काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

सिँचाइ र ऊर्जा क्षेत्रको अवस्था तथा बाढी क्षतिको अनुगमन गर्न मन्त्री श्रेष्ठ गण्डकी भ्रमणमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिंचाइ र ऊर्जा क्षेत्रको अवस्था, बाढीको क्षति तथा पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्न आज गण्डकी प्रदेशका विभिन्न जिल्लाको स्थलगत अनुगमन गर्ने भएका छन् । 

मन्त्री श्रेष्ठले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वतलगायत जिल्लामा पहिरो नियन्त्रण, नदी तथा खोलामा तटबन्ध निर्माण र सिँचाइ आयोजनासँग सम्बन्धित समस्याबारे स्थलगत जानकारी लिने कार्यक्रम छ।

अनुगमनका क्रममा कास्कीमा पहिरोबाट भएको क्षति तथा प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै स्याङ्जामा जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित विषयको समेत निरीक्षण तथा समीक्षा गर्ने कार्यक्रम रहेको छ।

विपद्बाट प्रभावित नागरिकको वास्तविक समस्या पहिचान गर्ने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई गति दिने तथा सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक योजना र पूर्वाधारको दिगो व्यवस्थापन गर्ने उद्देश्यले मन्त्री श्रेष्ठ स्थलगत अनुगमनमा जान लागेका हुन् ।

स्थलगत निरीक्षणबाट प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल सम्बोधन गर्नुपर्ने समस्या र दीर्घकालीन समाधानका उपाय पहिचान गरिने जनाइएको छ।  नागरिकको घरदैलोमै पुगेर समस्या बुझ्ने र समाधानका लागि प्रत्यक्ष पहल गर्ने सरकारको प्राथमिकताअनुरूप मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको भ्रमणमा जाने भएका हुन् । 

आफूलाई हिंसात्मक गतिविधिबाट अपदस्थ गरिएको ओलीको दाबी, सुरक्षा संयन्त्रले साथ नदिएको आरोप

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते आफूलाई हिंसात्मक गतिविधिमार्फत प्रधानमन्त्रीबाट अपदस्थ गरिएको दाबी गर्दै त्यस बेला राज्यका सुरक्षा संयन्त्रले साथ नदिएको बताएका छन् ।

काठमाडौँमा सम्पादकहरूसँग भएको एक अन्तरक्रियामा अध्यक्ष ओलीले भदौ २३ र २४ गतेका घटनालाई पूर्व योजनासँग जोड्दै आफूले सम्भावित जोखिमबारे जानकारी पाएको भए पनि राज्य संयन्त्रबाट सहयोग नपाएको बताएका हुन् । उनले बंगलादेश र श्रीलंकाका घटनाको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै परिस्थिति निर्माण गर्ने तयारी पहिलेदेखि नै रहेको दाबी गरे ।

उनले आफूलाई घटनाबारे जानकारी हुँदाहुँदै पनि प्रधानमन्त्रीका रूपमा रोकथाम गर्न नसकेको प्रसंग सुनाउँदै भने, “अगाडिदेखिको एउटा प्लानिङ थियो । बङ्गलादेश यत्तिकै भएको होइन, श्रीलङ्का यत्तिकै भएको होइन, श्रीलङ्का बनाइदिन्छु, बङ्गलादेश बनाइदिन्छु अगाडिदेखिको यहाँ तयारी छँदै थियो, नदेखेको पनि होइन । अघि सोध्नुभाथ्यो एउटा, कसरी थाहा भएन, अरू कसैले पनि सोध्नुभाथ्यो उहाँले सोध्नुभाथ्यो, कसरी थाहा भएन ? अष्टमीका दिन एउटा बोको राख्या हुन्छ, त्यसलाई पर्सिन्छन्, खुकुरी पनि उसले देख्या हुन्छ, मार हान्न खोज्या पनि बुझ्या हुन्छ, गर्छ के त त्यसले ? गर्छ के ? थाहा पाएपछि गर्छ के ? राज्य संयन्त्रले साथ नदिएपछि प्राइम मिनिस्टरले गर्छ के ?”

ओलीले उक्त प्रसंगलाई आफ्नो व्यक्तिगत पद वा राजनीतिक भविष्यसँग मात्र जोडेर नहेर्न आग्रह गर्दै यसलाई मुलुक र जनताको भविष्यसँग सम्बन्धित विषय भएको बताए ।

“म के भन्छु भने म एउटाको कुरो होइन, नेकपा एमालेको २-४ लाख सदस्यको कुरा होइन, यो नेपालको कुरो हो, ३ करोड जनताको कुरा हो, तिनका सन्ततिको कुरा हो, तिनको भविष्यको कुरा हो। एक छिनको कुरा होइन । र मैले मेरा लागि गर्नुपर्ने केही पनि होइन, म त मर्न तयार भएर हिँडेको मान्छे हुँ ।” उनले भने ।

तर राज्यका कुन निकायले कुन सूचना दिएनन् वा कुन अवस्थामा सुरक्षा संयन्त्रले सहयोग गरेन भन्ने विषयमा उनले विस्तृत विवरण दिएनन् । उनको भनाइले सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न उठाए पनि त्यसबारे सम्बन्धित निकायको औपचारिक धारणा र घटनाक्रमका अभिलेख आवश्यक पर्ने देखिन्छ ।

बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बागलुङ जिल्लाको पश्चिममा अवस्थित पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार गरेको छ । प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत् पुर्याएको हो । 

कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौंदीअमराई हुँदै बागलुङको बुर्तिवाङसम्मको १३२ केभी प्रसारण लाइन तथा बुर्तिवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसनमार्फत ढोरपाटन क्षेत्रमा विद्युत आपूर्ति सुरु गरिएको हो । 

बुर्तिवाङ सबस्टेसनबाट ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी बुर्तिवाङ फिडर बिहीबारदेखि सञ्चालनमा ल्याइएको छ । फिडर सञ्चालनमा आएसँगै वोवाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा वितरण ट्रान्सफर्मर चार्ज भएका छन् । 

यससँगै उक्त क्षेत्रका उपभोक्ताले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् उपभोग गर्न पाउने भएका छन् । यसअघि त्यस क्षेत्रका उपभोक्ताबाट स्थानीय लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रयोग हुँदै आएको थियो । 

राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेपछि ढोरपाटन उपत्यका तथा आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान हुनुका साथै विद्युत् आपूर्तिको गुणस्तर, विश्वसनीयता र नियमिततामा सुधार आउने अपेक्षा गरिएको छ । राष्ट्रिय ग्रिडमा आबद्ध भएसँगै स्थानीय बासिन्दा, पर्यटन व्यवसाय तथा समग्र क्षेत्रको सामाजिक–आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास प्राधिकरणले लिएको छ । 

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले अब उक्त क्षेत्रका उपभोक्ताले विद्युत जडानका लागि जुनसुकै समयमा पनि बुर्तिवाङ नो लाइटमार्फत आवेदन फाराम भरी सेवा लिन सक्ने बताए । 

बागलुङ जिल्लामा अब निसीखोला गाउँपालिका–५ स्थित निसिलढोरमा मात्र राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुग्न बाँकी रहेको छ । उक्त क्षेत्रमा चालु आर्थिक वर्षभित्र विद्युतीकरण गर्न आवश्यक बजेटको व्यवस्था भइसकेको प्रमुख मरासेनीले बताए ।

उनका अनुसार अब ठेक्का प्रक्रिया अगाडि बढाई विद्युतीकरणको काम सुरु गरिनेछ । निसिलढोरमा समेत राष्ट्रिय प्रसारण प्रणालीको विद्युत विस्तार भएपछि बागलुङ जिल्लाका सबै क्षेत्रमा राष्ट्रिय ग्रिडको पहुँच पुग्नेछ । 

वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ

पर्सा । वीरगन्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थितफच्र्युन सिटी गेमिङ क्लब प्रा.लि.(क्यासिनो) भित्र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको तथा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार राति उक्त क्यासिनोमा नेपालीहरूलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जुवा खेल्ने कार्यमा संलग्न ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाका ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोष कुमार यादव, २४ वर्षीय अनुराग कुमार र ४८ वर्षीय दिपक साह रहेका छन् ।

त्यस्तै पर्सा गढी गाउँपालिकाका २६ वर्षीय दिनेश साह, बाराको कलैया उपमहानगरपालिकाका ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिकाका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुलीको मरिन गाउँपालिकाका २७ वर्षीय बिनोद कुमार र काठमाडौँको शाखु नगरपालिकाका ४० वर्षीय राजेश श्रेष्ठ पनि जुवा खेल्ने क्रममा नियन्त्रणमा लिइएका छन् ।

यसै गरी, नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलक प्रसाद भट्ट, वीरगन्ज महानगरपालिकाका ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका ४६ वर्षीय दिपक राज पराजुली रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सात निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

अनुगमन कार्यालयले आज एक सूचना जारी गरी एक कम्पनीलाई एक वर्ष, चार कम्पनीलाई दुई वर्ष र दुई कम्पनीलाई दुई वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो ।

विभिन्न निकायबाट लेखी आएबमोजिम मंसिर ३ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी चार निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेका निर्माण कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने सूचनामा उल्लेख गरिएको छ ।

मायादेवीमा १४८ जनाले पाए लालपुर्जा

भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकामा १४८ जनालाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । गाउँपालिका र नापी कार्यालय, रुपन्देहीको आयोजनामा वडा नम्बर ७ का विभिन्न गाउँब्लकका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो ।

गाउँपालिकाका अमिन हृदयदेश कुमार बनियाका अनुसार गाउँब्लकका कित्ताहरूको लालपुर्जा वितरण गरिएको हो ।

लालपुर्जा वितरण कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले वितरण कार्यमा केही महिना ढिलाइ भए पनि विभिन्न वडामा लालपुर्जा वितरण भइसकेको बताए । गाउँपालिकाका अन्य वडामा पनि प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिए । वर्षौँदेखि जग्गा जोत भोग गर्दै आए पनि लालपुर्जा नहुँदा नागरिकले विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्दै उनले अब त्यस्ता समस्या समाधान हुँदै गएको बताए ।

गाउँपालिकाको उपाध्यक्ष नर्वदा देवी उपाध्यायले लालपुर्जा प्राप्त गर्ने सबैलाई बधाई दिँदै सामूहिक प्रयास र सहकार्यबाट यो काम सम्भव भएको बताए ।

नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत मणि प्रसाद रेग्मीले मायादेवी गाउँपालिकाअन्तर्गतका सम्पूर्ण गाउँब्लकको काम सम्पन्न गर्ने लक्ष्यसहित गाउँपालिकासँग समन्वय र सहकार्य भइरहेको बताए । 

२०२७ सालमा गाउँब्लकका रूपमा छाडिएका जग्गामा नागरिकले लामो समयदेखि भोगचलन गर्दै आए पनि कानुनी स्वामीत्व नहुँदा विभिन्न अधिकारबाट वञ्चित हुनुपरेको उनले बताए । बाँकी गाउँब्लकको काम सम्पन्न गर्न गाउँपालिकाबाट समन्वय र सहयोग आवश्यक रहेको उनले बताए । 

अहिले १४८ जनालाई लालपुर्जा वितरण गरिएको उल्लेख गर्दै उनले संख्या थोरै देखिए पनि प्राप्त गर्ने नागरिकका लागि यो ठूलो उपलब्धि भएको बताए । साथै लालपुर्जा वितरण कार्यलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

सडक सीमा अतिक्रमण गरी राखिएका संरचना हटाउन सडक डिभिजन जुम्लाको ३० दिने अल्टिमेटम

मुगु । सडकको क्षेत्रा धिकार मिचेर राखिएका व्यापारिक सामान, निर्माण सामग्री तथा अस्थायी संरचना हटाउन सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतको मातहतमा रहेको सडक डिभिजन जुम्लाले मंसिर ९ गते सार्वजनिक सूचना जारी गर्दै सडक सीमा खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई आग्रह गरेको हो ।

सडक डिभिजन जुम्लाको कार्यक्षेत्रभित्र पर्ने कर्णाली राजमार्गको दैलेख खोला–नाग्मा–जुम्ला सडक खण्ड (NH-61) तथा नाग्मा–गमगढी सडक खण्ड (NH-60) को सडक सीमा तथा क्षेत्राधिकार भित्र व्यापारिक मालसामान राख्ने, गाईबस्तु बाँध्ने, सवारीसाधन पार्किङ गर्ने, निर्माण सामग्री थुपार्ने, सडक किनारमा अस्थायी वा खुद्रा व्यापार सञ्चालन गर्ने तथा टहरा, छाप्रा, घुम्ती, बार र घेराबार लगायतका संरचना निर्माण गर्ने कार्य नगर्न सूचना मार्फत सचेत गराइएको छ।

कार्यालयले सडकको नाली, पेटी तथा अन्य संरचनामा अवरोध पुग्ने गरी सामग्री राख्ने र विभिन्न गतिविधि सञ्चालन गर्दा सवारी आवागमन, सडक सुरक्षा, मर्मत सम्भार तथा निर्माण कार्यमा समस्या भइरहेको जनाएको छ ।

सूचनामा सडक सीमा तथा क्षेत्राधिकार भित्र राखिएका सम्पूर्ण माल सामान, निर्माण सामग्री, व्यापारिक सामग्री, अस्थायी संरचना तथा अन्य अवरोधहरू सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित व्यक्ति, संस्था वा निकाय आफैँले हटाई सडक क्षेत्र खाली गराउन अनुरोध गरिएको छ ।

त्यस्तै, आगामी दिनमा समेत सडक सीमा तथा क्षेत्राधिकार भित्र कुनै पनि किसिमका संरचना निर्माण गरी अवरोध सिर्जना नगर्न आग्रह गरिएको छ ।

तोकिएको अवधि भित्र सडक क्षेत्र खाली नगरेमा प्रचलित सार्वजनिक सडक ऐन, २०३१ तथा सम्बन्धित अन्य कानुनबमोजिम अनधिकृत संरचना र अवरोध हटाउने तथा भत्काउने लगायतका आवश्यक कारबाही सडक डिभिजन कार्यालय बाट अघि बढाइने सूचनामा उल्लेख छ।

कार्यालयले त्यस्ता संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति, संस्था वा निकायबाट असुलउपर गरिने जनाएको छ।

सामुहिक गिरफ्तारीको सरकारलाई चुनौती

स्याङ्जा । नेपाल पत्रकार महासंघको आवाहानमा देशभर भएको प्रदर्शनका क्रममा बुधबार स्याङ्जामा पनि पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय पुगेर बिरोध प्रदर्शन गर्दै सरकारलाई सामुहिक गिरफ्तारीको चुनौती दिएका छन् ।

महासंघको ठाडोलाईन स्थित कार्यालयबाट निस्केको पत्रकारहरुको जुलुस जिल्ला प्रशासन कार्यालय पुगेर धर्नामा परिणत भएको थियो । 

झन्डै आधा घन्टा कालो ब्यानर सहित धर्नामा बसेका पत्रकारहरुले श्रमजीवी पत्रकार ऐन लागू गर, संचारमाध्यमका कार्यालय अगाडि गाडी पार्किङ गर्ने काम बन्द गर, लोककल्याणकारी बिज्ञापनको भुक्तानी नियमित गर, निकालिएका पत्रकारको पुनर्बहाली गर, श्रम ऐनले तोकेको पारिश्रमिक भुक्तानी दे जस्ता नारा लगाउदै प्रमुख जिल्ला अधिकारीलाई धरनर्ना र बिरोध कार्यक्रमबारे जानकारी गराएका थिए ।

जन्ती बोकेको बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु , १३ जना घाइते

नवलपुर । नवलपुरको मध्य विन्दु नगरपालिका–११ अरुणखोलास्थित बाहुनीकुनामा जन्ती बोकेको बोलेरो जिप र ट्र्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय चुरेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

कावासोती नगरपालिका–१६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको लु २ च ८९९७ नम्बरको बोलेरो जिप र लु २ त २४१७ नम्बरको ट्र्याक्टर आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ८ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ती मध्य अस्विन चौधरी र निर्मल चौधरीको अवस्था गम्भीर रहेको डिएसपी पण्डिते बताए ।

दुर्घटनामा परि घाइते हुनेमा विनयी त्रिवेणी गाउँपालिका–४ का मिलन चौधरी, प्रिन्स विक, रविन चौधरी, रिजन चौधरी, गुलसन थापा, विशाल शर्मा, श्याम चौधरी, युवराज चौधरी र सुमेन्द्र चौधरी तथा मध्य विन्दु नगरपालिका–१० का आदेश आले रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते

नवलपुर । नवलपुरको मध्य बिन्दु १० अरुण खोलामा बोलेरो जिप दुर्घटना भएको छ । कावासोती १६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरी चौकी अरुण खोलाका प्रहरी सहायक निरीक्षक भीम बहादुर थापाका अनुसार मृत्यु हुनेमा विनयी त्रिवेणी ४ का ३० वर्षीय चुरेन्द्र चौधरी रहेका छन् । 

घाइतेहरू मध्य ९ जनाको मध्य विन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ भने २ जना गम्भीर घाइतेलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नामा खुलेको छैन । 

घटना बारे थप विवरण आउन बाँकी छ ।