने लक्ष्य महत्वाकाक्षी भए पनि सुशासन कायम गराएरै छोड्ने बताएका हुन्। राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै अर्थमन्त्री वाग्लेले गत वर्ष १ हजार २५० अर्ब रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए। करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा १२ खर्ब रुपैयाँ हाराहारी मात्र राजश्व संकलन भइरहेको उल्लेख गर्दै उहाँले यस वर्ष राजस्व वृद्धिको लक्ष्य बढाइएको बताए ।

कोभिड महामारीपछि नेपालमा राजश्व संकलनको औसत वृद्धिदर ७ देखि ९ प्रतिशतमा सीमित रहेको उनले उल्लेख गरे । उक्त वृद्धिदरले मात्र अपेक्षित लक्ष्य हासिल गर्न नसकिने भन्दै यसपटक २७ प्रतिशतको वृद्धि लक्ष्य निर्धारण गरिएको उनको भनाइ छ ।

राजश्व संकलनको गति अझ तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले आफू स्वयं पनि प्रणालीलाई सक्रिय बनाउन मैदानमा उत्रने बताए । निजी क्षेत्रका सुझाव, गुनासा र समस्याहरू सुन्न सरकार तयार रहेको उनले स्पष्ट पारे ।

अर्थमन्त्री वाग्लेले कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता कायम गर्नुपर्नेमा पनि जोड दिए। करजस्ता महत्वपूर्ण विषयमा पटक-पटक र हरेक हप्ता नीतिगत परिवर्तन गरिरहन नहुने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। 

विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले हालै स्वीकृत ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी निर्देशिका, २०२६’ अनुसार इच्छुक स्थायी प्राध्यापकहरूबाट आशयपत्र माग गरेको हो।

उपकुलपतिबाट नियुक्त हुने यस स्वयंसेवी तथा मानार्थ पदको कार्यकाल सुरुमा दुई वर्षको हुनेछ। नियुक्त व्यक्तिले सम्बन्धित देशका विश्वविद्यालयसँग भएका पुराना सम्झौता सक्रिय बनाउने, संयुक्त अनुसन्धान तथा विद्यार्थी–प्राध्यापक आदानप्रदान प्रवर्द्धन गर्ने, अनुसन्धानका लागि आर्थिक स्रोत खोज्ने र विदेशी विद्यार्थीलाई त्रिविमा आकर्षित गर्न सहजीकरण गर्नुपर्नेछ।

इच्छुक स्थायी प्राध्यापकहरूले आगामी मंसिर १० गते (२५ नोभेम्बर २०२६)भित्र अनलाइन गुगल फारममार्फत आवेदन दिन सक्ने त्रिविले जनाएको छ। आवेदनका साथमा आफ्नो अन्तर्राष्ट्रिय अनुभव, व्यक्तिगत विवरण र आगामी दुई वर्षको ठोस कार्ययोजना पेस गर्नुपर्नेछ। 

प्राप्त आवेदकहरूमध्ये अन्तर्राष्ट्रिय अनुभव, सम्बन्धित देशसँगको पूर्वसम्पर्क र सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा छनोट गरिने त्रिविले जनाएको छ।

लैंगिक हिंसा अन्त्यका लागि मंसिर ९ देखि २४ गतेसम्म १६ दिने अभियान सञ्चालन हुँदै

काठमाडौं । लैंगिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, पीडित तथा प्रभावितको संरक्षण सुनिश्चित गर्ने र हिंसाका घटनामा हुने दण्डहीनताको अन्त्य गर्दै न्यायमा पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्ष पनि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय अभियान यस वर्ष सन् २०२६ नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् २०८३ मंसिर ९ देखि २४ गतेसम्म सञ्चालन हुनेछ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा “महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्य गर्न एकजुट होऔँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ” रहेको छ।

त्यसैगरी, नेपालको राष्ट्रिय नारा “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” तय गरिएको छ।

अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता र ऐक्यबद्धता अभिवृद्धि गर्दै पीडित तथा प्रभावितको सुरक्षा, सम्मान र न्याय सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेको छ।

लैङ्गिक हिंसा अन्त्यका लागि राज्यका निकाय, नागरिक समाज, समुदाय तथा सम्पूर्ण सरोकारवाला पक्षबीच सहकार्य, साझा जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको सन्देश अभियानले प्रवाह गर्नेछ।