काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

स्विस कूटनीतिक अधिकारीलाई ४८ घण्टाभित्र उत्तर कोरिया छाड्न आदेश

उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ। 

स्विट्जरल्यान्डले उत्तर कोरियाली बाल शिविरमाथि प्रतिबन्ध लगाएपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो।

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार विदेश मन्त्रालयले एस्टियरलाई अवाञ्छित व्यक्ति घोषणा गर्दै देश छाड्न निर्देशन दिएको हो।

उत्तर कोरियाको विदेश मन्त्रालयअन्तर्गत युरोपेली विभागका महानिर्देशक पाक ह्योन सुले एस्टियरलाई बोलाएर कूटनीतिक कार्यालय बन्द गर्न आग्रह गरिएको मन्त्रालयको ज्ञापनपत्र हस्तान्तरण गरेका थिए।

उत्तर कोरियाले वोनसानस्थित सोङडोवन अन्तर्राष्ट्रिय बाल शिविरलाई प्रतिबन्धको सूचीमा राख्ने स्विस अधिकारीहरूको निर्णयलाई आफ्नो कदमको कारण बताएको छ।

उक्त शिविरमा रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रबाट ल्याइएका बालबालिकालाई प्रभावित पार्ने गतिविधिमा सहयोग गरेको आरोप लाग्दै आएको छ।

‘हिंसा गर्नेहरू डराउने समाज बनाऔँ’ : लैङ्गिक हिंसाविरुद्ध एकजुट हुन मन्त्री बादीको आह्वान

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन र हिंसा गर्नेहरू डराउने समाज निर्माण गर्न सबैमा आह्वान गरेकी छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सन्देश जारी गर्दै मन्त्री बादीले हिंसा, विभेद र अपमान कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताए । महिलाको सम्मान, सुरक्षा र समान सहभागिता सुनिश्चित नभएसम्म लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुन नसक्ने उनको भनाइ छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा सञ्चालन हुने यस अभियानलाई हिंसामुक्त, विभेदरहित, न्यायपूर्ण तथा समतामूलक समाज निर्माणको साझा प्रतिबद्धताका रूपमा लिनुपर्ने उनले उल्लेख गरे । नेपालको संविधानले समानता, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले प्रचलित कानुनको प्रभावकारी कार्यान्वयनमार्फत हिंसाका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् ।

मन्त्री बादीले डिजिटल तथा साइबर हिंसा, बालबालिकामाथिको हिंसा र सीमान्तकृत समुदायमाथि हुने हिंसालगायत सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध राज्यका निकाय, कानुन कार्यान्वयन गर्ने पदाधिकारी तथा आम नागरिकलाई एकजुट भएर आवाज उठाउन आह्वान गरिन् । कुनै पनि पहुँच, शक्ति, प्रतिष्ठा वा पदका आधारमा पीडकले कानुनी उन्मुक्ति पाउन नहुने उल्लेख गर्दै उनले दोषीलाई कानुनी कारबाही र पीडितलाई न्याय, संरक्षण तथा सम्मान सुनिश्चित गर्नुपर्ने बताइन् ।

‘महिलाको सुरक्षा महिलाको मात्र नभई सम्पूर्ण समाज र राज्यको जिम्मेवारी हो,’ मन्त्री बादीले भनिन्,’ पीडित न्यायको खोजीमा राज्यका निकायमा पुग्दा उनीहरूप्रति संवेदनशीलता, जिम्मेवारी र तदारुकताका साथ व्यवहार गर्नुपर्छ ।’ उनले पीडितको पीडालाई आफ्नै परिवारको सदस्यले भोग्नुपरेको अवस्थासरह संवेदनशील भएर सहयोग, उद्धार र न्यायका लागि काम गर्न सबैलाई आग्रह गरिन् ।

मन्त्री बादीले सरकारी तथा निजी क्षेत्रका कर्मचारी, आमाबुवा, शिक्षक, विद्यार्थी, नागरिक समाज, राजनीतिक दल, विभिन्न संघसंस्था तथा सम्पूर्ण नागरिकलाई लैङ्गिक हिंसाविरुद्ध आआफ्नो ठाउँबाट आवाज उठाउन र खुलेर बोल्नसमेत आग्रह गरिन् ।

हिंसा गर्ने सोच र प्रवृत्तिलाई निरुत्साहित गर्दै पीडितले न्याय पाउने व्यवस्था सुनिश्चित गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उनले हिंसामुक्त नेपालको निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्न आह्वान गरिन् ।

दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार विभिन्न पाँच खेलका प्रतिस्पर्धा हुँदैछन् । आज पुरुष फुटबल, महिला क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडीतर्फ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष फुटबलतर्फ आज दुई खेल हुनेछन् । बिहान ९ बजे नेपाल आर्मी र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो २ः३० बजे कोशी प्रदेश र बागमती प्रदेश आमनेसामने हुनेछन् ।

महिला क्रिकेटतर्फ वीरेन्द्रनगर क्रिकेट मैदानमा दुई खेल हुनेछन् । बिहान ९ः३० बजे बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो १ः१५ बजे कोशी प्रदेशले आयोजक कर्णाली प्रदेशसँग खेल्नेछ ।

महिला बास्केटबलतर्फ फुल कोर्ट र थ्री एक्स थ्री विधाका खेल सञ्चालन हुनेछन् । फुल कोर्टमा बिहान ९ बजे नेपाल पुलिस र कर्णाली प्रदेश तथा १० बजे मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, थ्री एक्स थ्रीतर्फ दिउँसो १२ः१० बजे नेपाल आर्मी र एपीएफ तथा १२ः३० बजे मधेश प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ ।

टेनिसका खेलहरू बर्दियाको गुलरियामा सञ्चालन हुनेछन् । बिहान ८ः३० बजेदेखि सुरु हुने खेलमा महिला एकल र पुरुष युगल विधाका प्रतिस्पर्धा हुनेछन् । दिनभर महिला एकल, पुरुष युगल र मिश्रित युगल गरी १५ खेलको तालिका रहेको छ ।

पौडीतर्फ आज ११ विधामा प्रतिस्पर्धा हुनेछ । महिला फ्रिस्टाइल ८०० मिटर र पुरुष इन्डिभिजुअल मिडले ४०० मिटरबाट सुरु हुने प्रतिस्पर्धामा महिला तथा पुरुष बटरफ्लाइ ५० मिटर, फ्रिस्टाइल २०० मिटर र ब्याकस्ट्रोक १०० मिटरका खेल हुनेछन् । त्यस्तै महिला मिडले रिले ४×१०० मिटर, पुरुष फ्रिस्टाइल रिले ४×२०० मिटर र मिश्रित मिडले रिले ४×५० मिटरमा पनि प्रतिस्पर्धा हुनेछ । पौडीका खेल स्वचालित टाइमिङ प्रणालीमार्फत सञ्चालन हुनेछन् ।

औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि दशौं राष्ट्रिय खेलकुदका प्रतिस्पर्धात्मक खेलहरू मंसिर ८ गतेदेखि नै सुरु भएका हुन् । कर्णाली प्रदेशमा आयोजना भइरहेको प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय टोलीका खेलाडीहरू उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विदेशस्थित आफ्नो देशका कुनै पनि कूटनीतिक नियोगमा प्रवेश गरेपनि पक्राउ पर्ने भएकी छन् । बंगलादेशकी विदेश मामिलासम्बन्धी राज्यमन्त्री–२ शमा ओबेद इस्लामले विदेशमा रहेका बंगलादेशका ८४ वटै कूटनीतिक नियोगलाई बंगलादेशकै भूभाग मानिने भन्दै हसिना त्यहाँ पुगे पनि पक्राउ गरिने बताएकी छन् ।

द डेली स्टारका अनुसार मंगलबार विदेश मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री इस्लामले हसिना बंगलादेश फर्किए तत्काल पक्राउ गरी जेल पठाइने सरकारको अडान दोहो¥याएकी हुन् । उनले हसिना जहाँ गए पनि पक्राउबाट उम्कन नसक्ने बताइन् ।

‘विदेशमा रहेका हाम्रा ८४ वटै कूटनीतिक नियोगलाई बंगलादेशकै भूभाग मानिन्छ । उनी जहाँ गए पनि पक्राउ पर्नेछिन्,’ उनले भनिन् । राज्यमन्त्री इस्लामले हसिनालाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा दोषी ठहर भइसकेको व्यक्ति भन्दै उनीमाथि अन्य फरार दोषीलाई लागू हुने कानुन नै कार्यान्वयन गरिने बताइन् । विदेशबाट फर्किने कुनै पनि अभियुक्त वा दोषीलाई तत्काल पक्राउ गरी जेल पठाइने र हसिनाका हकमा विशेष व्यवहार नगरिने उनको भनाइ छ ।

उनको यो भनाइ हसिनाले आगामी डिसेम्बर १६ मा बंगलादेश फर्किने इच्छा व्यक्त गरेको खबर सार्वजनिक भइरहेका बेला आएको हो । हसिनाले भारतको नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बिमान बंगलादेश एयरलाइन्समार्फत स्वदेश फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन बंगलादेश सरकारसँग आग्रह गरेको समाचार सार्वजनिक भएको थियो ।

तर, राज्यमन्त्री इस्लामले हसिनालाई स्वदेश ल्याउन सरकारले कुनै तयारी नगरेको स्पष्ट पारिन् । उनका अनुसार हसिनालाई ल्याउन विमान, हेलिकोप्टर, बस, कार वा रिक्सा पठाउने विषयमा समेत सरकारभित्र कुनै छलफल भएको छैन ।

‘डिसेम्बर १६ वा १७ मा फर्किने भन्ने राजनीतिक प्रचारको कुनै अर्थ छैन । उनी आउन सक्छिन्, तर आएमा पक्राउ गरी जेल पठाइनेछ,’ उनले भनिन् । बंगलादेश सरकारले विदेशमा शरण लिएका दोषी व्यक्तिलाई स्वदेश फर्काउन कूटनीतिक माध्यम र विद्यमान सुपुर्दगी सन्धिअनुसार पहल गरिरहेको पनि उनले बताइन् । यस विषयमा भारत सरकारसँग निरन्तर संवाद भइरहेको उनको भनाइ छ ।

राज्यमन्त्रीले अवामी लिगका नेता तथा कार्यकर्ताले बंगलादेशमा अशान्ति सिर्जना गर्ने गतिविधि गरिरहेको आरोपसमेत लगाइन् । देश छाडेपछि हसिनाले आफ्ना समर्थकलाई अलपत्र पारेको उनको आरोप थियो । मानवताविरुद्धका अपराधमा दोषी ठहर भएका व्यक्तिलाई राहदानी वा राष्ट्रिय परिचयपत्र जारी गर्न सरकार बाध्य नरहेको पनि उनले बताइन् ।

यसअघि विदेश मामिलासम्बन्धी राज्यमन्त्री हुमायुन कबिरले पनि ढाकामा विदेशी कूटनीतिज्ञलाई जानकारी गराउने क्रममा हसिना स्वदेश फर्किए पक्राउ पर्ने चेतावनी दिएका थिए । उनले अवामी लिगले सार्वजनिक शान्ति र व्यवस्थामा असर पार्न सक्ने गतिविधि सुरु गरेको आरोपसमेत लगाएका थिए । यसैबीच, हसिनाले स्वदेश फर्किने इच्छा व्यक्त गरेपछि बंगलादेशको सीमा सुरक्षा बल (बीजीबी) ले भारतसँगको सीमा क्षेत्रमा गस्ती बढाएको समाचारमा उल्लेख छ ।

सन् २०२४ जुलाईमा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि अगस्ट ५ मा बंगलादेश छाडेर भारत पुगेकी हसिना त्यसयता नयाँदिल्लीमा रहँदै आएकी छन् । सन् १९७१ मा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेको दिनको सम्झनामा बंगलादेशले हरेक वर्ष डिसेम्बर १६ लाई विजय दिवसका रूपमा मनाउँदै आएको छ । 

एनपीएलका आठै फ्रेन्चाइजसँग खेलकुदमन्त्री : आगामी सिजनदेखि नै ‘होम एन्ड अवे’ ढाँचामा खेल खेलाउने र रङ्गशाला निर्माण गर्नेबारे छलफल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग क्रिकेट रङ्गशाला निर्माण र ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने विषयमा छलफल गरेका छन् । 

प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु रङ्गशाला निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा लिग सञ्चालन गर्ने घोषणा गरेपछि त्यसको कार्यान्वयन मोडालिटीबारे मन्त्रालयले सरोकारवालासँग परामर्श थालेको हो ।

छलफलमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कासहित आठवटै फ्रेन्चाइज टोलीका प्रतिनिधि सहभागी थिए ।

छलफलमा मन्त्री पोखरेलले एकैपटक आठवटै रङ्गशाला निर्माण गर्नुभन्दा यथार्थपरक योजना बनाएर चरणबद्ध रूपमा अगाडि बढ्ने विषय राखे । आगामी चौथो संस्करणदेखि नै दुईदेखि तीनवटा भेन्युबाट ‘होम एन्ड अवे’ को अभ्यास सुरु गर्ने र पाँचौँ तथा छैटौँ सिजनसम्म पुग्दा आठवटै घरेलु मैदानमा खेल संचालन गर्न सकिने विषयमा छलफल गर्न खोजिएको बताए ।

यसबाट क्लबहरूको स्वामित्व र अपनत्व हुँदा निर्माण छिटो हुने र समर्थकमाझ पनि सकारात्मक सन्देश जाने उनको भनाइ थियो ।

छलफलमा अन्तर्राष्ट्रिय स्तरको प्रसारण, प्रोडक्सन र रिभ्यु सिस्टम (डीआरएस) का कारण एउटै मैदानमा लिग गर्दा पनि लागत उच्च रहेको विषय उठेको थियो। सोही सन्दर्भमा ‘होम एन्ड अवे’ प्रणालीमा जाँदा लागत साझेदारी (कस्ट सेयरिङ) र रेभिन्यु सेयरिङको स्पष्ट खाका बनाएर अगाडि बढ्ने समझदारी बनेको छ ।

बैठकमा क्यान सचिव पारस खड्काले कीर्तिपुरस्थित टियु मैदान र मूलपानीको विद्यमान महँगो डीपीआरलाई परिमार्जन गरि सहुलियत बजेटमा टियु, मूलपानी र चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशाला छोटो समयभित्रै तयार पार्न सकिने प्रस्ताव प्रस्तुत गरे । 

फ्रेन्चाइज क्लबका प्रतिनिधिहरूले पनि आगामी सिजनका लागि तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो। अन्य मैदानको हकमा अपसी सहकार्य गरेर रंगशाला निर्माणमा पनि लाग्नसक्ने विषय उनीहरुको थियो ।

सरकारले दीर्घकालीन स्पष्ट नीतिगत व्यवस्था गरिदिए रङ्गशाला निर्माण तथा सञ्चालनमा निजी क्षेत्रबाट लगानी भित्र्याउन पनि आफूहरू तयार रहेको उनीहरुले बताउनुभयो। यस्तै, क्लबका प्रतिनिधिहरुले खेलकुद पूर्वाधारमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन र प्रायोजनसम्बन्धी नीतिगत जटिलता फुकाउन सरकारसँग आग्रह गरेका छन् ।

सिड्नीमा एकै गाडीमा सातवटा विद्युतीय उपकरण जडान, चालकलाई प्रहरीको कारबाही

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा गाडीको अगाडिको सिसा र ड्यासबोर्डमा सातवटा मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण जडान गरी सवारी चलाउने एक चालकलाई प्रहरीले कारबाही गरेको छ ।

न्यु साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीले दिएको जानकारीअनुसार नोभेम्बर १७ मा बेराला क्षेत्रमा नियमित गस्तीका क्रममा लिडकमका एक पुरुष चालकको गाडी रोकेर जाँच गर्दा उक्त असामान्य दृश्य फेला परेको थियो ।

प्रहरीले गाडीको अगाडिको सिसा र ड्यासबोर्डमा विभिन्न स्थानमा सातवटा विद्युतीय उपकरणका स्क्रिन जडान गरिएको पाएको थियो । तीमध्ये एउटा स्क्रिनमा युट्युबको श्रव्यदृश्य सामग्रीसमेत सञ्चालन भइरहेको थियो ।

यस घटनामा प्रहरीले चालकलाई सडकको दृश्य अवरुद्ध हुने गरी उपकरण जडान गरेको र सवारी चलाउँदा चालकको दृष्टिमा पर्ने स्थानमा श्रव्यदृश्य सामग्री सञ्चालन गरेको आरोपमा दुईवटा जरिवाना सूचना जारी गरेको छ ।

प्रहरीले सार्वजनिक गरेको तस्बिरमा गाडीको अगाडिको भागभरि विभिन्न आकारका मोबाइल फोन तथा अन्य स्क्रिनहरू जडान गरिएको देखिन्छ ।

एनएसडब्ल्यू प्रहरीले सवारी चलाउँदा चालकको ध्यान सडकमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै यस्ता उपकरणले चालकको ध्यान भंग गराउनुका साथै दुर्घटनाको जोखिम बढाउन सक्ने चेतावनी दिएको छ ।

प्रहरीका अनुसार प्रतिघण्टा ५० किलोमिटरको गतिमा गुडिरहेको गाडीमा चालकले चार सेकेन्डसम्म सडकबाट आँखा हटाउँदा गाडी करिब ५५ मिटर अगाडि बढिसकेको हुन्छ ।

प्रहरीले चालकहरूलाई अगाडिको सडक दृश्य छेक्ने गरी कुनै पनि उपकरण जडान नगर्न तथा सवारी चलाउँदा मोबाइल फोन वा अन्य स्क्रिनमा श्रव्यदृश्य सामग्री नहेर्न आग्रह गरेको छ ।

महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र अन्याय अन्त्य गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

महिला हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महिलालाई सम्मान, सुरक्षा, स्वतन्त्रता र समान अवसरसहित जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताए ।

उनले कुनै पनि राष्ट्रको प्रगति त्यतिबेला मात्र दिगो र अर्थपूर्ण हुने उल्लेख गर्दै महिलाले भयमुक्त वातावरणमा आफ्ना क्षमता, प्रतिभा र सम्भावनालाई पूर्ण रूपमा विकास गर्न पाउने अवस्था सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

महिला परिवारको आधारस्तम्भ मात्र नभई सामाजिक परिवर्तन, आर्थिक समृद्धि, लोकतान्त्रिक सुदृढीकरण तथा राष्ट्र निर्माणका महत्वपूर्ण संवाहक भएको उनको भनाइ छ । महिलाविरुद्ध हुने हिंसा मानवअधिकारको उल्लङ्घन मात्र नभई सभ्य समाजको विकासमा अवरोध पु¥याउने गम्भीर सामाजिक चुनौती भएको उनले बताए ।

नेपालले संविधान, कानुन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतामार्फत लैङ्गिक समानता र महिला अधिकार सुनिश्चित गर्ने अठोट व्यक्त गरे पनि सामाजिक पूर्वाग्रह, हानिकारक परम्परा, आर्थिक निर्भरता, शक्ति असन्तुलन र चेतनाको अभावका कारण महिलामाथि हिंसा तथा दुव्र्यवहारका घटना भइरहनु चिन्ताजनक रहेको उपराष्ट्रपति यादवले उल्लेख गरे ।

उनले यस्ता चुनौती समाधानका लागि कानुनी व्यवस्थासँगै परिवार, विद्यालय, समुदाय, सञ्चारमाध्यम तथा सार्वजनिक संस्थाहरूको साझा जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको बताए । 

महिला सशक्तीकरणका लागि शिक्षा, सीप, नेतृत्व विकास र आर्थिक स्वावलम्बनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले महिलालाई निर्णय प्रक्रियामा समान अवसर र सम्मानजनक सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।

दिवसले हिंसाप्रति शून्य सहनशीलताको संस्कृति विकास गर्दै पारस्परिक सम्मान, मानव मर्यादा र समान अवसरमा आधारित सामाजिक चेतना विस्तार गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे । उपराष्ट्रपति यादवले प्रत्येक घर, समुदाय र कार्यस्थल महिलाका लागि सुरक्षित, समावेशी र उत्साहवद्र्धक बनाउन सबैलाई साझा प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरे ।

सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता, नेपाल–कतार सम्बन्ध थप सुदृढ बनाउनु पर्नेमा जोड

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत महामहिम मिशाल मोहम्मद अली अलअन्सारीबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । 

सभामुख अर्यालले कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पु¥याएको योगदानको चर्चा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्यमा जोड दिए । साथै, नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा कतारी लगानी भित्राउन आग्रह गरे ।

नेपालको कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सम्भावनाबारे चर्चा गर्दै उनले नेपालबाट उत्पादित फलफूल, तरकारी, अन्नलगायतका कृषि उपज कतारमा निर्यात गर्ने वातावरण निर्माणका लागि आवश्यक समन्वय गर्न आग्रह गरे । 

त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न तथा हवाई सम्पर्क विस्तारमार्फत पर्यटन र व्यापार प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । खेलकुदको विकास र प्रवद्र्धनका लागि पनि दुई देशबीच सहकार्य विस्तार गर्न उनले आग्रह गरे ।

भेटमा सभामुखले भोटेकोशी नदीमा आएको बाढीपछि कतार सरकारले प्रदान गरेको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद व्यक्त गर्दै नेपालको पुनर्निर्माण तथा पुनः स्थापनामा थप सहयोगको अपेक्षा गरे । साथै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुई देशबीच रहँदै आएको सहकार्यलाई निरन्तरता दिनुपर्ने र विश्व शान्ति तथा स्थायित्वका लागि संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

राजदूत अन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताए ।

सरकारका कमजोरी औँल्याउनु र नागरिकका पक्षमा प्रश्न उठाउनु कांग्रेसको जिम्मेवारी हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई आवश्यक विषयमा सहयोग गर्ने र सरकारले गरेका काममा देखिएका कमजोरी तथा कमीकमजोरी औँल्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दलको भएको बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले नागरिकका सरोकारका विषयमा सरकारलाई सहयोग गर्ने तर सरकारले आफ्नो जिम्मेवारी पूरा नगरेका विषयमा प्रश्न उठाउने पार्टीको नीति रहेको बताए । 

उनले सुकुम्बासी समस्याको समाधानमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । संसद्बाट पारित भएर राष्ट्रिय सभामा अड्किएको कानुनलाई समयमै अघि बढाइएको भए अहिले कानुनी आधारमा सुकुम्बासी समस्या समाधान गर्ने प्रक्रिया धेरै अगाडि बढिसक्ने उनको दाबी छ । 

थापाले अहिले सुकुम्बासी समस्या कुन अवस्थामा पुगेको छ भन्ने विषयमा समेत स्पष्टता नरहेको बताए । वीरगञ्जका बासिन्दाहरूले आफूहरूसँग भेटेर समस्या सुनाएको उल्लेख गर्दै उनले राज्यले संविधान, नियम र अदालतका आदेशसमेत पालना नगरी व्यवहार गर्दा वास्तविक सुकुम्बासीसँगै घरबार भएका नागरिकसमेत सुकुम्बासी बन्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले यस्ता विषयमा नेपाली कांग्रेस मौन बस्न नसक्ने उल्लेख गरे ।

त्यस्तै, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले नेपालको विषयवस्तु प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरे पनि त्यसपछि सरकारले गरेका पहल र उपलब्धिबारे प्रश्न उठाए । जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप)मा प्रधानमन्त्रीले हिमालसम्बन्धी पहलसहित विभिन्न प्रस्ताव अघि सारे पनि त्यसको कार्यान्वयन र उपलब्धिबारे सरकारले स्पष्ट पार्नुपर्ने उनले बताए । 

उनले हिमालसम्बन्धी पहल भारत र चीनसँगको छलफलमा अघि बढेको छ कि छैन तथा त्यसका लागि आवश्यक संरचना निर्माण भएको छ कि छैन भन्ने प्रश्न गरे । जलवायु न्यायका सन्दर्भमा नेपालले के उपलब्धि हासिल ग¥यो भन्ने विषयमा पनि सरकारले जवाफ दिनुपर्ने उनले बताए ।

थापाले स्वास्थ्य बिमा कार्यक्रमसमेत अस्तव्यस्त बनेको आरोप लगाए । लामो प्रयासपछि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा हजारौँ नागरिकले बिमा छाडिरहेको उल्लेख गर्दै उनले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

मेडिकल शिक्षा सुधारका लागि प्रधानमन्त्री कार्यालयमा सरोकारवालाबिच छलफल

काठमाडौं । मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ । 

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका विभिन्न मुद्दा र कार्यान्वयन हुन बाँकी सम्झौताका विषयमा समीक्षा गरिएको हो ।

बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदीशप्रसाद अग्रवाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्रबहादुर खत्री, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा तथा प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो । 

छलफलमा वरिष्ठ चिकित्सक डा। गोविन्द केसीसँग भएको सम्झौता तथा चिकित्सा शिक्षा सुधारका विषमाय भएको सम्झौताका कार्यान्वयनलाई विशेष प्राथमिकता दिइएको थियो ।

वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा विद्यार्थी र व्यवस्थापनबीच देखिएको विवाद समाधान गर्न समिति गठन गरी पठाउने तथा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा छलफल भएको छ । 

त्यसैगरी, कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्थामा अध्यादेशमार्फत संशोधन प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ । 

बैठकमा शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका क्रममा उठेका समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले डा। केसीसँग भएका सम्झौता कार्यान्वयनका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने स्पष्ट पारे ।

चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन आयोगलगायत सम्बन्धित संस्थाहरूबिच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो । 

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. अग्रवालले सम्झौता कार्यान्वयनसँगै मेडिकल शिक्षालाई सुदृढ, गुणस्तरीय र प्रभावकारी बनाउन अन्तरमन्त्रालय तथा सम्बन्धित निकायबिच सहकार्य अपरिहार्य रहेको बताए ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा।डा। खत्रीले चिकित्सा शिक्षाको गुणस्तर सुधार तथा नतिजा समयमै सार्वजनिक गर्नेलगायतका विषयमा आयोगले आवश्यक काम गरिरहेको जानकारी दिए । 

बैठकले चिकित्सा शिक्षा सुधारका लागि नीतिगत पहल र अन्तरनिकाय समन्वयलाई तीव्रता दिने दिशामा जोड दिएको छ ।