काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन् ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
उनले नेपाललाई प्राप्त ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटले पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासमा वित्तीय स्रोतको अभाव हुन नदिने बताए ।
नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक लगानीलाई ध्यानमा राखेर भारतसँग लाइन अफ क्रेडिटको व्यवस्था गरिएको उनको भनाइ छ ।
विशेष गरी प्रसारण लाइनलगायत ऊर्जा पूर्वाधारमा यस्तो सहुलियतपूर्ण ऋणको प्रभावकारी उपयोग गर्न सकिने उनले बताए । यसअघि डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावका कारण नेपालको दायित्व बढ्ने गरेको उल्लेख गर्दै वाग्लेले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प खुल्नु महत्वपूर्ण उपलब्धि भएको बताए । यद्यपि १८४ अर्ब रुपैयाँ बराबरको ऋण कुन ब्याजदरमा लिने, कति वर्षको अवधि हुने र ग्रेस पिरियड कति रहने भन्ने विषयमा प्राविधिक वार्ता हुन बाँकी रहेको उनले स्पष्ट पारे । ऋण डलरमा लिने कि भारतीय रुपैयाँमा लिने भन्ने विकल्प पनि खुला रहेको उनको भनाइ छ । यसअघि सडक निर्माणलगायतका आयोजनामा लाइन अफ क्रेडिट उपयोग गर्दा स्थानीय सामग्री प्रयोग र ठेकेदारसम्बन्धी सर्तका कारण समस्या आएको उल्लेख गर्दै उनले ऊर्जा क्षेत्रमा भने यसको उपयोग प्रभावकारी देखिएको बताए ।
