काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने

काठमाडौं । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज (मंगलबार) देशभर मौसम मूख्यतया सफा रहनेछ ।

यस्तै आज राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

प्रधानमन्त्री वालेन भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठज्यूले स्वागत गरेका छन् । 

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका शाहले नेपाल–भारत सम्बन्ध, ऊर्जा, व्यापार, पूर्वाधार विकासलगायतका विषयमा छलफल गरेका थिए । 

भ्रमणका क्रममा दुई देशबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान हुनुका साथै काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको थियो ।

भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किए

काठमाडौँ । भारतको दुईदिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाह सोमबार स्वदेश फर्किएका छन् ।

भारत भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री शाह सोमबार दिउँसो नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँका लागि प्रस्थान गरेका हुन् ।

उनलाई विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला लगायत भारत सरकार र नेपाली दूतावासका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए ।

प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध तथा विकास सहकार्यका विषयमा छलफल भएको थियो ।

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रोक्न सरकारसँग पत्रकार महासंघको माग, धुलिखेल सम्मेलनबाट १६ बुँदे प्रस्ताव पारित

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप, नियन्त्रण र संकुचन रोक्न सरकारसँग माग गरेको छ । महासंघले सञ्चारमाध्यममाथिको सरकारी हस्तक्षेप अन्त्य गर्न, प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन तथा सञ्चारसम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँग पर्याप्त छलफल गर्न आग्रह गरेको छ ।

काभ्रेको धुलिखेलमा मंसिर ५ र ६ गते आयोजित सरोकारवालासँगको सम्मेलन तथा बैठकबाट महासंघले १६ बुँदे प्रस्ताव पारित गर्दै यस्तो माग गरेको हो ।

महासंघका पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारमाध्यमका सम्पादक, नेपाल बार एसोसिएसनका प्रतिनिधि, कानुन व्यवसायी, प्रेससँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागितामा भएको सम्मेलनले प्रेस स्वतन्त्रता, लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, विधिको शासन र सूचनाको हकका विषयमा छलफल गरी प्रस्ताव पारित गरेको हो ।

महासंघले संविधान र प्रचलित कानुनले सुनिश्चित गरेका मौलिक तथा कानुनी अधिकारको प्रयोगमा संकुचन र नियन्त्रण बढ्दै गएको भन्दै सरकारलाई संविधानको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

त्यस्तै, प्रेस स्वतन्त्रता संकुचित गर्ने उद्देश्यले प्रस्तावित प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन र मिडिया काउन्सिल विधेयक तथा आमसञ्चार विधेयकलगायत सञ्चारसम्बन्धी कानुन सरोकारवालासँग व्यापक छलफल र परामर्श गरेर मात्र निर्माण गर्न माग गरेको छ ।

महासंघले प्रेस काउन्सिल, पत्रकार तथा सञ्चारमाध्यममाथि सरकारी निर्देशनका नाममा भइरहेको हस्तक्षेप र नियन्त्रण तत्काल रोक्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले पत्रकारलाई समाचारको स्रोत खुलाउन बाध्य पार्ने, त्यसका लागि प्रेस काउन्सिल तथा प्रहरी प्रशासनमार्फत केरकार, धम्की र दबाब दिने कार्य बन्द गर्न माग गरेको छ ।

सञ्चारमाध्यमको मुख्य प्रवेशद्वारमा सवारी अवरोध गराइएको तथा समाचार कक्षमा प्रहरी प्रवेश गरी समाचारको स्रोत खोजिएको घटनाको निन्दा गर्दै महासंघले उक्त घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

त्यस्तै, समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने तथा मोबाइल, ल्यापटप र क्यामेराजस्ता सञ्चार उपकरण नियन्त्रणमा लिने कार्य बन्द गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । पत्रकारका सञ्चार उपकरणमा रहेका तथ्यांक मेटाउने वा हटाउन बाध्य पार्ने सरकारी व्यवहारको समेत अन्त्य गर्न महासंघले माग गरेको छ ।

महासंघले पत्रपत्रिकाले प्रचलित कानुन र अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्राप्त गर्दै आएका लोककल्याणकारी सुविधा तथा विज्ञापन बन्द गर्ने वा कटौती गर्ने कार्यप्रति आपत्ति जनाएको छ ।

त्यस्तै, संघीयताको मर्मविपरीत प्रदेशमा दर्ता भएका सञ्चारमाध्यमलाई संघीय संरचनाबाट नियन्त्रण गर्ने प्रक्रिया अस्वीकार गर्दै प्रदेश सरकारमार्फत नै दर्ता तथा नवीकरणको व्यवस्था सहज बनाउन माग गरेको छ ।

सरकारको स्वामित्वमा रहेका गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पत्रकारलाई एकैपटक ठूलो संख्यामा हटाइएको भन्दै महासंघले हटाइएका सबै पत्रकारलाई पुनर्बहाली गर्न माग गरेको छ ।

महासंघले संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सुनिश्चित गरेको सूचनाको हक कार्यान्वयनमा जिम्मेवार सूचना आयोगलाई लामो समयसम्म नेतृत्वविहीन राखिएकोप्रति आपत्ति जनाएको छ ।

सूचनाको हक कार्यान्वयनमा अवरोध नगर्न र आयोगलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताको पूर्ण प्रत्याभूति गर्न, अदालतमा हुने राजनीतिक हस्तक्षेप र दबाब अन्त्य गर्न तथा संवैधानिक सर्वोच्चता कायम राख्न माग गरिएको छ ।

बन्दी प्रत्यक्षीकरणलगायत मौलिक हक हनन भएका अवस्थामा उपचारका लागि अदालत पुग्ने नागरिकका रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने वा अनावश्यक ढिलाइ गर्ने कार्य रोक्न पनि महासंघले आग्रह गरेको छ ।

महासंघले प्रेस काउन्सिलमा नेपाल पत्रकार महासंघको प्रतिनिधित्व सुनिश्चित नभए काउन्सिलले जारी गरेको आचारसंहिता पालना गर्न आफू बाध्य नहुने स्पष्ट पारेको छ ।

त्यस्तो अवस्था सिर्जना भए महासंघ आफैँले आचारसंहिता जारी गरेर अघि बढ्ने घोषणा पनि सम्मेलनले गरेको छ ।

यसैगरी, विभिन्न पेसाकर्मीको पेसागत स्वतन्त्रता तथा निर्वाध र भयमुक्त वातावरणमा पेसा सञ्चालन गर्न पाउने अधिकारको संरक्षण गर्न सरकारसँग माग गरिएको छ ।

डिजिटल विभाजनको वर्तमान अवस्थालाई ध्यानमा राख्दै निःशुल्क सूचना प्रवाह गर्दै आएका एफएम रेडियोमाथि लगाइएको दोहोरो तथा तेहोरो कर प्रणाली अन्त्य गर्न पनि महासंघले माग गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रस्तावमा उल्लिखित सबै मागप्रति शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले समेत ऐक्यबद्धता जनाएको उल्लेख छ ।

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् ।

सोमबार नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफ्नो भ्रमणका क्रममा प्राप्त आतिथ्यप्रति आभार व्यक्त गर्दै नेपाल भ्रमणको निम्ता दिएका हुन् । 

प्रधानमन्त्री शाहले नेपालका सम्पूर्ण जनताको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिँदै भारतीय नागरिकलाई पनि नेपालको धार्मिक तथा सांस्कृतिक महत्वका स्थलहरूको भ्रमण गर्न आग्रह गरे । 

उनले भने, ‘यस महत्वपूर्ण अवसरमा नेपालका सम्पूर्ण जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि हार्दिक निमन्त्रणा गर्दछु। साथै, मित्रराष्ट्र भारतका जनतालाई पनि नेपालको भ्रमण गर्न हार्दिक आमन्त्रण गर्दछु। हिमालको काखमा अवस्थित मुक्तिनाथ, भगवान् पशुपतिनाथ, तराईको उर्वर मैदानमा रहेको माता जानकीको पवित्र भूमि, जीवित देवी कुमारी र शान्तिका दूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धरोहर हुन्।’

यसैबीच, दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उत्तर प्रदेशको अयोध्या क्यान्टदेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ साप्ताहिक रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ को शुभारम्भ गरेका छन्।

शाहले सोमबार भगवान् राम र माता जानकीको पवित्र युगदेखि कायम रहेको नेपाल र भारतबीचको शताब्दीयौं पुरानो सभ्यतागत सम्बन्धको चर्चा गर्दै नवनिर्मित रेल सम्पर्क सेवाको उद्घाटनलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण उपलब्धि भएको बताए ।

नयाँ दिल्लीमा प्रधानमन्त्री शाह-मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीबीच भएको वार्तामा दुवै देशका मन्त्री, कूटनीतिक अधिकारी तथा प्रधानमन्त्रीका सल्लाहकारहरू सहभागी थिए।

नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र राजनीतिक सल्लाहकार असीम शाह सहभागी भएका थिए।

त्यसैगरी, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसहितका अधिकारीहरू पनि वार्तामा सहभागी थिए।

भारतीय प्रतिनिधिमण्डलमा विदेश मन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र राज्यमन्त्री जितिन प्रसाद सहभागी भएका थिए।

भारतीय प्रतिनिधिमण्डलमा प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास पनि सहभागी थिए।

त्यस्तै, भारतीय विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावरसहितका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको हो। वार्तामा भएका छलफल तथा निष्कर्षबारे भने केही सार्वजनिक गरिएको छैन।

मोदीलाई वालेन्द्र शाहले दिए पशुपतिको प्रसाद, दूतावासबाट मच्छिन्द्रनाथको उपहार

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहितको उपहार प्रदान गरेका छन्।

सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटका क्रममा शाहले कलात्मक काठको बट्टामा राखिएको रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दनको सेट मोदीलाई हस्तान्तरण गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार मोदीलाई शाहले प्रदान गरेको उक्त उपहार व्यक्तिगत हो।

प्रधानमन्त्री शाहको व्यक्तिगत उपहारबाहेक नेपाली दूतावासका तर्फबाट पनि भारतीय प्रधानमन्त्रीलाई छुट्टै उपहार प्रदान गरिएको छ। दूतावासले मोदीलाई मच्छिन्द्रनाथसँग सम्बन्धित उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पनि शाहलाई गंगाजल राखिएको घडा उपहार दिएका थिए।

प्रधानमन्त्री शाह आज साँझ स्वदेश फर्किँदै, विमानस्थलमा परराष्ट्रमन्त्रीले ब्रिफिङ गर्ने

प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्किने भएका छन्।

प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका प्रमुख गतिविधि तथा उपलब्धिबारे परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई जानकारी दिने भएका छन्।

परराष्ट्रमन्त्रीले सोमबार साँझ ६:३५ बजे विमानस्थलको विशिष्ट कक्षस्थित मिडिया हलमा प्रेस ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ।

हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई मोदीको औपचारिक स्वागत, द्विपक्षीय वार्ता सुरु

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँदिल्लीस्थित हैदराबाद हाउसमा औपचारिक स्वागत गरेका छन् । 

द्विपक्षीय औपचारिक भेटवार्ताअघि हैदराबाद हाउसपरिसरमा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई हार्दिक स्वागत गरेका हुन् ।  सो अवसरमा दुवै देशका प्रधानमन्त्रीबिच संक्षिप्त भलाकुसारी तथा शिष्टाचार अभिवादन आदान–प्रदान भएको थियो।

स्वागत कार्यक्रम सम्पन्न भएसँगै नेपाल र भारतका प्रधानमन्त्रीबिच औपचारिक द्विपक्षीय वार्ता सुरु भएको छ।

राजकीय भ्रमणका क्रममा हुन लागेको यस उच्चस्तरीय वार्तालाई नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सोमबार प्रधानमन्त्री शाहले गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नुका साथै स्मारकस्थलमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

यसअघि राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्रधानमन्त्री शाहलाई औपचारिक सम्मान गारद प्रदान गरिएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा आइतबारदेखि सोमबारसम्म भारत भ्रमणमा रहेका शाहले आजै मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुनेछ । विशेषगरी व्यापार, लगानी, यातायात, पूर्वाधार, ऊर्जा र कनेक्टिभिटीलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा समझदारीपत्र आदानप्रदान हुने कार्यक्रमसमेत रहेको छ । प्रधानमन्त्री मोदीले नेपाली प्रधानमन्त्री र उनको ३४ सदस्यीय प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् ।