काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालालाई दिएको छ । 

आज चुनदेवीमा बसेको देउवा पक्षीय नेताहरूको बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक समितिहरू गठन गर्ने सम्पूर्ण जिम्मेवारी कोइरालालाई दिने निर्णय गरेको नेता जीतजंग बस्नेतले जानकारी दिए ।

उनले भने, ‘ लगभग १५–२० वटा समिति छन् । ती समितिहरू गठन गर्नको लागि जिम्मा हामीले १५औँ महाधिवेशनका संयोजक डा. शशाङ्क कोइरालालाई दिएका छौँ । अब उहाँले भोलिसम्म संयोजकहरू निर्णय गर्नुहुन्छ, अनि त्यसपछि संयोजकहरू आएपछि आफ्नो कमिटीमा सदस्यहरू राखेर यो महाधिवेशनको सम्पूर्ण कामहरू थालनी गर्नुहुन्छ ।’

बस्नेतका अनुसार कोइरालाले भोलिसम्म विभिन्न समितिका संयोजकहरू चयन गर्नेछन् । त्यसपछि सम्बन्धित संयोजकहरूले आफ्नो समितिमा सदस्यहरू मनोनयन गरी महाधिवेशनको तयारीसम्बन्धी काम अघि बढाउनेछन् । 

महाधिवेशन सम्पन्न गर्न व्यवस्थापन समिति, स्वयंसेवक समिति, मञ्च व्यवस्थापन समितिलगायत करिब १५ देखि २० वटा समिति गठन गरिने बस्नेतले बताए । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले आफूहरू नै नेपाली कांग्रेसको आधिकारिक पक्ष भएको दाबी गरे । उनले पार्टीको विधान, संविधान, निर्वाचन आयोगका पूर्वनिर्णय, सर्वोच्च अदालतका नजिर तथा पार्टीको परम्पराका आधारमा आधिकारिकता आफूहरूले पाउने विश्वास व्यक्त गरे ।

निर्वाचन आयोगद्वारा फेरि पनि गगन नेतृत्वको काङ्ग्रेसलाई नै मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाको नेतृत्वमा गठित नयाँ केन्द्रीय कार्यसमितिलाई फेरि पनि आधिकारिक मान्यता प्रदान गरेको छ । 

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिसँगै महाधिवेशनले पारित गरेको संशोधित विधान तथा राजनीतिक दस्तावेजहरूलाई समेत आयोगले औपचारिक रूपमा अद्यावधिक गरेको हो । 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार काङ्ग्रेसले अद्यावधिकका लागि पेस गरेका सम्पूर्ण कागजपत्र, महाधिवेशनका निर्णय र विधान संशोधनसम्बन्धी विवरणहरूको कानुनी अध्ययन गरी आयोगको मङ्गलबारको बैठकले स्वीकृत गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयबमोजिम आयोगले आज बुधबार नेपाली काङ्ग्रेसलाई विवरण अद्यावधिक गरिएको आधिकारिक पत्र प्रदान गरेको प्रवक्ता भट्टराईले जानकारी दिए । उनले महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र विधानलगायतका सबै विवरण आयोगको अभिलेखमा अद्यावधिक भइसकेको स्पष्ट पारे । 

काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले पनि निर्वाचन आयोगबाट कार्यसमिति तथा विधान अद्यावधिक भएको आधिकारिक पत्र प्राप्त भइसकेको पुष्टि पारे । 

सभापति थापाले पनि जारी पार्टी केन्द्रीय समितिको बैठकमा पन्ध्रौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाइ निर्वाचन आयोगले अध्यावधिक गर्ने निर्णय गरेको जानकारी सहितको पत्र प्राप्त भएको बताउनु भएको थियो । 

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई पनि आयोगले आधिकारिकता दिएको थियो। सोही कार्यसमितिले सम्पन्न गरेको १५औँ नियमित महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। महाधिवेशनपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते विधान संशोधनको विवरण, राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयहरूबसहित अद्यावधिकका लागि आयोगमा निवेदन दर्ता गराएको थियो।

आयोगको यो निर्णयसँगै काङ्ग्रेसको संस्थागत अभिलेखमा थापा नेतृत्वको कार्यसमितिले पुनः पूर्ण वैधानिकता पाएको छ।

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले निवेदकले माग गरेबमोजिम तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो ।

डा. मनोजकुमार के.सी. नेपाल सरकारको २०८३ साल मंसिर १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्तिपत्र बुझेर कार्यभार सम्हालिसकेको अवस्था रहेको भन्दै अदालतले अन्तरिम आदेश जारी नगरेको हो ।

अदालतले प्रहरी संगठनको नेतृत्व देशको शान्ति सुरक्षा कायम गर्ने विषयसँग प्रत्यक्ष जोडिएको सार्वजनिक महत्वको संवेदनशील विषय भएको उल्लेख गरेको छ । रिट निवेदनमा उठाइएका कानुनी प्रश्न र निवेदकले माग गरेको न्यायिक उपचारको विषय अन्तिम सुनुवाइका क्रममा निरुपण हुने प्रकृतिको देखिएको आदेशमा उल्लेख छ ।

त्यस्तै, सुविधा सन्तुलनका दृष्टिले पनि तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको सर्वोच्चको ठहर छ ।

यद्यपि, अदालतले रिट निवेदनमा उठाइएका विषयको महत्व, गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै मुद्दाको शीघ्र सुनुवाइ गर्न आदेश दिएको छ ।

आदेशअनुसार प्रत्यर्थीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा लिखित जवाफ पेस गर्ने अवधि समाप्त भएपछि सात दिनभित्र मुद्दा पेसीमा चढाउनुपर्नेछ । साथै, पेसी नहट्ने पूर्वसूचनासहित दुवै पक्षलाई जानकारी गराएर नियमानुसार सुनुवाइका लागि पेस गर्न भनिएको छ ।

उक्त रिट निवेदनमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य, दिनमणि पोखरेल, अमर थापालगायतले बहस गरेका थिए ।

सरकारका तर्फबाट महान्यायाधिवक्ता नारायणदत्त कडेलसहित सरकारी वकिलहरूले बहस गरेका थिए । त्यस्तै, डा. मनोजकुमार के.सी.का तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट तथा अन्य अधिवक्ताहरूले र प्रहरी प्रधान कार्यालयका तर्फबाट अधिवक्ता करुणाकर मल्लिकले बहस गरेका थिए ।

whatsapp-image-2026-11-25-at-60620-pm_dbcfbcfb.jpegwhatsapp-image-2026-11-25-at-60620-pm-1_3c2453f0.jpeg​​​​​​​

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगलाई निर्देशन दिएको छ ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले ग्यास उद्योगलाई पत्राचार गर्दै देशभर ग्यासको आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगलाई विभिन्न निर्देशन दिएको हो ।

निगमले सबै एलपी ग्यास उद्योगहरूलाई बजारको मागअनुसार ग्यासको आयात अधिकतम रूपमा बढाउन, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी ग्यास मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेटहरू समयमै छुटाई आपूर्ति प्रणालीमा ल्याउन आग्रह गरेको छ ।

काठमाडौँ-धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

काभ्रे । काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेल क्षेत्रमा पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि विस्तार गर्न मैत्री पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोही सिलसिलामा धुलिखेल नगरपालिका-७ स्थित पार्कलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन दुवै पालिकाबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमबीच मंगलबार हस्ताक्षर भएको छ ।

सम्झौतामा उक्त पार्कलाई पारिवारिक मनोरञ्जन तथा विश्रामका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको छ । पार्क निर्माणका लागि रु सात करोड बजेट आवश्यक पर्ने पूर्वानुमान गरिएको छ ।

तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सम्झौताअनुसार चालु आर्थिक वर्षमा रु एक करोड खर्च गरिने छ । पार्क निर्माणले धुलिखेलमा आन्तरिक पर्यटकको आकर्षण बढाउने तथा स्थानीय आर्थिक गतिविधिमा चलायमान बनाउन सहयोग पुग्ने  कार्यवाहक प्रमुख जंगमले विश्वास व्यक्त गरे । 

उनले सम्झौताले दुई नगरपालिकाबीचको संस्थागत सहकार्य र  नागरिकबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने विश्वास समेत व्यक्त गरे । Tags :काठमाडौँ महानगरपालिका

कार्यवाहक प्रमुख डंगोलबाट अटिजम भएका बालबालिकाका लागि स्कुलको शिलान्यास

काठमाडौँ । काठमाडौं महानगरपालिकाले वडा नं. २९ मा अटिजम स्कुलको शिलान्यास गरेको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधवार बिहान स्कुलको शिलान्यास गरेकी हुन् ।

वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयका साथमा भवन निर्माणका लागि जग पूजा र शिलान्यास गरे । शिलान्यास कार्यक्रमपछि आयोजित समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले हरेक बालबालिकाले पढ्न पाउनुपर्ने र अरु सरह नै समान अधिकार पाउनुपर्ने बताइन् ।

अटिजम भएका कारणले फिजिकल डिजिबिलेटी भएका कारणले गर्दा शिक्षाबाट वञ्चित हुन नपर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने बताइन्। उनले शारीरिक अशक्तता भएकै कारणले शिक्षा लगायतको अधिकारबाट वञ्चित रहने बालबालिका धेरै रहेको भन्दै उनीहरूलाई सरकारले अधिकार दिनुपर्ने बताइन् । 

 महानगरले सबैको साझा सपनामा एउटा इँटा थप गर्ने काम मात्रै गरेको उनको भनाइ छ । काठमाडौंमा अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकहरूको सहयोग र सेवाको आवश्यकता बढ्दै गएको छ । यस बेला महानगरपालिकाले निर्माण गर्ने यो भवन अटिजम भएका विद्यार्थीहरूको सिप तथा ज्ञान अभिवृद्धि गर्न, तालिम तथा अध्ययन अनुसन्धान गर्न तथा यस्ता बालबालिकाका अभिभावकहरूको सहायताका लागि बहुउपयोगी हुने उनको विश्वास छ ।

अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री गर्ने एक पुरुष पक्राउ

काठमाडौँ । अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा काठमाडौँको टोखाबाट एक जना पुरुष पक्राउ परेका छन्।

मंगलबार दिउँसो करिब १ बजे जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका-१ स्थित भण्डारे क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार धादिङको सिद्धलेक गाउँपालिका-२ घर भई हाल काठमाडौँको टोखामा बस्दै आएका ४४ वर्षीय लक्ष्मण गुरुङलाई अखाद्य पदार्थ मिसावट गरिएको भनिएको १५ बाल्टिन (३८४ केजी) महसहित फेला पारिएको थियो।

गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

विमानस्थलबाट २ किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।

हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो ।

मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सह प्रवक्ता उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

बरामद वस्तुको परीक्षण तथा अनुसन्धान भइरहेको छ ।

निवर्तमान आईजीपी कार्कीको रिट नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा

काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा हुने भएको छ ।

आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले आईजीपीमा पुनर्वाहलीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि दुई पटकसम्म कार्कीको मुद्दाका पेसी तोकिएको थियो । ७ मंसिरमा सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी परेको थियो ।

कार्कीलाई सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि आईजीपीमा बढुवा गरिएका डा. मनोजकुमार के.सी.ले म्याद बुझेको प्रमाण पेस नभएको भन्दै ७ मंसिरको सुनुवाइ ९ मंसिरलाई पेसीको मिति तोकेर सकिएको थियो ।

१८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । उनको ठाउँमा डा. मनोजकुमार के.सी.लाई आईजीपी बनाइएको थियो ।

उक्त रिटको पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री बालेन्द्र शाहले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन्।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैंगिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको उल्लेख गरे।

उनले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै बदलिँदो परिवेशमा डिजिटल माध्यमबाट हुने हिंसासमेत थप चुनौतीका रूपमा देखिएको बताए।

संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।

प्रधानमन्त्री शाहले लैंगिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई सरकारले प्राथमिकता दिएको उल्लेख गरे।

यी प्रयासलाई प्रभावकारी बनाउन कानुनको कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ।

यसै वर्ष भदौ महिनामा भोटेकोशी क्षेत्रमा गएको बाढीले पुर्‍याएको क्षतिको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा लैंगिक हिंसाको जोखिम बढ्न सक्नेतर्फ विशेष सचेत रहनसमेत आग्रह गरे।

अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आम नागरिकको सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि उनले आह्वान गरे।